रुवान्डामा मोदीको गाई कुटनीति
किगाली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मित्र राष्ट्रलाई गाई उपहार दिएर ‘गाई कूटनीति’को अभ्यास गरेका छन् ।अफ्रिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले रुवान्डालाई मंगलबार २ सय गाई हस्तान्तरण गरेका छन् । राजधानी किगालीबाट दक्षिणतर्फ रहेको रबेरु गाउँका गरीब बासिन्दालाई मोदीले गाई हस्तान्तरण गरेका हुन् । रुवान्डा सरकारले ‘गिरिङ्का’ योजना ल्याएको छ ।
यसअन्तर्गत रुवान्डा सरकारले ३ लाख ५० हजार गाई किसानलाई प्रदान गर्ने भएको छ । ती गाईले जन्माएका एउटा बाच्छी ती किसानले आफ्ना छिमेकीलाई निःशुल्क दिनुपर्नेछ । यसपछि उक्त गाई किसानकै हुने सरकारले बताएको छ । हस्तान्तरण गरिएका गाईबाट त्यहाँका बालबालिकाले दूध उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।
यसबाट यहाँको कुपोषण अन्त्य हुने र दुग्ध उद्योग वृद्धि हुने बताइएको छ । रुवान्डामा गाईलाई समृद्धिको प्रतीक मानिन्छ । यहाँको प्राचीन इतिहासमा गाईलाई मुद्राको रूपमा प्रयोग गरिन्थ्यो । रुवान्डा कृषि प्रधान देश हो । १ करोड १२ लाख जनसंख्या भएको रुवान्डामा ८० प्रतिशत मानिस कृषिमा निर्भर छन् ।
रुवान्डासँगै मोदीले युगान्डाको पनि भ्रमण गरेका छन् । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन उनी अफ्रिका आइपुगेका हुन् । शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले चीन, रूस, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूसँग जोहानेस्बर्गमा भेटवार्ता गर्ने कार्यक्रम छ । ‘रुवान्डाको ग्रामीण क्षेत्रको अवस्थाले मलाई प्रभावित बनायो, एउटा नमूना गाउँका बासिन्दालाई गाई उपहार दिन पाएकाले मलाई यो भ्रमण स्मरणीय भएको छ’, मोदीले भने । उनले आफूलाई अमूल्य अवसर दिएको भन्दै रुवान्डाका राष्ट्रपति पाउल कागामेलाई धन्यवाद प्रदान गरेका छन् । मोदी र कागामेले विभिन्न सहयोग आदानप्रदान सम्झौतासमेत गरेका छन् ।