धनीलाई दिइँदै ‘गरिब परिचय पत्र’
धनगढी : सरकारले गरिबलाई वितरण गरिने भनिएको ‘गरिब परिचयपत्र’ धनगढीमा धनीलाई वितरण भइरहेको पाइएको छ । धनगढी उपमहानगरपालिका–६ जाईका रामप्रसाद चौधरी हवल्दार पदबाट सेवानिवृत कर्मचारी हुन् । उनी हाल पेन्सन बुझिरहेका छन् । उनका ३ छोरा पनि जागिरे छन् । तर उनको हातमा सरकारले रातो रंग (अति गरिब) परिचयपत्र दिएको छ ।
यस्तै जाईका रामबहादुर राना पनि व्यवसायी हुन् । उनका ३ वटा ट्रयाक्टर छन् । उनको धनगढीमा नै १० कठ्ठा बढी जमिन छ । तर उनले अति गरिब परिचयपत्र पाएका छन । हचुवाका भरमा वितरण गरिएको परिचयपत्रमा धेरैले आकलन नै नगरेका व्यक्तिहरू परेका छन् ।
धनगढी उपमहानगर–६ का बुद्धिराम चौधरीले पनि गरिब परिचयपत्र पाएका छन् । यी पनि आफ्नो वडाका सम्पन्न व्यक्ति हुन् । ‘वडामा गरिब परिचयपत्र वितरण भर्ने टोली आएको थियो’, बुद्धिरामले भने, ‘गरिबमा पर्ने भन्ने सोचेको पनि थिइनँ्, लिस्टमा नाम रहेछ, अब केही सुविधा पाउलाँ कि भनेर परिचयपत्र बुझिहाले’, बुद्धिरामले भने । यस्तै सोही वडाका झंकरबहादुर कुँवर पनि एक सम्पन्न परिवार हुन् । उनको धनगढीमै पक्की घर र एक बिघा बढी नम्बरी जमिन छ । तर उनले पनि गरिब परिचयपत्र पाएका छन् । सरकारले निम्न वर्गलाई लक्ष्य गरी ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले विरोधसमेत जनाएका छन् ।
आफ्नो नाममा एक कठ्ठा पनि जग्गा नहुँदा पनि सरकारले गरिब परिचयपत्र नदिएको धनगढी–६ बिजुलिया टोलका पतिराम चौधरीले बताए । ‘मेरो नाममा एक कठ्ठा पनि जग्गा छैन, ऐलानी जमिनमा बस्दै आएको छु ।’ पतिरामले भने, ‘तर सरकारको नजरमा म परिनँ ।’ समाजका सम्पन्न परिवारलाई अति गरिब परिचयपत्र वितरण गरेकामा उनले असुन्तुष्टि व्यक्त गरे ।
हचुवाको भरमा लगत संकलन गर्दा गरिबले पाउनुपर्ने परिचयपत्र धनीले पाएको स्थानीय अमरबहादुर खड्काले बताए । उनले सरकारी कर्मचारीहरूले नै गरिब परिचयपत्र लिइरहेको बताए । गरिबले पाउनुपर्ने परिचयपत्र धनीले पाएका धनगढी उपमहानगर–६ का वडाध्यक्ष भागीराम चौधरीले पनि स्विकारे । सरकारले ०६९ सालमा गरेको गरिब घरपरिवार पहिचान सर्वेक्षणमा छनोट भएका परिवारलाई गरिब परिचयपत्र वितरण गर्ने कार्य देशभर गरिरहेको छ ।
लगत संकलन गर्ने बेला केही त्रुटि भएकाले समस्या भएको धनगढी उपमहानगरका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले बताए । धनगढीमा २७ हजार घरधुरीमध्ये ५ हजार ८ सय ८५ घरधुरीलाई परिचयपत्र वितरण गर्ने सरकारको तथ्यांक छ । धनगढीमा २ हजार ८ सय ५८ परिवारलाई अति गरिब, १ हजार ८ सय ३७ जनालाई मध्यम र १ हजार २ सय ९० जनालाई सामान्य गरिबको श्रेणीमा राखिएको छ ।
उपमहानगरमा सबैभन्दा बढी ६०.१० प्रतिशत गरिब परिवार वडा नं १० मा र सबैभन्दा कम वडा नं ५ मा ५.७ प्रतिशत गरिब परिवार रहेका छन् । ६ वर्षअघि लिइएको तथ्याङका आधारमा अहिले परिचयपत्र वितरण गर्न लागिएका कारण वास्तविक गरिबले परिचय पत्र नपाउने अवस्था सिर्जना भएको धेरैको गुनासो छ ।
देशभरिमा ८ वटा जिल्लामा नमुनाका रूपमा गरिब घर परिचयपत्र वितरण हुँदै छ । सरकारले ०७९ सालमा गरिबहरूको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन गरेको थियो ।