‘सदनको मर्यादा ख्याल गर्नुस् माननीयज्यू’

‘सदनको मर्यादा ख्याल गर्नुस् माननीयज्यू’

काठमाडौं : राष्ट्रियसभा नियमावलीमा सदनमा कुनै पनि विषयमा छलफलमा सहभागी हुन चाहने सदस्यले अध्यक्षको ध्यानाकर्षण गर्न उठ्नुपर्ने र अध्यक्षले निजको नाम बोलाएपछि वा इसारा गरेपछि मात्र बोल्न पाउने स्पष्ट व्यवस्था छ । सदस्यले बोल्दा आपसमा सवालजवाफ गर्न नपाइने र अध्यक्षमार्फत आफ्ना धारणा राख्नुपर्ने नियम छ । सांसद आफैले बनाएको र सदनबाट सर्वसम्मत पारित नियमावलीअनुसार सदन सञ्चालन हुनुपर्छ र हुन्छ । तर मंगलबार राष्ट्रियसभाको दृश्य भने विगतभन्दा निकै फरक देखिन्थ्यो, जुन अस्वाभाविक थियो ।

आफैंले बनाएको नियमावलीको सांसदले बेवास्ता गर्दा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटकपटक नियमावलीबारे सदनमा अवगत गराउनुपरेको थियो । उनी भनिरहेका थिए, ‘माननीयहरू, तपार्इंहरू आफैंले बनाएको नियमावलीको ख्याल गर्नुस् । यसको मर्यादा ख्याल गर्नुस् ।’

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना  विवाद गरिरहेका सांसदलार्इ रूलिङ गर्दै ।   तस्बिर : संघीय संसदको वेबसाइट

राष्ट्रिय चासोका विषयमा छलफल गर्नुपर्ने थलो राष्ट्रियसभा मंगलबार भने सामान्य विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदको जिद्दीको सिकार बन्यो । कुन दलका सांसदले पहिला बोल्ने भन्ने विवादले सदनमा चर्काचर्की भइरह्यो । करिब २५ मिनेटसम्म सत्तापक्ष र प्रतिपक्ष दल कांग्रेसका सांसदबीच आफैंले पहिला बोल्न पाउनुपर्छ भन्ने हठ कायमै भएपछि राष्ट्रियसभाध्यक्ष तिमिल्सिना सदन स्थगित गर्न बाध्य भए ।

राष्ट्रियसभा अध्यक्षले बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै सत्तापक्षका सबै सांसदले उठेर बोल्न समय मागेका थिए । त्यसपछि कांग्रेसका सांसद पनि उठे । सभाध्यक्षले सत्तापक्षका सांसदलाई बस्न आग्रह गरे र सत्तारूढ दल नेकपाका तर्फबाट प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।

भट्टराईले बोल्न सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाए । कार्यव्यवस्था परामर्श समितिमा भएको सहमतिअनुसार आफूहरूले बोल्न पाउनुपर्ने भन्दै कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक रहेकी सरिता प्रसाईंले बोल्न नदिए सदन चल्न नदिने अडान राखिन् । ‘प्रमुख प्रतिपक्षी दलले समय माग गरिसकेपछि बोल्न पाउनुपर्छ । हामीलाई बोल्न नदिए सदन चल्न दिँदैनौं’, उनले भनिन् । उनले यस्तो भनिरहँदा भट्टराईले भने आफूहरूले बोल्न समय पाइसकेकाले बोल्न पाउनुपर्ने भन्दै आफ्नो धारणा राख्न सुरु गरे । ‘हामीले बोल्न समय पाइसकेका छौं, सदन चल्ने वातावरण बनाइदिनुप‍र्‍यो अध्यक्षज्यू’, उनले भने ।

यता कांग्रेसका सांसदले उभिएरै विरोध जनाएपछि अध्यक्षले फेरि बस्न आग्रह गरे । तर कांग्रेस र सत्तारूढ दलका सांसद भने उभिइरहे । ‘सत्तापक्षका सांसदले पहिला उठेर समय माग गरिसकेका छन्, उनीहरूलाई बोल्न समय दिइसकेको छुु’, प्रतिपक्षी दलका सांसदलाई सम्झाउँदै अध्यक्षले भने, ‘त्यसपछि तपाईंहरूले बोल्ने समय पाइहाल्नुहुन्छ, बसिदिनुस् माननीयज्यू ।’

एकातिर एमाले सांसद भट्टराई आफ्नो धारणा राखिरहेका थिए भने अर्कातर्फ कांग्रेसका सांसद पनि बोल्न पाउनुपर्छ भन्दै टेबल बजाएर अध्यक्षको ध्यानाकर्षण गराइरहेका थिए । सत्तारूढ र कांग्रेसका सांसदबीच सवालजवाफ हुन थालेपछि अध्यक्षले सदनको मर्यादा नबिर्सन सांसदलाई सुझाउँदै भने, ‘एकआपसमा दोहोरी नचलाउनुस् । अध्यक्षसँग परामर्श लिएर मात्र बोल्न पाइन्छ, आफूआफू सवालजवाफ गर्न पाइँदैन । सदनको मर्यादा राखिदिनुस् । उभिईउभिई म कसैलाई समय उपलब्ध गराउन सक्दिनँ ।’

त्यसपछि सत्तारूढ दलका सांसद भट्टराई बसे । तर कांग्रेस सांसदले भने आफूहरूले बोल्न नपाएसम्म सदनमा अवरोध गरिरहने दोहोर्‍याए । कांग्रेसका तर्फबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेयले परामर्श समितिको सहमतिअनुसार सदन नचल्ने हो, नभए समिति भंग गर्न चुनौती दिए । आक्रोशित मुद्राका पाण्डेले भने, ‘समितिमा एउटा सहमति हुन्छ, यहाँ आएर सत्तारूढ दलका सांसदले त्यसको उल्लंघन गर्न पाइँदैन । समितिको सहमति नमान्ने हो भने भंग गरिदिए हुन्छ ।’

एकातिर कांग्रेसका सांसदको अवरोध अनि अर्कातर्फ सत्तारूढ दलका सांसदको आफूले नै पहिला बोल्न पाउनुपर्छ भन्ने हठपछि सदन कार्यसूचीमै प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । आधा घण्टा चलेको सदनमा सांसदको चर्काचर्की भने हेर्नलायक थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.