दुर्गा प्रसाईलाई जेल हाल्न युवा संघको माग
मलेखु (धादिङ) : युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले नेपाली चेलीहरुको अस्मितामाथि धावा बोल्ने ब्यवसायी दुर्गा प्रसाईलाई तत्काल पक्राउ गरि कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
युवा संघ र वाईसीएल धादिङले सिद्धलेक गाउँपालिकाको परेवाटारमा गरेको सामुहिक धान रोपाइँमा बोल्दै पौडेलले बंगलादेशमा एमबीबीएस पढ्न जाने नेपाली चेलीहरुमाथि लाञ्छना लगाएकाले तत्काल पक्रेर कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।
धान रोपाइँ कार्यक्रम सुरु गर्नुअघि बोल्दै पौडेलले भने, ‘दुर्गा प्रसाईकै भनाइलाइ आधार मानेर कानुनमन्त्रीले उही कुरा बोल्दा राजीनामा गर्नुपर्ने अनि प्रसाईलाई चाहिँ छुट दिने ?’ पदीय मर्यादा भुलेर कानुनमन्त्रीले बोल्दा नैतिकताका आधारमा राजीनामा दिएकाले उनलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा बोल्दै पौडेलले कुनै पनि एजेण्डा नभएपछि कांग्रेसले गोविन्द केसीको अनशनलाई लिएर आन्दोलन गरेको आरोप लगाए । ‘जनताले गएको निर्वाचनमा नेपाली कांग्रेसलाइ आफ्नो औकात देखाइदिए’, पौडेलले भने, ‘सत्ता बाहिर बस्नुपरेकाले कांग्रेस अहिले छट्पटिएको छ । सरकारको विरोध गर्ने कुनै एजेण्डा नभेटेपछि गोविन्द केसीलाई प्रयोग गरिएको हो ।’
‘तीन दिन जनश्रममा युवा अभियान’ अन्र्तगत युवा संघ धादिङ र वाईसीएल धादिङका युवाहरुको आयोजनामा सामूहिक धान रोपाइँ गरिएको युवा संघ धादिङका अध्यक्ष दीपक खतिवडाले बताए । रोपाइँ कार्यक्रममा ६० जनाभन्दा बढी युवाहरुसँगै स्थानीय किसान पनि सहभागी थिए ।