संघर्षले खारिएका मोड्रिच

संघर्षले खारिएका मोड्रिच

रुसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा थुप्रै अप्रत्याशित नतिजाहरू भए। विश्वका फुटबल पण्डितलाई समेत चकित पार्ने नतिजा, स्टार खेलाडीको छिटो बहिर्गमन र युवा खेलाडीको प्रभावशाली प्रदर्शनले रुस विश्वकप धेरैका लागि अकल्पनीय बन्यो। तर, यही विश्वकपमार्फत केही खेलाडीले छुट्टै छाप छाड्न सफल भए। तिनैमध्येका एक हुन्, लुका मोड्रिच।

विश्वकपअघि स्लोभेनिया, हंगेरी, सर्भिया, बोस्निया हर्जगोभिना र एड्रियाटिक सी (समुद्र)ले घेरिएको झन्डै ४२ लाख मानिस बस्ने क्रोएसिया देशबारे धेरैलाई थाहा थिएन। तर, रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने लुका मोड्रिच र बार्सिलोनाका इभान राकिटिचलाई भने फुटबल पछ्याउने धेरैले चिन्थे। उनै मोड्रिचको कप्तानीमा क्रोएसिया रुस विश्वकप फुटबलको फाइनल उपविजेता बन्यो। रुस विश्वकपको उपविजेता क्रोसियाली टोलीका कप्तान मोड्रिचले आफ्नो टोलीलाई उपाधि दिलाउन नसके पनि आफ्नो छुट्टै छाप छोड्न भने सफल भए।

मोड्रिच वर्तमान समयका उत्कृष्ट मिडफिल्डर हुन्। मोड्रिचका साथै इभान राटिटिच, मार्सेलो ब्रोजोभिच र इभान पेरिसिकलगायतका खेलाडीको उच्च प्रदर्शनले क्रोएसिया धेरै फुटबल पण्डितको अनुमानविपरीत फाइनलमा पुगेको थियो।

मोड्रिच स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। तर, क्लब फुटबलमा उनले लामो समय पसिना बगाए पनि उनलाई संसारभर चिनाउने प्लेटफर्म भने रुस विश्वकपले उपलब्ध गराइदियो। क्रोएसियाको प्रदर्शनमा प्रभावकारी भूमिका खेलेका मोड्रिच विश्वकपको उत्कृष्ट खेलाडी चुनिए, ‘गोल्डेन बल’को हकदार बने।

रुस विश्वकपमा क्रोएसियाले समूहगत चरणदेखि नै उत्कृष्ट प्रदर्शन ग¥यो। समूहगत चरणमा नाइजेरिया, अर्जेन्टिना र आइसल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुगेको क्रोएसियाले प्रिक्वार्टरफाइनलमा डेनमार्क, क्वार्टरफाइनलमा आयोजक रुस र सेमिफाइनलमा इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाउन सफल भयो। यो प्रदर्शनमा लुका मोड्रिच र सिंगो क्रोएसियाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे।

क्रोएसियाको प्रदर्शनमा प्रभावकारी भूमिका खेलेका मोड्रिचले कुनै समय शरणार्थी शिविरमा बिताएका थिए। रुस विश्वकपमा उत्कृष्ट खेलाडी चुनिएर ‘गोल्डेन बल’को हकदार बनेपछि उनको चर्चा एकाएक चुलिएको छ।

युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र बनेपछि सन् १९९८ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसियाले सेमिफाइनलमा पुग्दै सनसनी मच्चाएको थियो। त्यतिखेर डेभोर सुकर, कप्तान जोनिमिर बोभोन, रोवर्ट प्रोस्निकीजस्ता खेलाडीले प्रभावशाली प्रदर्शन गरे।

सन् १९९४ देखि १९९९ सम्मको क्रोएसियाली टोलीलाई स्वर्णिम पुस्ताको टिम मानिँदै आएको थियो। तर, मोड्रिचको नेतृत्वमा क्रोएसियाले हासिल गरेको उपलब्धिमा त्यस बेलाका खेलाडी पनि नतमस्तक बनेका छन्। इभान राकिटिच र मारियो मान्डुकिचसँगै मोड्रिचको यो टोलीलाई क्रोएसियाको ‘सेकेन्ड गोल्डेन जेनेरेसन’का रूपमा हेरिएको छ। मोड्रिचले डेभोर सुकरसँगै क्रोएसियन फुटबलर अफ दी इयरको अवार्ड ६ पटक जितेका छन्। क्रोएसियाको इतिहासमा १० उत्कृष्ट खेलाडीको लिस्टमा मोड्रिचलाई चौथो स्थानमा राखेको छ।

सन् २००६ मा अर्जेन्टिनाविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका मोड्रिचले क्रोएसियन राष्ट्रिय टोलीका लागि एक सय १२ खेल खेल्दै १५ गोल गरेका छन्। मोड्रिच विशेषत: सेन्ट्रल मिडफिल्डमा बढी खेल्छन्। आवश्यक परेको बेला उनी अट्याकिङ मिडफिल्डर र डिफेन्सिभ मिडफिल्डरका रूपमा पनि खेल्न माहिर मानिन्छन्। क्रोएसियाका लागि सर्वाधिक खेल खेल्नेमा मोड्रिच पूर्वकप्तान डारियो श्रना (१३४) र पूर्वगोलकिपर स्टिप प्लेटिकोसा (११४) भन्दा पछि छन्।

शरणार्थीदेखि विश्वकपसम्म

मोड्रिचले लामो संघर्ष, बलिदान र मेहनतबाट आफूलाई अब्बल फुटबलरमा स्थापित गराएका हुन्। सन् १९८५ सेप्टेम्बर ९ मा क्रोएसियाको जदार भन्ने ठाउँमा जन्मिएका अहिलेका स्टार मिडफिल्डर उनको विगत भने दु:खदायी छ। क्रोएसियन टोलीको नेतृत्व सम्हाल्दासम्म उनले ठूलो संघर्ष गर्नु परेको थियो।

उनी स्टिभ मोड्रिचको पहिलो सन्तान हुन्। उनको बाल्यकाल सन् १९९१ मा भएको क्रोएसिया स्वतन्त्रता युद्धमा बित्यो। युद्ध निरन्तर हुँदा उनको परिवार त्यहाँबाट अन्यत्रै विस्थापित हुन बाध्य भयो। उनका बुवाआमा कारखानामा काम गर्न घरदेखि टाढा जान्थे। मोड्रिच आफ्ना हजुरबुवासँगै बस्थे। उनकै काखमा सुत्थे, उनकै काँधमा चढ्थे। हजुरबुवा पनि उनलाई निकै माया गर्थे।

मोड्रिच ६ वर्षका हुँदा सन् १९९१ मा उनको गाउँमा सर्भियन लडाकु आए। ती लडाकुले केही निर्दोष गाउँलेलाई मारिदिए। मारिनेमा मोड्रिचका हजुरबुवा पनि थिए। बस्तुभाउ चराउन गएका उनलाई लडाकुले हत्या गरेको थियो। सर्भियन लडाकुले गाउँ कब्जामा लिएपछि उनीहरूले त्यहाँका बासिन्दालाई छाडेर अन्यत्रै जान उर्दी जारी गरे। ज्यान जोगाउन पनि मोड्रिचको परिवारलगायत स्थानीयवासी गाउँ छाड्न बाध्य भए। उनीहरू आफ्नै देशमा शरणार्थी बन्न पुगे।

उनले सात वर्षसम्म एक होटलमा बिताए। त्यस समय सहरभरि हजारौं ग्रिनेट फालिन्थ्यो। त्यो ग्रिनेट कहिले विस्फोट हुने हो भन्ने त्रासमा बस्नुपथ्र्यो। उनीहरूको कोठाबाट बम र ग्रिनेड पड्केको आवाज आइरहन्थ्यो। होटलमा निस्सासिएर बस्नुपर्दा मोड्रिचले फुटबललाई ती घटना बिर्सने माध्यम बनाए। बिहान बेलुकाको समय उनी साथीहरूसँग फुटबल खेल्थे। शरणार्थी भएर आ श्रय लिएको होटलको पार्किङ स्थलमा फुटबल चौर थियो।

घरेलुदेखि विश्वचर्चित क्लबसम्म

मोड्रिच सन् १९९२ मा सात वर्षका उमेरमा विद्यालय भर्ना भए। पढाइका साथै उनले विद्यालयमा फुटबल पनि खेल्न थाले। उनको फुटबलप्रतिको मोह देखेर परिवारले एकेडेमीमै भर्ना गरिदिए। नियमित फुटबल खेल्न पाएका कारण मोड्रिचको खेल कौशल गज्जबको थियो। उनको ‘ड्रिब्लिङ’ देखेर प्रशिक्षक पनि दंग पर्थे। उनले इटालीमा आयोजना भएको युथ प्रतियोगितामा आफ्नो जादु देखाए। त्यसपछि उनी सबैको नजरमा पर्न सफल भए।

सन् २००२ मा उनी डाइनामो जाग्रेब क्लबमा आबद्ध भए। त्यहाँ एक वर्ष बिताएपछि मोड्रिच बोस्निया हर्जगोभिनाको प्रिमियर लिग ज्रिन्सकी मोस्टरबाट व्यावसायिक खेल खेल्न थाले। उनले त्यहाँ निकै मेहनत गरे। आफूलाई भर्सटायल खेलाडीका रूपमा स्थापित गरे। उनी त्यहाँको लिगको ‘प्लेयर अफ दी एयर’ घोषित भए।

बोस्निया हर्जगोभिनामा फुटबल खेल्न निकै गाह्रो हुन्छ। त्यहाँका काला वर्णका बलिया खेलाडीसँग प्रतिस्पर्धा गर्न निकै कठिन हुने मोड्रिचले बताएका छन्। ‘कसैले बोस्नियन लिगमा खेल्न सक्छ भने उसले संसारका जहाँसुकै गएर पनि फुटबल खेल्न सक्छ’, उनले आफ्नो र त्यहाँका खेलाडीका शारीरिक बनावटको प्रसंगमा भनेका थिए। बोस्निया हर्जगोभिनामा एक वर्ष बिताएपछि मोड्रिच आफ्नै देश फर्किए र इन्टर जाप्रेसिसमा आबद्ध भए। त्यहाँ एक सिजन बिताउँदा क्लबलाई लिगमा दोस्रो स्थानमा पु¥याउन सफल भए।

घरेलु लिगमा विभिन्न टोलीबाट फुटबल खेलेका मोड्रिच सन् २००८ मा इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा आबद्ध भए। त्यहाँ उनले पाँच वर्षमा एक सय २७ खेल खेल्दै १३ गोल गरे। सन् २०१२ मा स्पेनिस पावर हाउस रियल म्याड्रिडमा आबद्ध भएका उनले एक सय ६६ खेलमा नौ गोल गरेका छन्।

सन् २००६ मा अर्जेन्टिनाविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले त्यही वर्ष जर्मनीमा भएको विश्वकपमा क्रोएसियन टोलीमा पर्न सफल भए। उनले समूह चरणमा जापान र अस्ट्रेलियाविरुद्धको खेल पनि खेले। तर, त्यसपछिका खेलमा भने बेन्चमा नै सीमित भए। मोड्रिचले २००८, २०१२ र २०१६ को युरोकप फुटबल पनि खेले। सन् २००६ र २०१४ को विश्वकप पनि खेलेका उनको विश्वकप २०१८ मा आएर भाग्य चम्किएको छ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.