ट्रम्पलाई इरानको यस्तो चेतावनी
तेहरान : इरानका विदेशमन्त्री मोहम्मद जवाद जरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सावधान हुन चेतावनी दिएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले सोमवार इरानलाई धम्कीको भाषा नबोल्न ट्विट गरेका थिए ।
यसअघि पनि ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीलाई ट्विटमार्फत धम्कीपूर्ण सन्देश दिँदै गएका थिए । ट्रम्पको ट्विटरमा जरीफले आक्रोश व्यक्त गरे । उनले लेखेका छन्, ‘अप्रभावित ... हामी सयौं वर्षदेखि यहाँ छौं । इरानीले सयौं वर्षदेखि आफ्नो साम्राज्य सहित कैयौं साम्राज्य उत्थान र पतन भएको देखेका छन् । हाम्रो इरानी साम्राज्यको समय जति लामो कुनै कुनै देश बनेको समय पनि भएको छैन । सावधान रहे हुन्छ ।’
ट्रम्पले अमेरिकासँग निहुँ खोज्ने देशको अस्तित्व नै नरहने खाले अभिव्यक्ति दिएका थिए । हालसम्म नभएको आक्रमण गर्ने उनले धम्की दिएका थिए । रुहानीले पनि सुतेको सिंहलाई नजिस्काउन अमेरिकी नेतालाई चेतावनी दिएका छन् । इरानसँग युद्ध गरे त्यो युद्धको पनि आमा हुने अर्थात् निकै संहारक युद्ध सावित गरिदिने दाबी गरेका थिए ।
संसारले केही महिना पहिला पनि यस्ता धम्की सुनेका र इरानीले सुनेको जरीफले बताए । अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट अलगिने निर्णय गरिसकेको छ । अमेरिकी निर्णयको युरोपेली मुलुकले विरोध गर्दै आएका छन् । अमेरिकाले गरेको एकतर्फी निर्णय आफूहरूलाई मान्य नहुने उनीहरूको भनाइ छ ।