डा. केसीको समर्थनमा नागरिकको सिठ्ठी जुलुस
धादिङबेसी: २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा धादिङबेसीमा पनि नागरिक समाजले सिठ्ठी जुलुसको निकालेका छन् ।केसीका सबै मागहरू नेपाली जनताकै हितमा रहेकाले सरकारले ल्याएको प्रतिस्थापन विधेयक फिर्ता लिँदै माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक पास गराइ केसीका मागहरू सम्बन्धन गर्न भन्दै र्याली गरिएको नागरिक समाजका अगुवा टङ्क कुमार श्रेष्ठले जानकारी दिए ।
विभिन्न पेसामा आबद्ध पेशाकर्मी, बुद्धिजीवी, स्थानीयबासी र नागरिक समाजका अगुवाहरूको सहभागितामा निकालिएको र्यालीमा सिठी फुक्दै बजार परिक्रमा गरेका थिए । सरकार केसीका मागप्रति उदासीन बन्दै कान नसुन्ने मान्छेको जस्तो व्यवहार देखाइरहेकाले सरकारको ध्यानाकर्षण गराउन सिठी जुलुस निकालेको श्रेठले बताए ।
केसीको समर्थनमा माग पुरा गराउनको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन धादिङका नागरिक समाजले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।