उत्तर कोरियाको पछिल्ला व्यवहारले ट्रम्प खुशी
वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू ‘अत्यन्त खुशी’ भएको बताएका छन् । उत्तर कोरियाले पछिल्ला दिनमा देखाएको शान्तपूर्ण व्यवहारले आफू खुसी रहेको ट्रम्पको भनाइ छ ।
उत्तर कोरियामा अवस्था जे जसरी अगाडि बढिरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार खुलासा गरेका हुन । ‘नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ’, ट्रम्पले भने ।
उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विशेष गरेर जापानमा बढी खुशीयाली छाएको र पूरै एशिया नै खुशी भएको चर्चा गरे । उत्तर कोरियाका बारेमा आउने भ्रामक समाचारले भने आफूलाई सताइरहेको भन्दै ट्रम्पले चिन्ता व्यक्त गरे।
आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उनले खुलासा गरे । ‘त्यो गलत हो, म भने अत्यन्त खुशी छु’, ट्रम्पले पत्रकारहरूसँग सोमबार भने ।