डा. केसीका मागबारे प्रधानमन्त्री निवासमा छलफल, खोजिँदै विकल्प
काठमाडौँः २५ दिनदेखि अनशन बसिरहेका प्राध्याक डाक्टर गोविन्द केसीका माग सम्बोधनबारेमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ ।
यो छलफलमा केसीले उठाएका मागबारेमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बासकोटा र चिकित्सा क्षेत्र सुधारका लागि माथेमा कार्यदलका संयोजक डा. केदारभक्त माथेमासँग प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परामर्श गरेका थिए ।
नेकपा नेता तथा पूर्वसभामखु सुवास नेम्वाङसमेत उपस्थित छलफलमा केसीका माग पुरा गर्न सकारात्मक पहल थाल्नेबारे कुराकानी भएको थियो । नेकपाका नेता नेम्वाङले छलफल सकारात्मक भएको बताउँदै सरकारले गम्भीरतापूर्वक सहमतिको प्रयास गरिरहेको जानकारी दिए ।
चिकित्सा शिक्षा विधेयक संसदमा लगेर त्यहीँबाट नेम्वाङले डा. केसीको माग अनुसार संशोधन गर्दै अघि बढ्न सकिनेबारे छलफल भएको उनले बताए । छलफलमा केसीका मागलाई पुरा गर्न दुवैपक्षबीच संवादलाई निरन्तरता दिनु जरुरी रहेको बारेमा पनि कुरा भएको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले केसीका मागबारे बालुवाटारमा छलफल भएको बताउँदै सकारात्मक पहल अघि बढाएर निकास दिनेबारे परामर्श भएको उल्लेख गरे ।
केसीले चिकित्सा शिक्षा विधेयकलाई लिएर २५ दिनदेखि अनशन बसिरहेका छन् । जुम्लामा २० दिनको अनशनपछि उनलाई काठमाडौँ ल्याइएको थियो । केसीको पक्षमा नेपाली कांग्रेस र विवेकशील नेपाली पनि सडकमा उत्रिएका छन् ।