अघि बढ्दै रुकेश र रसिला
काठमाडौं : त्रिभुवन आर्मी क्लबका खेलाडी रुकेश महर्जन र प्रफुल महर्जन राजधानीमा जारी अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको यू-१९ पुरुष एकल स्पर्धाको सेमिफाइनलमा पुगेका छन्। यसअघि बिहीबार नै भएको पुरुष एकलतर्फको खेलमा भने प्रफुललाई नै पराजित गर्दै रुकेश प्रतियोगिताको अन्तिम चारमा पुगेका थिए।
यू-१९ तर्फको क्वार्टरफाइनल खेलमा रुकेशले प्रदेश नम्बर ४ का विधान अधिकारीलाई २१-११, २१-२० को सोझो सेटमा पराजित गरे। प्रफुलले भने प्रदेश नम्बर १ का प्रनिशसिंह ठकुरीलाई २१-९, २१-७ को सोझो सेटमा पाखा लगाए। उनीहरुसँगै त्रिभुवन आर्मी क्लबका पविन लिङ्थेप र सिल्कका प्रिन्स दाहाल पनि अन्तिम चारमा पुग्न सफल भएका छन्। पविन विपक्षी खेलाडी कोर्टमा उपस्थित नहुँदा सिधै सेमिफाइनलमा पुगेका हुन् भने प्रिन्सले क्वार्टरफाइनलमा प्रदेश नम्बर ६ का निरञ्जन चौधरीलाई २१-८, २१-१२ अंकले पराजित गरे।
यसैगरी यू-१९ स्पर्धाकै महिला एकलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन सेमिफाइनलमा पुगेकी छन्। रसिलाले क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबकी रोस पाण्डेलाई २१-१०, २१-७ अंकले पराजित गरिन्। नेपाल पुलिस क्लबकी जेसिका गुरुङ, प्रदेश नम्बर १ की नीता लम्साल र कञ्चनपुरकी रञ्जना भट्ट पनि अन्तिम चारमा पुग्न सफल भए।
क्वार्टरफाइनलमा जेसिकाले प्रदेश नम्बर ४ की आकृती केसीलाई २१-६, २१-११ अंकले हराइन्। नीताले जेष्टकी श्रद्धेय प्रधानलाई २१-१३, २१-१२ अंकले हराइन्। रञ्जनाले भने प्रदेश नम्बर २ की चित्र हरित्वाललाई २१-६, २१-६ अंकले हराउँदै अन्तिम चारमा पुगेकी हुन्।