२४ वर्ष जेठी गुरुआमासँगको अफेयरपछि...

२४ वर्ष जेठी गुरुआमासँगको अफेयरपछि...

२५ वर्ष अगाडिको कुरा हो। हाल फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन आफ्नै गुरुआमाको प्रेममा परे। १६ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष जेठी शिक्षिकासँगको अफेयरले म्याक्रोनको परिवारलाई ठूलो झट्का लाग्यो। शिक्षिकाको नाम थियो, ब्रिगेट ट्रोगनेक्स। तीन बच्चाकी आमा, ३९ वर्षीय विवाहित ब्रिगेटसँग म्याक्रोन कसरी प्रेममा पर्न सक्छन् भन्ने विषय म्याक्रोन परिवारका लागि टाउको दु:खाइको विषय बन्यो।

१५ वर्षको उमेरमा म्याक्रोनको भेट ला प्रोभिडेन्स नामक एउटा प्राइभेट स्कुलमा ब्रिगेटसँग भएको थियो। उत्तरी फ्रान्सको एमिन्समा रहेको यो विद्यालयमा म्याक्रोन विद्यार्थी थिए र ब्रिगेट शिक्षिका थिइन्। ब्रिगेट ड्रामा टिचर थिइन्। उनकी छोरी लोरेन्स पनि त्यही विद्यालयमा पढ्थिन्। म्याक्रोनको परिवारलाई लाग्यो कि उनीहरूका छोरा ब्रिगेटीकी छोरीको प्रेममा परेका छन् तर होइन रहेछ। आफ्नो छोरो शिक्षिकासँगको प्रेममा परेको खबरले म्याक्रोनको परिवारमा भूकम्प नै ल्यायो।

इमानुएल म्याक्रोनका मातापिता दुवै चिकित्सक हुन्। उनका भाइ कार्डियोलोजिस्ट हुन् र बहिनी न्युरोलोजिस्ट हुन्। इमानुएलमात्र परिवारका यस्ता सदस्य हुन्, जसले मेडिकल फिल्डमा करिअर बनाउन चाहेनन्। उनले आफ्नो रोजाइ परिवारभन्दा फरक राखे। मनोविज्ञानमा स्नातक गरेका म्याक्रोन उच्च शिक्षाका लागि पेरिस गएका थिए। ब्रिगेटसँगको प्रेमसम्बन्धमा ब्रेक लगाउन म्याक्रोनको परिवारले उनलाई पेरिस पठाएको थियो। कसलाई थाहा, म्याक्रोन एमिन्सबाट टाढिए पनि ब्रिगेटको प्रेम उनीसँगै थियो।

छोरालाई शिक्षिकासँग टाढा राख्न म्याक्रोनका आमा (फ्रान्कोइस नोगुज म्याक्रोन) र बुवा (जेन मिसेल म्याक्रोन)ले ब्रिगेटसँग भेटेका पनि थिए। उनीहरूले इमानुएल वयस्क र बुझ्ने नभएसम्म नभेट्न ब्रिगेटसँग बाचा लिन खोजे तर ब्रिगेटले नभेटे पनि बाचा नै भने गर्न नसक्ने बताएपछि परिवारको कोसिस व्यर्थ भयो।

स्कुलका दिनहरूमा नाटक लेख्ने समयमा म्याक्रोन र ब्रिगेटको भेट निरन्तर भइरह्यो। ती दिनहरूपछि दुवैको पे्रम अझै झाँगिँदै गयो। शिक्षिका ब्रिगेटले सबैभन्दा पहिले आफ्नी छोरीबाट म्याक्रोनको बारेमा सुनेकी थिइन्। म्याक्रोन तीक्ष्ण बुद्धि भएका निकै जेहेनदार विद्यार्थी थिए। उनलाई पढाएका सबै कुरा कण्ठ हुने सुनेपछि ब्रिगेटले उनलाई भेट्ने इच्छा व्यक्त गरेकी थिइन्। त्यसपछि भेटले निरन्तरता पाउँदै गयो।

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्, ‘म ब्रिगेटभन्दा जेठो भएको भए कसैले प्रश्न उठाउने थिएन। तर, ब्रिगेट मभन्दा २० वर्ष जेठी हुँदा हाम्रो सम्बन्धलाई सजिलै स्वीकार्न कठिन भएको देखिन्छ।’

म्याक्रोनले ब्रिगेटलाई आफ्नो अभिभावकसँग भेटाउँदा कसैले पनि ‘गज्जबको जोडी’ भन्न सकेनन्। इमानुएलका आमा फ्रान्कोइस नोगुजल छोरा र शिक्षिकाको सम्बन्ध लामो समयसम्म टिक्न नसक्ने सोचेर ब्रिगेटलाई भनेकी थिइन्, ‘के तिमी देख्दैनौ ? तिम्रो आफ्नै परिवार छ। तर, तिमीसँगको सम्बन्धले मेरो छोराका सन्तान हुने छैनन्।’ तर अचम्मको कुरा भविष्यका राष्ट्रपति म्याक्रोनकी मावली हजुरआमा मेनेट नातिको प्रेमलाई बुझिरहेकी थिइन्।

एक अन्तर्वार्तामा म्याक्रोनका आमा भन्छिन्, ‘मेरी आमाले हाम्रा लागि पनि त्यति खुला विचार राख्नुभएन होला तर नातिको प्रेम सम्बन्धलाई उहाँले अझै बढी खुला विचारले समर्थन गर्नुभयो।’ अब त फ्रान्कोइस नोगुजको लागि पनि यो सम्बन्ध त्यति ठूलो विषय रहेन। उनी थप्छिन्, ‘मेरो छोरा शिक्षिकाको प्रेममा छ भन्ने विषय अब ठूलो कुरा रहेन किनकि ऊ खुसी छ। र, ती दुईको सम्बन्धमा पनि कुनै समस्या देखिँदैन।’

गुरुआमासँगको प्रेमसम्बन्ध सुरुमा त म्याक्रोनका परिवारलाई पचाउनै मुस्किल परेको थियो। त्यसैले छोरालाई उनका बुवाआमाले धेरैपटक पढिरहेको स्कुलबाट निकाल्ने धम्की दिए र स्कुलको अन्तिम वर्ष सकाउन पेरिसको प्रतिष्ठित स्कुल लिसी हेनरी आइभीमा पठाउने बताउन थाले। तर, युवा म्याक्रोनलाई थाहा थियो, उनको भविष्यकी श्रीमतीको कक्षाकोठामा उनी विद्यार्थी थिएनन्। उनी त केवल आफ्नी शिक्षिकासँग नाटकका पाठहरू सिक्दै थिए। र, त्यसमै रमाउँदै थिए।

म्याक्रोन र ब्रिगेटले जब आफूहरू प्रेमसम्बन्धमा रहेको खबर घरमा बताए। उनीहरूका अभिभावकले यसलाई निकै नराम्रो रूपमा हेरे। म्याक्रोन भन्छन्, ‘मैले मेरो प्रोफेसनल र निजी जिन्दगी दुवै जिउन लड्नुपर्ने थियो। यसका लागि मैले सबैसँग लड्नु पनि प¥यो, जुन वास्तवमै सजिलो थिएन। त्यसमाथि गुरुआमासँग एक विद्यार्थीको अफेयर समाजको नैतिकतासँग जोडिएको विषय थियो, जुन अझै पेचिलो थियो।’

यो जोडीले सन् २००७ मा आएर विवाह ग¥योे। विवाहपूर्व ब्रिगेटको पहिलो श्रीमान्सँग एक वर्षअघि नै सम्बन्धविच्छेद भइसकेको थियो। विवाहको समय म्याक्रोन २९ वर्षका थिए र ब्रिगेट ५४ वर्षकी। विवाहपछि ब्रिगेटका तीन बच्चाले एक युवा पिता पाए। म्याक्रोनले विवाहको स्वागत समारोहमा ती बच्चाहरूको आफू पिता बनेको नाताले भनेका छन्, ‘हाम्रो सम्बन्धलाई स्वीकारेकोमा धन्यवाद।’

२१ डिसेम्बर १९७७ मा फ्रान्सको एमिन्समा जन्मिएका इमानुएल जेन–म्याइकल फेडेरिक म्याक्रोन परिवारका जेठा छोरा थिए। उनले करिअरको सुरुआतमा फ्रेन्च मिनिस्ट्री अफ इकोनोमीमा इनिस्पेक्टर अफ फाइन्यान्स (२००४)को रूपमा काम गरे। पछि चार वर्ष इन्भेस्टमेन्ट बैंकमा काम गरिसकेपछि उनले सन् २०१२ मा फ्रेन्च नेता सोसलिस्ट पार्टीका फ्रान्कोइस होल्यान्डको डेपुटी सेक्रेटरी जेनरलका रूपमा काम गरे। फ्रान्स्वा ओलान्द सरकारमा अर्थमन्त्री बनेपछि भने उनले आक्रामक राजनीतिक जीवन सुरु गरे। अगस्ट २०१६ मा म्याक्रोनले आफ्नो नयाँ तर चुनौतीपूर्ण यात्राको सुरु गरे। अर्थमन्त्रीबाट राजीनामा दिएर उनले राष्ट्रपति चुनाव लड्ने घोषणा गरे। जब उनले राष्ट्रपति पदका लागि आफ्नो दाबेदारी पेस गरे, तब फ्रान्समा उनलाई हाँसोको पात्र बनाइयो। उनको परिचय एक उदारवादी नेताको रूपमा रहेको छ र उनी खुला रूपमा युरोपियन युनियनका समर्थक हुन्। फ्रान्समा भएको दोस्रो चरणको राष्ट्रपति चुनावमा ३९ वर्षीय इमानुएल म्याक्रोन देशका सबैभन्दा युवा राष्ट्रपति बन्न सफल भए। सन् २०१७ मा भएको चुनावमा म्याक्रोनले ६६.१ प्रतिशत भोट आफ्नो पक्षमा पारेर आफ्नी प्रतिद्वन्द्वी तथा दक्षिणपन्थी विचार राख्ने मरिन ली पेनलाई पराजित गरे। चुनावको नतिजा सार्वजनिक भएसँगै म्याक्रोनले आफ्नो जितलाई फ्रान्सका लागि नयाँ आशा र विश्वासले भरिएको अध्यायको सुरुआत बताएका थिए।

बैंकरबाट राष्ट्रपति बनेका म्याक्रोन चार वर्ष अघिसम्म फ्रान्सको राजनीतिका एक गुमनाम अनुहार थिए। दर्शनशास्त्रका विद्यार्थी उनले राष्ट्रपति चुनावमा जित निकालेसँगै उनी युरोपका सबैभन्दा शक्तिशाली नेता बनेर उभिएका छन्।

फ्रान्सको इतिहासमा उनी अहिलेसम्मकै कान्छा राष्ट्रपति हुन्। बिनाकुनै अनुभव राष्ट्रपतिको पदका लागि भारी मतले जितेका म्याक्रोनको निजी जिन्दगी निकै रोमाञ्चक छ। एमिन्सको हाइस्कुलमा पढ्दा आफूभन्दा २४ वर्षले जेठी ड्रामा टिचर ब्रिगेट थ्रोग्नेससँग अफेयर चल्नु, तीन बच्चाकी आमा ब्रिगेटसँगको विवाह र पारिवारिक व्यवसायबाट अलग राष्ट्रपतिसम्मको यात्राले म्याक्रोनलाई अलग व्यक्तिका रूपमा चिनायो।

फ्रान्सकी फस्ट लेडी ब्रिगेटले पछिल्लो वर्ष एउटा म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘म्याक्रोनले १७ वर्षकै उमेरमा उनीसँग विवाह गर्ने वचन दिएका थिए। पढाइ सकेर फर्कने बताएका थिए। भेट नभए जसरी पनि खोजी छाड्नेसमेत भनेका थिए।’

‘तपाईं मबाट छुटकारा पाउन सक्नुहुन्न। म फर्कनेछु र तपाईंसँगै विवाह गर्नेछु’, ब्रिगेट म्याक्रोनले भनेका कुरा सुनाउँछिन्। उनी स्कुलका दिनहरू सम्झँदै भन्छिन्, ‘इमानुएलसँग बसेर नाटक लेख्नु एक बहाना मात्र थियो। मलाई यस्तो लाग्थ्यो, हामी एकअर्कालाई पहिल्यैदेखि चिन्थ्यौं।’

यी दुईको प्रेमकहानीले सबैलाई चकित बनाए पनि हाल ब्रिगेट म्याक्रोनसँगको सम्बन्धमा केही निर्णय लिन चाहन्छिन्। ‘अहिले नै मैले कुनै निर्णय लिइनँ भने म पछुताउनेछु। किनकि २० वर्षअगाडि म्याक्रोन मेरा विद्यार्थी थिए। बस् यति हो। पहिलेका कुरा आज पनि उस्तै रहनुपर्छ भन्ने छैन।’ उनी भन्छिन्, ‘मेरो उमेर र मेरो अनुहारको चाउरीपन दुवै म्याक्रोनको साथमा छ। हामी बिहानको नास्ता सँगै खान त सक्छौं तर अब म मेरा बच्चाहरूसँग खुसी रहन सक्छु।’

म्याक्रोनको भने केही फरक धारणा छ। उनी भन्छन्, ‘म ब्रिगेटभन्दा २० वर्ष जेठो भएको भए कसैले प्रश्न उठाउने थिएन तर ब्रिगेट मभन्दा २० वर्ष जेठी हुँदा हाम्रो सम्बन्धलाई सजिलै स्वीकार्न कठिन भएको देखिन्छ।’ म्याक्रोनले भनेका छन्, ब्रिगेट सधैं एक शक्तिका रूपमा उनीसँग रहिन्। चुनाव जितिसकेपछि पनि उनले फोब्र्स पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘ब्रिगेट सधैं मेरो साथमा रहिन् किनकि उनी सधैं मेरो साथमै थिइन्।’ म्याक्रोन राष्ट्रपति बनेको केही महिनापछि ब्रिगेटले भनेकी थिइन्, ‘६४ वर्षको उमेरमा फ्रान्सको फस्ट लेडी बन्न म डराएकी थिएँ।’ तर अहिले उनी फ्रान्सकी फस्ट लेडी भएर म्याक्रोनलाई साथ दिइरहेकी छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.