अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको  भव्य उद्घाटन

अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको  भव्य उद्घाटन

काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालित प्रतियोगिताको भव्य समारोहबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे ।

मन्त्री विश्वकर्माले अन्नपूर्ण मिडिया नेटवर्कले समाचारका साथसाथै ब्याडमिन्टन जस्तो लोकप्रिय खेलको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेर खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

‘खेलकुद क्षेत्रको विकासमा सञ्चार क्षेत्रको निकै ठूलो भूमिका रहेको हुन्छ । अझ आफैले लगातार प्रतियोगिता नै आयोजना गर्नु त झनै सराहनीय छ । यो प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरमा भाइचारा स्थापना गर्न पनि सहयोग गरेको छ’, मन्त्री विश्वकर्माले भने । उनले नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, खुसी नेपाली अभियानलाई यो प्रतियोगिताले थप सहयोग गरेको धारणा पनि ब्यक्त गरे ।

अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालार्इ स्वागत गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा 

यसैगरी अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । ‘नयाँ संविधानसँगै समृद्धिको विषय प्राथमिकतामा आएको छ । समृद्धिका लागि स्वस्थ नागरिक हुनुपर्छ । स्वस्थ नागरिकका लागि खेल आवश्यक पर्छ । त्यसैका लागि हामीले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका हौं । यस अभियानमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिन चाहन्छौं’, अध्यक्ष थापाले भने ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता निजी क्षेत्रको लगानीमा नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता भएको बताए । ‘मिडिया हाउसले नेपालमा सर्वाधिक खेलिने ब्याडमिन्टन खेलको प्रतियोगिता स्तरीय र बृहत् स्वरूपमा सञ्चालन गर्नु ठूलो कुरा हो । यो प्रतियोगिताले खेल पर्यटनलाई पनि थप टेवा पुर्‍याएको छ’, सदस्यसचिव विष्टले भने ।

पहिलो दिनको खेल हेरेर रमाइलो गर्दै विभिन्न विद्यालयका विद्यार्थी 

उनले नेपाली खेलकुद अहिले १८औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको बताए । भूकम्पपछि भत्किएका खेल संरचनालाई ६ महिनाभित्र तयार गरी साग खेलकुदलाई सफल बनाएर छाड्ने प्रतिबद्धता पनि विष्टले ब्यक्त गरे ।

अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले समयको परिवर्तनसँगै अन्नपूर्ण मिडिया नेटवर्कले खेलकुदमा पनि आफ्नो दायरा फराकिलो बनाएको बताए । ‘नेपाली खेलकुदको विकासमा पनि केही योगदान पुगोस भनेर अन्तर्राष्ट्रिय स्वरूपको ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेका हौं । मिडिया नेटवर्कअन्तर्गत एपी वान एचडी टेलिभिजनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधिलाई प्रत्यक्ष प्रसारण गरेर पनि सहयोग गरिरहेको छ । यो प्रतियोगिताको निरन्तरतासँगै भविष्यमा क्रिकेट, बास्केटबललगायत अन्य खेल पनि सञ्चालन गर्नेछौं’, प्रबन्ध निर्देशक पौडेलले भने ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेल विकासमा ठूलो सहयोग पुर्‍याएको बताए । ‘यो प्रतियोगिता नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता हो । यो प्रतियोगिता सबैको ‘ड्रिम टुर्नामेन्ट’ बनेको छ । हरेक संस्करण विशेष बन्दै आएको छ । पहिलोपटक प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन हुँदा देशभरका खेलाडी उत्साही छन्’, अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगिताको स्तर र सहभागीको संख्यामा समेत बढोत्तरी भएको भन्दै श्रेष्ठले संघको पहलमा नैकापमा बन्न लागेको ब्याडमिन्टन एकेडेमीलाई आवश्यक सहयोग गर्न युवा तथा खेलकुद मन्त्री विश्वकर्मालाई आग्रहसमेत गरे । उद्घाटनसँगै युवा तथा खेदकुद मन्त्री विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ब्याडमिन्टन खेलेर प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए ।

चार सय २२ खेलाडी

साउन १२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र पूर्वी टिमोरका गरी चार सय २२ जना खेलाडीको सहभागिता रहेको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा दुई सय ८५ खेल हुनेछन् । सहभागी खेलाडीले विभिन्न १० वटा स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्ष मुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा समावेश गरिएको छ ।

प्रतियोगिताको कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी एक्जुकेटिभ डबल्समा म्यानेजर तहभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । जुनियरतर्फ महिला र पुरुष एकलतर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुन पुरस्कार प्रदान गरिने अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन तथा प्रशासन विभाग प्रमुख सुदामकुमार सिजापतिले जानकारी दिए ।

जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार पाउनेछन् । पुरस्कार राशिमा मात्रै २० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुनेछ । यसअघि प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गत जेठ १३ गतेदेखि ६ वटा प्रदेशमा छनोट खेल सञ्चालन गरिएको थियो ।

छनोट खेलमा सहभागी खेलाडीले पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा गरेका थिए । प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा सञ्चालित अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाएका हुन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा अन्नपूर्ण मिडिया नेटर्वका ग्रुप सम्पादक विजयकुमार पाण्डे, सम्पादक राजाराम गौतम, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ, सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका एआईजी गणेश अधिकारी, काठमाडौं महानगरीय प्रहरी प्रभागका प्रमुख विश्वराज पोखरेल, नेपाली सेनाका प्रतिनिधि क्याप्टेन सजिता केसी, ब्याडमिन्टन संघका पूर्वअध्यक्ष र पदाधिकारीहरू, सुरक्षाकर्मी, अन्य खेल संघका पदाधिकारी, विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, प्रशिक्षक, रेफ्री, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । प्रतियोगितालाई रेडबुल, महालक्ष्मी पेन्ट, एलजी स्मार्ट टीभी, शिखर इन्सुरेन्स, सीजी एअर कन्डिसनर, देवः विकास बैंक लिमिटेड, नेबिको विस्कुट, रियल जुस र स्टार हस्पिटलले सहयोग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.