दार्चुलाको मालिकार्जुन मन्दिरमा जात्रा, भक्तजनको घुइँचो
दार्चुला : राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा बिहीबार पुजन जात्रा सुरु भएको छ। लेकम क्षेत्रको मालीकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा हुने गर्दछ।
हिन्दु धर्माबलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिन अघि नै चोखोनिधो भएर जाने प्रचलन छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव-पार्वतीको मुख्य बासस्थान रहेको जनविस्वास छ।
शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले जानकारी दिए।
मालिकार्जुन गाउँपालिकाको-३ मडस्थित भण्डारिघरदेखि सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ। यस वर्षको शिखर धामको दर्शन गर्न हजारौ श्रद्धालु शिखर पुगिसेकका छन्। शिखर धामको दर्शन गर्न बुधबारदेखि नै प्रदेश नम्बर ७ का अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु मालिकार्जुन पुगेका छन्।
बर्षेनि हजारौ श्रद्धालु भक्तजनले पुजनजात्रामा शिखर धामको दर्शन गर्ने गरेको सचिव जनकसिंह धामीले बताए।