हारमा पनि खुसी ११ वर्षीय अभियान

हारमा पनि खुसी ११ वर्षीय अभियान

काठमाडौं : पाँचौं अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा सहभागी चार सय २२ खेलाडीको मुख्य लक्ष्य हो, उपाधि । उपाधि जित्न सम्भव नभए पनि धेरैको चाहना सकेसम्म अघिल्लो चरणमा पुग्ने हुन्छ । अभियान कश्यप (११ वर्ष)को लक्ष्यचाहिँ उपाधि जित्नु थिएन । उनी सकेसम्म अघिल्ला चरणमा पुग्ने र नसके पनि उत्कृष्ट खेल पस्किने उद्देश्यले प्रतियोगितामा सहभागी भएका थिए ।

मंगलबार उनको पहिलो खेल आफूभन्दा पाका खेलाडीसँग परेको थियो । उनले यू-१९ जुनियर स्पर्धामा नगेन्द्र बम ठकुरीसँग दुवै सेट २१-१९, २१-१९ ले हारे । प्रतिस्पर्धात्मक सेटमा खेल हारे पनि अभियानले त्रिपुरेश्वरस्थित कभर्डहलमा उपस्थित धेरै दर्शकको मन जिते । हरेकपटक अंक जोड्दा दर्शकको ताली पाएका उनले हारमा पनि आफू खुसी भएको बताए ।

‘यो मेरो खेल जीवनकै पहिलो प्रतियोगिता हो । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्न सकेँ, म यसमै खुसी छु’, अभियानले अन्नपूर्ण पोस्ट्सँग भने । उनले खेल हारे पनि आफूले धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफूजस्ता साना खेलाडीका लागि छुट्टै विधा नभएकाले पाका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको बताए । ‘अर्को संस्करणदेखि हामीजस्तै साना खेलाडीका लागि पनि छुट्टै विधा थप्न आयोजकसँग आग्रह गर्छु’, अभियानले भने, ‘हामीले जतिसुकै राम्रो खेले पनि आफूभन्दा ठूला दाइहरूलाई जित्न सक्तैनौं ।’

उनले आफ्नै उमेरका धेरै खेलाडी प्रतियोगितामा सहभागी भए पनि ठूला खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्दा स्वाभाविक प्रदर्शन गर्न नसकेको बताए । टोखामा बस्दै आएका अभियान बौद्ध इन्टरनेसनल स्कुलमा कक्षा ७ मा पढ्छन् । उनले ब्याडमिन्टन खेल्न थालेको ६ महिना मात्र भयो । उनले ६ महिना अघिदेखि जेस्ट ब्याडमिन्टन क्लबमा प्रशिक्षण लिँदै आएका छन् ।

सातामा पाँच दिन दुई घन्टा अभ्यास गरेकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आत्मविश्वास बढेको उनले बताए । उनी अर्को संस्करणमा अझ धेरै तयारी गरेर मात्रै प्रतियोगितामा सहभागी हुने बताउँछन् । ‘अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलोपटक सहभागी हुँदा धेरै कुरा बुझ्न र सिक्न पाएँ । अर्कोपटक सहभागी हुँदा आजको हारबाट शिक्षा लिँदै अझ राम्रो तयारी गरेर मात्र कोर्टमा ओर्लने छु’, अभियान भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.