क्यान्सर जितेर ब्याडमिन्टन कोर्टमा
काठमाडौं : हेटौंडाका ५९ वर्षीय विप्लपकान्ती (बिके) बोस र २६ वर्षीय अभिषेक बोस नाताले बावु÷छोरा हुन्। ब्याडमिन्टन कोर्टमा बावु छोराको प्रदर्शन सँधै चर्चाको विषय बन्दै आएको छ। अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताका नियमित खेलाडी बिके र अभिषेकले अघिल्लो संस्करण भने खेल्न पाएनन्। उनीहरु नखेल्नुको कारण थियो। बिकेलाई अचानक नसोचेको रोग क्यान्सरले समात्यो।
‘सानैदेखि म एथलेटिक्सको खेलाडी। उमेरमा चार सय, आठ सय र १५ सय मिटरमा दौडिएँ। राष्ट्रिय स्तरका प्रतियोगितामा सफल पनि भएँ। १० वर्ष जति दौडिएपछि उमेर ढल्कियो। त्यसपछि ब्याडमिन्टनको ¥याकेट समाएँ। सानैदेखि दौडसँगै ब्याडमिन्टन पनि खेलेको हुनाले यही खेलमा लत बसेको छ,’ बिके भन्छन्।
बिके विस्तारै ब्याडमिन्टनमा जम्दै गए। राष्ट्रिय स्तरका खेलमा पनि सहभागी बन्दै गए।
पछिल्लो आठ वर्षदेखि डबल्स स्पर्धामा उनलाई छोरा अभिषेकले साथ दिँदै आएका छन्। छोरा अभिषेक ब्याडमिन्टनका राष्ट्रिय खेलाडी हुन्। धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद र विराटनगरका सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलबाट प्रतिस्पर्धा गरेका अभिषेक क्वार्टरफाइनलसम्म पुगेका थिए। खेलसँगै बावु छोरा ब्यवसायमा पनि जमिरहेका छन्।
बिकेले हेटौंडामा सुपर लामी कोट्स प्रालि सञ्चालन गरेका छन्। छोरा अभिषेक नारायणी मिल्कका प्रबन्धक हुन्। आआफ्नै पारिवारिक ब्यापारमा जमेका बावु छोराको ब्याडमिन्टन साइनो भने गजबको छ। यो जोडीले प्रत्येक वर्ष अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको ‘कर्पोरेट डबल्स’ स्पर्धामा प्रतिस्पर्धा गर्दै आएको छ। छोरा अभिषेकले कर्पोरेट एकलमा पनि खेल्दै आएका छन्। कर्पोरेट डबल्समा बावु छोरोको जोडी पराजित भए। तर, कर्पोरेट एकलमा भने अभिषेक अगाडि बढिरहेका छन्।
‘खेलमा हारजित स्वभाविक हुन्छ। अघिल्लो साल क्यान्सरका कारण खेल्न पाइनँ। यसपटक सहभागी बन्न पाउनुलाई नै मैले उपाधि जितेभन्दा बढी ठानेको छु,’ बिके भन्छन्। सन् २०१६ को अन्त्यतिर उनी एक्कासी बिरामी भए। काठमाडौं आएर परीक्षण गर्दा उनको दायाँ तिघ्रामा क्यान्सर लागेको पत्ता लाग्यो। त्यसपछि उनले भारतको टाटा अस्पतालमा उपचार गराए। ६० प्रतिशत क्यान्सर भइसकेको उनलाई सातपटक किमो दिइयो।
‘क्यान्सर लाग्यो भनेर म चिन्तित भइनँ। डाक्टरको सल्लाहमा खेलिरहेँ। खेलकै कारण क्यान्सरलाई जित्न सकेजस्तो लाग्छ। छोरासँग खेल्न पाउनु मेरो अहोभाग्य हो। सकभर अरुलाई साथी बनाउन मन लाग्दैन,’ बिकेले भने। छोरा अभिषेकलाई पनि बाबुसँग खेल्दा जस्तोसुकै बलियो प्रतिद्वन्द्वीलाई पनि परास्त गर्न सकिने जोस आउँछ रे। नौ वर्षअघि अभिषेककी आमा (साथी बोस) को हृदयघातका कारण निधन भयो। त्यसपछि बावुको थप माया पाउँदै आएका अभिषेकलाई बावुप्रति ठूलो भरोसा छ।
स्नातकको पढाइ सकेका अभिषेकले खेल र ब्यवसायमा पनि सफलता पाएको देख्दा बिके दंग छन्। बिकेको परिवार नै ब्याडमिन्टनमा लागेको छ। परिवारकी एकमात्र छोरी माधवी बोस पनि ब्याडमिन्टन खेलाडी हुन्। विकेको क्यान्सर पूर्ण रुपमा निको भएपछि झनै हौसिएको छ, यो परिवार। यो परिवारले हेटौंडामा ब्याडमिन्टन खेलको विकासमा पनि सहयोग पु¥याउँदै आएको छ।
हरेक वर्ष बिकेले स्वर्गीय पत्नीको नाममा विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। ‘विस्तारै यो प्रतियोगितालाई ब्यापक बनाउने र हेटौंडाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उनको सोच छ। ‘शरीरले साथ दिएसम्म ब्याडमिन्टन कोर्टमा छोरालाई साथ दिन्छु। अझै आठ÷दश वर्ष हाम्रो जोडी जम्ला जस्तो लाग्छ,’ जिल्ला ब्याडमिन्टन संघ हेटौंडाका अध्यक्ष समेत रहेका बिके भन्छन्। अभिषेकले पनि बाबुको इच्छालाई मर्न नदिने प्रतिबद्धता ब्यक्त गरे। बिके अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन नेपालको सबैभन्दा स्तरीय प्रतियोगिता भएको बताउँछन्। ‘मिडिया हासले यो स्तरको प्रतियोगिता सञ्चालन गर्नु संसारकै लागि उदाहरणीय हो’, उनी भन्छन्।