यसरी भएको थियो सात दशकअघि ‘हलोक्रान्ति’
लमजुङ : उतिबेला बाहुनले हलो जोत्नु समाजबाटै बहिस्कृत हुनु थियो। दलितले मात्र हलो जोत्थे। पण्डित तोयानाथले हलो जोत्नुपर्छ भन्ने कुरा निकाले। तोयानाथ, हरिभक्त, शेषकान्त, हरिदासलगायतबीच विशेष सल्लाह हुन थाल्यो। हलो जोते किसानलाई सजिलो पर्छ, परम्परा तोडिन्छ, हलचल हुन्छ र नयाँ चेतनाले जन्म लिन्छ भन्ने सल्लाह भयोे। शास्त्रीय र कानुनी पक्षमा थप अनुसन्धान गर्न तोयानाथ र हरिभक्तलाई जिम्मा लगाइयो। राय लिँदै गर्दा २००५ साल फागुनमा ४ अगुवामध्येका मुखिया हरिदासको मृत्यु भयो। जसले केही समय यो अभियान रोकियो। पछि राय सल्लाह उकुसमुकुस हुँदै आयो र २००६ साल साउन ११ गतेका दिन ती ब्राह्मणले हलो जोतेरै छाडे।
६९ वर्षअघि लमजुङको दुराडाँडा अर्चल्यानीको बाटेगरामा बाहुनहरूले सामूहिक रूपमा हलो जोतेका थिए। ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारीलगायत २७ जना बाहुनले हलो जोतेर सांस्कृतिक विद्रोह गरेका थिए।
तीर्थराज शर्माले हलोक्रान्ति इतिहास संकलन गरेर छापेको किताबले भन्छ, ‘हलो जोत्नेहरूलाई अछूतको व्यवहार भयो। माइत आएका छोरी घर जान पाएनन्। घर गएका बुहारी माइत आउन पाएनन्। उमेर पुगेका युवायुवतीको विवाह रोकियो। जोतेको समयमा हेर्न जानेलाई समेत भात ठेगियो। कतिले गएका थिएनौं भनी ढाँटेर बिहे पनि गरे। समाज अस्तव्यस्त भयो। कैयाैं पण्डितहरू निर्वासित भए भने कैयौं ‘तल्लो जाति’ सरह भए।’
किताब ‘हलोक्रान्तिका जनक पण्डित तोयानाथ अधिकारी’मा श्रीकान्त अधिकारीले हलो क्रान्ति भएको १ वर्षपछि २००७ साल साउन ११ गतेका दिन पण्डित तोयानाथ, शेषकान्तलाई सरकारले गिरफ्तार गरेको उल्लेख गरेका छन्। ‘रातारात लमजुङको परेवाडाँडा, कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रातको हिँडाइपछि बिहान ४ बजे पोखरा गोश्वरामा पुर्याए’, किताबमा उल्लेख छ, ‘ठाडो बयान लिएर बडाहाकिमले जेल पठाए। बिनापुर्जी जेल पठाएकाले जेलमै उनीहरू अनशन बसको थिए। ४८ घण्टाको अनशनपछि जेलबाट निकालिए र खान पाए।’
हलो जोतेको दुराडाँडाको अच्र्यालेनीस्थित बाटेगरामा १ रोपनी जग्गा तोयानाथको नाममा छ। उनकै नामबाट उद्यान पनि बनेको छ। यहाँ हलो जोत्ने सबैको नाम ठेगाना उल्लेख गरी सालिक बनाउने उद्देश्यका साथ तोयानाथ स्मृति प्रतिष्ठान गठन गरिएको त्यसका सदस्य दीपक पौडेल बताउँछन्। हलोक्रान्तिको रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिएको छ। ‘हामीले मात्रै हलो दिवस मनाएर यस क्रान्तिको मर्म पुग्दैन, यो क्रान्तिलाई राष्ट्रिय हलो क्रान्तिकै रूपमा देशभर मनाउनुपर्ने हाम्रो माग छ’, पौडेलले भने।
उक्त क्रान्तिको ३ वर्षपछि सबै सकारात्मक भए। त्यसपछि जोत्न हुन्छ भन्ने भावनाको विकास भयो। चाडपर्व लाग्न साथ सबै लत्रेर आए। यस्तो कामको सबैले प्रशंसा गर्न थाले। पहिला जोत्ने ठाउँमा गएको थिइन भनेर ढाँट्नेहरू पनि पछि त म पनि गएको थिएँ भन्न थाले। त्यही बेलमा दलितले छोएको खानासमेत सुरु भएको थियो। आयुर्वेदका ज्ञातासमेत रहेका पण्डित तोयानाथले गाउँकै छोरी चिजमाया अधिकारीलाई घर पठाउँदा कोसेली बोकेर आइतबहादुर सार्कीलाई पठाए। खाना खाने बेलामा सार्कीलाई कुन जातको भनेर घरभेटीले सोधे, उनले थर बताएपछि चिजमायालाई समेत माइतै फर्काइदिएको बुढापाका बताउँछन्।
‘क्रान्तिलाई सफल बनाएर हलचल ल्याउने राजनीतिक सोच थियो। राणशासनको त्यस्तो समयमा हामीले ठूलो क्रान्ति ग¥यौं। यस क्रान्तिको यस्तो ऐतिहासिक महत्व हुन्छ भन्नेचाहिँ लागेको थिएन’, हलो क्रान्तिका नेता श्रीकान्त अधिकारीले पुस्तकमा लेखेका छन्, ‘लमजुङको दुराडाँडामा २००६ साल साउन ११ गते ब्राह्मणले हलो जोतेपछि सोही सालको पुसमा तनहुँ, २००७ साल वैशाखमा अर्घाखाँची र गोरखा र २००८ सालमा स्याङ्जाले पनि हलो जोत्ने अभियानले तीव्र रूप लियो।’