भीरकोटमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते
दोलखा : दक्षिणी दोलखाको तामाकोशी गाउँपालिका-१ भीरकोटमा बोलेरो दुर्घटना हुँदा जिल्ला समन्वय समिति दोलखाका नायब सुब्बा मुनहरी थापको मृत्यु भएको छ भने चालक र यात्रु इन्जिनियर दुबैजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो भीरकोटको माझीगाउँको अन्तिम गोलाईबाट भीरमुनी बोलेरो खस्दा भीमेश्वर नगरपालिका-७, कुप्री घर भई जिल्ला समन्वय समिति दोलखामा कार्यरत नायब सुब्बा थापाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परी जिल्ला समन्वय समितिका इन्जिनियर नारायण शिवाकोटी र बोलेरो चालक सिन्धुपाल्चोक जिल्लाको तौथली घर भएका आरोन श्रेष्ठ गम्भीर घाइते भएको गाडीधनी पर्वत न्यौपानेले जानकारी दिए।
चालक श्रेष्ठको तामाकोशी गाउँपालिका-७ किर्नेटार र शिवाकोटीको रामेछापको मन्थलीस्थित तामाकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको गाडीधनी न्यौपानेले जानकारी दिए। घाइते दुवैको अवस्था गम्भीर रहेको उनले बताए।
सदरमुकाम चरिकोटबाट काठमाडौंका लागि छुटेको बा १९ प ५४२० नम्बरको बोलेरो मंगलबार दिउँसो करिब साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।