स्ट्रिट फुड : छिटो मिठो

स्ट्रिट फुड : छिटो मिठो

दृश्य १

कलंकीको सहिद मेमोरियल हस्पिटल छेउमा थोरै मात्र खाली ठाउँ छ। रामेछापका टोपबहादुर श्रेष्ठ मम पकाउने काममा व्यस्त छन्। दुईतीनवटा मुढा र एउटा बेन्चमा ममका पारखीहरू बसिरहेका छन्। आफ्नो रुचि अनुसारको खानेकुरा अर्डर गरिरहेका छन्। कोही मम फ्राई, कोही ससेज चिल्लीको अर्डर गर्छन् त कोही अन्डा फ्राई। सबैजना आआफ्नो अर्डरको खानेकुराको पर्खाइमा छन्।

दृश्य २

तीन वर्षअघि भूकम्पले भत्काएको धरहराको अवशेष रहेको सुन्धारा। त्यहाँबाट भोटेबहाल जाने बाटोको छेउको सानो चोकमा भीडभाड छ। कसैले साइकलमा आँप, स्याउ, केराजस्ता फलफूल बोकेका छन् त कोही साग, बोडी, फर्सी, टमाटर जस्ता तरकारी भुइँमा फिँजारेर बेचिरहेका छन्।

छेउमै रहेको ठेलामा कुनैमा चट्पटे, पानीपुरी त कुनैमा मम, चाउमिन ससेज बेच्न व्यस्त छन् सडक व्यापारीहरू। प्राय: सबै प्रकारका व्यापारीका अघि कोही न कोही ग्राहक झुम्मिइरहेकै छन्। कोइलामा पोलेर बनाइने सेकुवा बेच्न व्यस्त छिन्, सिन्धुपाल्चोककी सरस्वती तामाङ।

टोपबहादुर र सरस्वती त प्रतिनिधि पात्र मात्र हुन्। सहरी क्षेत्रमा उनीहरूजस्ता हजारौं संख्यामा सडकमा ठेला खाजा पसलेहरू छन्। जो सडकमै व्यापार गरेर जीवन निर्वाह गरिरहेका छन्। उनीहरूले व्यापार गर्ने ठाउँ र ग्राहक पनि नियमितजस्तै छन्।

स्युचाटारकी ममता तामाङ कलंकी छेउमै पार्लरमा काम गर्छिन्। उनी सरस्वती श्रेष्ठले बनाउने ठेला पसलको ममको पारखी हुन्। उनी भन्छिन्, ‘छिटो, मीठो र सस्तो पनि। म त नियमित खाजा यहीँ आएर खान्छु।’

पहिले गाडीमा लोड अनलोडको काम गरेर गुजारा चलाउने टोपबहादुर श्रेष्ठ आठ वर्षअघि ठेलाको व्यापारमा आएका हुन्। परिवार पाल्नकै लागि उनले कहिले ग्यारेजमा त कहिले मजदुरीको कामसमेत गरे। तर, सजिलो तरिकाले पैसा कमाउन सकेनन्। अहिले ठेला पसलको खाजाघर उनलाई सहज लागेको छ।

भूकम्पले गाउँको घर भत्काएपछि छोराछोरी लिएर सरस्वती काठमाडांै आएकी हुन्। उनको ठेला पसलमा टिकट काउन्टरका कर्मचारी, बस तथा माइक्रोका चालक, खलाँसी र त्यहीँ वरपर बस्ने विद्यार्थी नियमित ग्राहक हुन्। प्लास्टिक प्लेटमा सिन्काले गोबेर सेकुवा खाँदै गरेका भोटेबहालकै सगुन महर्जन त्यहाँ भेटिए। साँझको समयमा उनी कहिले साथीभाइसँग त कहिले श्रीमतीसँग खाजा खान झुल्किन्छन्। उनी भन्छन्, ‘यो दिदीले बनाएको सेकुवा करिब दुई वर्षदेखि खाइरहेको छु। अत्यन्तै मीठो लाग्छ।’ उनको ठेलामा एक सिल सेकुवाको एक सय रुपैयाँ पर्छ। उनीकहाँ दैनिक करिब २ केजी बफको मासुको सेकुवा बिक्छ। मटन र चिकेनभन्दा बफ नै बढी खोजिने उनले बताइन्।

नगर प्रहरी र व्यापारीको लुकामारी

पहिलेपहिले दैनिक एक सय प्लेट मम बेच्ने श्रेष्ठ अचेल ६०÷७० प्लेट मात्र बेच्न पाउँछन्। काठमाडांै नगरपालिकाका नगर प्रहरीबाट पटकपटक उनले दु:ख पाउने गरेका छन्। नगरपालिकाले सडकमा व्यापार गर्न नपाउने भन्दै कहिले जरिवाना तिराउने त कहिले सबै सामग्री नै जफत गर्छ। तर पनि उनीहरू सडकमै ठेला राख्न छाड्दैनन्। श्रेष्ठ भन्छन्, ‘सटरमा व्यापार चलाउन हाम्रो कमाइले पुग्दैन, भाडा महँगो छ। छोराछोरी पढाउनै पर्‍यो, परिवार पाल्नै पर्‍यो।’

अन्य होटलहरूमा दुई सय रुपैयाँ पर्ने मम उनीकहाँ ५० रुपैयाँमै पाइन्छ। ‘महँगा होटलहरूमा खान पैसा नहुनेहरू कहाँ खाने त ? ’, उनी प्रश्न गर्छन्। उनका धेरैजसो ग्राहक भरिया, सडक मजदुर र बटुवाहरू हुन्। बेच्दाबेच्दै धेरैपटक उनी आफ्ना सामान पोको पारेर भाग्नु परेको छ। उनी भन्छन्, ‘हामीजस्ता गरिबको गरिखाने सामान उठाएर नगरपालिकाले किन दु:ख दिएको होला।’ अहिलेसम्म उनका दुईवटा ग्यासको सिलिन्डर, बस्ने मुढा र बेन्ची तथा मम पकाउने भाँडा पनि नगर प्रहरीले लगिसकेको छ।

सरस्वतीले पनि नगरपालिकाको सास्ती निकै बेहोर्नु परेको छ। पकाउँदा पकाउँदैको खानेकुरा खोसेर भुइँभरि पारिदिन्छन्। उनको त्रिपाल र ग्यास पनि नगरपालिकाको गाडीमा पुगेको छ। ‘सरकारले हामी गरिबलाई पनि हेर्नुपर्छ। हामी माग्न गएका त छैनौं नि’, उनी भन्छिन्, ‘आफूले जानेको काम गर्न किन नपाउने ? नेताहरू जे मन लाग्छ त्यही गर्ने तर हामी जनताले काम गरेर खान पनि नपाउने ? ’

नगरपालिकाले सडक व्यापारीलाई शनिबार साँझ ५ बजेदेखि सडकमा व्यापार गर्न पाउने अनुमति दिएको छ। तर, अन्य बार भने साँझ ७ बजेपछि मात्र पाइने नियम छ। व्यापारीहरू निश्चित समयअघि नै सडकमा आउने हुनाले समस्या परिरहन्छ। सडकमा राखिएका घुम्ती पसलले बाटो हिँड्ने पैदल यात्रुलाई अप्ठ्यारो पार्छ। बाटै मिचेर बिक्री सामग्री राखिदिँदा सडक अस्तव्यस्त र भद्रगोल हुन्छ। त्यसैले पनि नगरपालिकाले सडक व्यापारीका लागि निश्चित समय छुट्याएको हो।

सडकमा व्यापार गरेर जीवन चलाउनेलाई नगरपालिकाले मात्र होइन, बर्खामा पानीले पनि आपत् पार्छ। पानी आएको बेला ठेला जोगाउनै हम्मेहम्मे पर्छ। श्रेष्ठले ठेलामाथि त्रिपाल लगाएका छन् भने तामाङको ठेला खुला छ। पानी पर्न थालेपछि उनी प्लास्टिकले ठेला छोप्छिन्। उनी खुइय्य सुस्केरा हाल्दै भन्छिन्, ‘सहरका मानिसमा अलिकति पनि दयामाया छैन। छिटो, मीठो, सस्तो ख्वायो। तर, चिप्लिएर लड्दा पनि रमिता हेरेर बस्छन्। गरेर खान दु:ख छ बाबै।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.