छानियो  २१औं विश्वकपको सर्वोत्कृष्ट गोल

छानियो  २१औं विश्वकपको सर्वोत्कृष्ट गोल

मस्को  : फ्रान्सका बेन्जामिन पभार्डले गरेको गोल २१औं विश्वकप फुटबलको सर्र्वाेत्कृष्ट गोल घोषित भएको छ । हालै रुसमा सम्पन्न विश्वकपमा कूल एक सय ६९ गोल भएका थिए, जसमध्ये पभार्डको गोलले सर्वोत्कृष्ट गोलको पुरस्कार हात पारेको हो । उनले अर्जेन्टिनाविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा गरेको गोलले उक्त अवार्ड पाएको हो ।

उत्कृष्ट गोल चयन गर्न विश्व फुटबल महासंघ (फिफा) ले समर्थकलाई अनलाइन भोटिङका लागि आह्वान गरेको थियो । यसका लागि ३० लाखभन्दा बढी समर्थकले अनलाइनमार्फत भोटिङ गरेका थिए । अधिकांश समर्थकले पभार्डको गोललाई नै सर्वोत्कृष्ट गोलका रुपमा चयन गरेका थिए । खेलमा अर्जेन्टिना २—१ ले अगाडि रहेको बेला पभार्डले बराबरी गोल गरेका थिए ।

सर्वोत्कृष्ट गोलकर्ता फ्रान्सका बेन्जामिन पभार्ड

उनले खेलको ५७औं मिनेटमा कर्नर प्रहार गर्ने स्थान नजिकबाट लुकास हर्नान्डेजले उपलब्ध गराएको पासमा लामो दूरीबाट उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिनालाई ४—३ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको फ्रान्सले विश्वकपको उपाधि नै जितेको थियो । फ्रान्सले फाइनलमा क्रोएसियालाई ४—२ गोलले हराएको थियो । ‘मेरो त्यो गोलले विश्वकपकै सर्वोत्कृष्ट गोलको मान्यता पाउला भनेर मैले सोचेको थिइनँ’, २२ वर्षीय पभार्डले भने ।

‘कर्नर नजिकबाट सिधै बल म नजिक आयो । गोल पोस्टको दूरी निकै टाढा भए पनि मैले सिधै पोस्ट ताकेर बल प्रहार गरेँ । भाग्यवस त्यो प्रहार गोलमा परिणत हुन पुग्यो’, पभार्डले भनेका छन्, ‘मलाई स्ट्राइकरहरुले पनि त्यस्तो परिस्थितिमा बललाई सिधै पोस्टमा प्रहार गर्न सिकाएका थिए ।’ पभार्डको गोलले कोलम्बियाका हुवाँ क्विन्टेरोको गोललाई पछि पारेको हो।

क्विन्टेरोले समूहगत चरणको जापानविरुद्घको खेलमा फ्रिकिकमार्फत गरेको गोललाई समर्थकले दोस्रो रोजाइमा पारेका छन् । यसैगरी क्रोएसियाका लुका मोड्रिचले अर्जेन्टिनाविरुद्घको खेलमा गरेको गोल समर्थकको तेस्रो रोजाइमा परेको छ । मोड्रिचले समूहगत चरणको खेलमा लामो दुरीबाट उक्त गोल गरेका थिए । मोड्रिचले उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाएका थिए ।

बेन्जामिन पभार्डले गरेको गोल भिडियोमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.