कोठा नं. ३१
स्नातक तह पहिलो वर्ष पढ्दाको पहिलो दिन थियो त्यो। नयाँ कलेज, नयाँ ठाउँ, अपरिचित साथी, म अलि नर्भस थिएँ। तर ब्याचलर पढ्न पाउने खुसीले ‘एक्साइटेड’ थिएँ। बिहानै उठेर क्याम्पस लागेँ।
प्रदर्शनीमार्ग प्राय: पुगिरहने ठाउँ। अरू बेला साथीहरूसँग घन्टौं गफ गरेर त्यतै बसिन्थ्यो। कसैसँग भेट्नुपर्दा त्यतै भेटिन्थ्यो। आरआर क्याम्पस वरपरको वातावरणमा पूरै भिजिसकेकी थिएँ। तर, क्याम्पस नै पढ्न गएको दिन भने मलाई एकदमै नयाँ कहिल्यै नपुगेको ठाउँमा पुगेजस्तो लागिरहेको थियो।
धेरै उत्सुकता, अलिअलि डर, अनि उत्साह बोकेर आरआर क्याम्पसको गेटभित्र छिरेँ। क्याम्पसको गेटभित्र पस्नेबित्तिकै सुरुमै विद्यार्थी संगठनका नाराहरूमा आँखा ठोक्कियो। शैक्षिक संस्थाभन्दा कुनै पार्टी कार्यालयजस्तो पो लाग्यो। नारा, नेताका ठूल्ठूला तस्बिरहरू, ब्यानर, झन्डा जताजतै। यी सबैले मलाई सुरुमै खल्लो बनायो।
क्याम्पसको आँगनमा अनियन्त्रित ढंगले पार्क गरिएका थिए, मोटरबाइकहरू। केही केटाहरू त्यही मोटरसाइकलमाथि बसेर, कोही प्रशासनिक काम हुने झ्यालपट्टि पिठ्यूँ फर्काएर गफ चुट्दै थिए। कोही गलल्ल हाँस्दै थिए।
रङ खुइलिएको पुरानो भवन। कतै खस्नै लागेका झ्यालहरू। कतै सिसैसिसाको टुक्रा। ह्वास्स गन्हाउने ट्वाइलेट। क्याम्पस भन्न १० पटक सोच्नुपर्ने। पहिलो पाइलामै झस्किएँ म।
म कक्षाकोठा खोज्दै भित्र पसैं। रङ खुइलिएको पुरानो भवन। कतै खस्नै लागेका झ्यालहरू। कतै सिसैसिसाको टुक्रा। ह्वास्स गन्हाउने ट्वाइलेट। क्याम्पस भन्न १० पटक सोच्नुपर्ने। पहिलो पाइलामै म झस्किएँ। यस्तो लाग्थ्यो, म काठमाडौंको मुटुमा रहेको क्याम्पसमा होइन, युगौं पुरानो कुनै जीर्ण क्याम्पसमा पसेकी छु।
कक्षाकोठाबाहिर ठूलो स्वरमा हल्ला गरिरहेकामध्ये एकजनालाई सोधेँ, ‘फस्ट इयरको पोल्टिकल साइन्स कहाँ पढाइ हुन्छ ? ’ उसले थाहा नभएको उत्तर दियो। त्यसपछि अरू दुईतीन जनालाई सोधँे। कसैले थाहा छ भनेनन्। पढाइ भइरहेको कक्षामा पनि गएर साधँे। कतै भेटिएन। एकछिन ट्वाल्ल परेर बसिरहेँ। त्यसपछि सरासर फेरि गेटमा बस्ने दाइलाई सोधेँ। उसले जानकारी दियो, ‘बी ब्लकको ३१ नं. कोठा।’
कक्षा कोठा खोज्दै जाँदा सुनसान अवस्थामा भेटियो। कोही नभेटेपछि बाहिरिएँ। एकजनालाई फेरि सोधेँ। उनीबाट थाहा पाएँ, खाजा खाने बेला भएको रहेछ। त्यसपछि फेरि अर्थशास्त्रको कक्षाकोठा खोज्न दौडिएँ।
राजनीतिशास्त्रको जस्तो कक्षा खोज्न गाह्रो भएन। सजिलै भेटियो। तर, त्यो कोठामा पनि शिक्षक थिएनन्। विद्यार्थी साथीहरू कानै खाने गरी हल्ला गरिरहेका थिए। शिक्षक नआउन्जेल कक्षा कोठा बाहिरै बसेँ।
ब्रेक सकिएपछि अर्थशास्त्र पढाउन साठी क्रस गर्नुभएकी म्याम आउनुभयो। आँखामा थियो, ठूलो पावरवाला चस्मा। उहाँलाई देख्नेबित्तिकै कक्षाकोठामा गएर शिष्टाचारपूर्वक ‘गुड मर्निङ म्याम’ भने। केही उत्तर आएन। प्लस टु पढ्दा त्यस्तो हुँदैन थियो। शिक्षकले मुखैले गुड मर्निङ नभने पनि हातको इसाराले ‘बस’ भन्नुभयो। ठूलो क्याम्पसमा यस्तै हुन्छ कि जस्तो लाग्यो। म्यामको केही प्रतिक्रिया नआएपछि वरपर हेर्दा थाहा पाएँ, गुड मर्निङ भन्दै उठ्ने म एक्लै रहेछु। अरू मलाई हेर्दै हाँसिरहेका थिए।
म्यामले पढाउन सुरु गर्नुभयो। म्यामको स्वरको आयतन यति सानो थियो कि कक्षाकोठाको हल्लाले क्वाप्पै निल्थ्यो। अगाडिका तीन बेन्चमा बस्नेबाहेक अरूले केही सुनेका थिएनन्। सुन्न खोजेका पनि थिएनन्।
म्याम एकोहोरो पठाउन थाल्नुभयो। कुनै प्रश्न, प्रतिप्रश्न, जिज्ञासाबिना उहाँले पढाउने समय सकिन लाग्यो। १० मिनेट बाँकी रहँदै म्यामले पावरवाला चस्मा मिलाउँदै एकपटक हामीलाई हेर्नुभयो अनि क्लासबाट बाहिरिनुभयो। सायद उहाँ निस्केको अघिल्ला तीन बेन्चमा बस्नेले मात्रै थाहा पायौं। अरूलाई म्याम आएको गएकोसँग कुनै सरोकार थिएन।
त्यसपछिको पिरियड थियो, अंग्रेजीको। तर, अंग्रेजी पढाउने शिक्षक आउनुभएन। क्लास नहुने खबर आयो। त्यो खबरसँगै त्यस दिनको सबै क्लास सकिएको थियो। त्यसपछि म क्याम्पसबाट निस्किएँ। गेट छेउमा पुग्दा फरक्क फर्केर हेरेँ। पहिलो दिनको पढाइ अनि क्याम्पसको हविगत देखेर गेटमा उभिएर एक्लै हासेँ।
क्याम्पसमा जुन उत्साहका साथ पसेकी थिएँ, फर्किंदा ममाथि धोका भएको थियो। पहिलो दिन मैले केही पनि नयाँ कुरा सिकिनँ, जानिनँ। दिमागमा मात्र आइरह्यो, बी ब्लकको ३१ नं. कोठा अनि म्यामको पावरवाला चस्मा।