डा. केसीसँगको वार्ता असफल
काठमाडौं : २६ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीका प्रतिनिधी र सरकारी वार्ता टोलीबीचको वार्तामा असफल भएको छ। मंगलबार सकारात्मक भनिएको वार्ता बुधबार सहमति जुटाउन असफल भएको हो।
दुई दिनको पहलपछि पनि वार्ता मिल्न नसकेको डा. केसीको वार्ता टोलीका संयोजक डा अभिषेक राज सिंहले जानकारी दिए।
डा. केसीको वार्ता टोलीले सरकारी पक्ष गैर जिम्मेवार र संवेदनहिन हुँदा वार्ता असफल भएको आरोप लगाएको छ । ‘आज २६ औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ’, वार्ता असफल भएपछि डा. सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं ।’
डा. केसी पक्षले लचकता अपनाउँदा समेत सरकारी वार्ता टोलीले अडान नछोडेको अरोप लगाएको छ । सँगै केसी पक्षले चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा सरकारले हलो अड्काउने रवैया देखाएको भन्दै कडा विरोध जनाएको छ ।
‘यस्तो संवेदनशील समयमा आएर छलकपटपुर्वक सत्याग्रही डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं’, केसी पक्षको विज्ञप्तिमा भनिएको छ, ‘ हामीले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।’