कोरस नाच्ने सुकुम्बासी बस्ती
त्रिपुरेश्वरनजिकै बाग्मती किनारको सुकुमबासी बस्तीबाट एक हूल किशोरी सफाचट भएर बाहिरिए । तर, बस्तीको खास दृश्य अर्कै छ । बाग्मती किनारको एउटा बस्तीलाई कहिले बाढीले तर्साउँछ, कहिले सरकारले । त्रासैत्रासमा करिब २५ वर्षदेखि अस्तित्वमा छ एउटा बस्ती । सहरको किनारामा, नदीको किनारामा ।
काठमाडौं त्रिपुरेश्वर नजिकै बाग्मती किनारको यो सुकुमबासी बस्तीलाई वंशीघाट पनि भनिन्छ । असार अन्तिमको बाढीले बस्तीलाई बिहानै जगाएको थियो । एक सय ७३ घरधुरी भएको बस्तीका प्रायः सबै परिवार त्रसित थिए । बस्तीमा पसेको बाग्मतीको भेल कतै घुँडासम्म, कतै कम्मरसम्म आइपुगेको थियो । बूढाबूढीहरू डिलमाथि उक्लिएर भेल हेर्दै थिए । युवा तथा वयस्कहरू घर भित्रबाट सामान बाहिर निकाल्दै थिए । साना नानीहरू लुगलुग काम्दै छेउमा उभिइरहेका थिए । केटाकेटीहरू बाग्मतीको उर्लिंदो भेल हेर्दै थिए ।
कोरस जिन्दगी
दोस्रो दिन बिहानै सुकुमबासी बस्ती पुग्दा हिजो देखिएका एक हूल किशोरी त्यसैगरी बस्तीबाट बाहिरिन तयार थिए । करिब १० जनाको हूल बाँधेर दिनहुँ बस्तीबाट बाहिरिने उनीहरू खासमा म्युजिक भिडियोमा कोरस नाच्न जाँदा रहेछन् । बस्तीमा आइपर्ने ससाना विपत्को वास्तै नगरी उनीहरू वर्षौंदेखि कोरस नाच्न गइरहेका छन् ।
बस्ती आफैं सहरको कोरसमा छ । सहरले आफूलाई मोडल र किनारको सुकुमबासी बस्तीलाई कोरस ठान्छ सधैं । त्यही बस्तीका २० भन्दा बढी युवा कलेज धाउने उमेरमा कोरस नाच्न गइरहेका छन् । बस्तीबाट कोरस नाच्न जाने उनीहरू पहिलो पुस्ता होइनन् । त्यसअघि उनीहरूका काकी, माइजू पनि बस्ती छोडेर कोरस नाच्न ‘सहर’ गइरहन्थे । त्यसपछि दिदीहरू गए । भाउजूहरू गए । आज यी किशोरीहरू जाँदैछन् । एउटा सिंगो बस्ती वर्षौंदेखि कोरस नाचिरहेको छ । मानौं, यो सुकुमबासी बस्तीले कोरस कलाकार मात्र जन्माउँछ ।
२२ वर्षीया रसु बलामीलाई ‘कोरस’ होइन, क्यामेराको ‘फ्रन्ट’मै आउन मन लाग्छ । तर, त्यो ‘फ्रन्ट’ उनीहरूको सपना मात्रै बनेको छ । रसु भन्छिन्, ‘म्युजिक भिडियोमा अगाडि देखिने रहर कसको नहोला र ! तर के गर्नु, म्युजिक फिल्डमा हामीले चिनेजानेको कोही छैन ।’
१२ कक्षा पास गरेपछि रसुको पढाइ रोकियो । प्लस टु पढ्दै गर्दा उनी बेलाबेलामा कोरस नाच्न जान्थिन् । १२ पास गरेपछि स्नातक तह पढ्न पाइनन् । कलेज धाउने पाइला कोरस डान्सतिर मोडियो । दुई वर्षदेखि निरन्तर म्युजिक भिडियोमा कोरस नाच्दै छिन् रसु । सुरुसुरुमा एउटा गीतमा नाचेको ६ सय रुपैयाँ पाउँथिन् उनी । अहिले नौ सय कमाउँछिन् । त्यसरी कमाएको पैसा आमालाई दिन्छिन् रसु । त्यही पैसाले घरमा नुन–तेल चलाउँछिन् आमा । रसु केही पैसा आफैंसँग पनि राख्छिन् ।
भर्खरै आएको बाढीले त्रिपुरेश्वरको सुकुमबासी बस्तीमा ठूलो भेल पसेको थियो । तर, बाढीको वास्तै नगरी एक हूल किशोरी म्युजिक भिडियोमा कोरस नाच्न बस्तीबाट बाहिरिँदै थिए ।
२२ वर्षीया सुमी गिरी यसै बस्तीमा जन्मिइन् । बाग्मतीको किनारासँग खेल्दै हुर्किइन् । उनी सानैदेखि नाच्थिन् । १२ कक्षा पास गरेपछि सुमीको पढाइ रोकियो । उनी अघिका दिदीहरूको सिको गर्दै उनी पनि कोरस नाच्न थालिन् । दुई वर्षको अवधिमा सयौं म्युजिक भिडियोमा नाचिसकिन् । कति भिडियो त आफू नदेखिईकनै सकिन्थ्यो । भन्छिन्, ‘सुरुसुरुमा किनै क्युरिसिटी हुन्थ्यो । अहिले त मतलब नै हुँदैन । कति नाचियो कति !’ उनको एउटा सपना छ, मोडल बन्ने । तर कसरी ? आफैंलाई प्रश्न गर्छिन्, ‘यो क्षेत्रमा कला मात्रै भएर नहुँदो रहेछ । आफ्नो मान्छे पनि चाहिँदो रहेछ ।’
उनीहरू तीज र दसैंतिहार वरपर निकै व्यस्त हुन्छन् । त्यस बेला महिनाको तीसै दिन म्युजिक भिडियोमा कोरस नाच्न जान्छन् । अरू महिनाको १५ दिन जति बित्छ सुटिङ स्थलमा । महिनाभरि नै काम भयो भने करिब २० हजार रुपैयाँ कमाउँछन् । अरू बेला मासिक १०÷१२ हजार रुपैयाँ कमाइ हुन्छ ।
उनीहरू मेहनतको फल सधैं पाउँदैनन् । कहिलेकाहीँ ठगिन्छन् पनि । बस्तीमै जन्मिएकी १८ वर्षीया अरुणा भुजेल भन्छिन्, ‘कतिले दिनभरि नचाउँछन् । साँझमा पैसै नदिई जान्छन् । पछि फोन गर्नु भन्छन् । केही दिनपछि फोन नै अफ गरेर भाग्छन् ।’
१८ वर्षीया सुस्मिता गुरुङ पनि विगत एक वर्षदेखि म्युजिक भिडियोमा कोरस नाच्दैछिन् । ११ कक्षा पढ्दै गरेकी उनले अहिलेसम्म दर्जनौं म्युजिक भिडियोमा नृत्य गरिसकिन् । कमाएको पैसा उनी आमाबुवालाई दिन्छिन् । कलेजको शुल्क कोरस नाचेको पैसाबाटै जोहो गर्छिन् । भन्छिन्, ‘कलेजमा तिर्नुपर्ने फी, युनिफर्म र किताबका लागि ममीड्याडीलाई भन्नु परेको छैन ।’
बस्तीमै हुर्किएकी १७ वर्षीया अनुषा विश्वकर्माका बुवा डकर्मी काम गर्छन् । उनलाई पढाउन बुवाआमालाई धौधौ थियो । अनुषाले कोरस नाच्न थालेपछि घरखर्चको तनाव हट्यो । ११ कक्षा पढ्दै गरेकी अनुषा भन्छिन्, ‘कोरस नाचेर आएको पैसाले पढाइखर्च पुग्छ ।’
१८ वर्षीया अप्सरा तामाङ र १७ वर्षीय सन्तोष मोक्तान पनि कोरस नाच्छन् । उनीहरू दुवै दुई वर्षदेखि कोरस नाच्दै आएका छन् । ११ कक्षा पढ्दै गरेकी अप्सरा पढ्ने खर्च आफैं जुटाउँछिन् । स्नातक तह पढ्दै गरेका सन्तोष आफ्नो कमाइ आमालाई दिन्छन् । बाढीले घर भत्काएपछि घर बनाउन सन्तोषले आमालाई पैसा दिएका छन् ।
बुगीवुगीमा टप–३ मा पुगेका सरोज मोक्तान साइनोले सन्तोषका दाइ हुन् । सन्तोषकी आमा ललिता लामा भन्छिन्, ‘यिनीहरू एउटै आँगनमा हुर्किए । म नै यिनीहरूलाई कोरस नाच्न लैजान्थेँ । सन्तोषभन्दा अघि सरोज कोरसमा नाच्थ्यो ।’ सरोजको ठाउँमा अहिले सन्तोष नाच्न थालेका छन् ।
कहिलेसम्म कोरसमै ?
एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेको छ, कोरस नृत्य । कहिलेसम्म चलिरहन्छ यो चक्र ? कसैलाई थाहा छैन । उनीहरू पनि आफ्ना भविष्यबारे अनभिज्ञ छन् । कोही नाच्दानाच्दै बिहे गरेर बाहिर जान्छन् । दिदी बिहे गरेर गएपछि उसको ठाउँमा बहिनी नाच्न आइपुग्छिन् । बिहे गरेर पनि नाच्न आउनेहरू छन् । ललिता भन्छिन्, ‘बिहे गरेर गए पनि कतिजना त फेरि नाच्न आइपुग्छन् ।’
यो बस्तीबाट अहिलेसम्म कुनै पनि कलाकार मूलधारमा पुग्न सकेका छैनन् । भिडियोमा खाली ठाउँ भर्ने ‘फिलर’ मात्रै भएका छन् उनीहरू । तर, सरोज मोक्तान बुगीवुगीको टप–३ मा पुगेपछि बस्तीमा रौनकता थपिएको छ । खुसियाली आएको छ । उनीहरू उत्साहित पनि बनेका छन् ।
‘कोरस मात्रै कति नाच्नु, मोडल नै बन्न मन लाग्छ नि । तर, कसरी बन्नु खै !’, रसु भन्छिन् । रसु सबै मोडललाई राम्रोसँग नाच्न नआउने बताउँछिन् । कतिपय मोडल उनीहरूभन्दा पनि नराम्रो नाच्छन् । त्यस्ता मोडलका कारण धेरैपटक ‘टेक लिनु’ पर्दा रिस उठ्ने बताउँछिन् रसु । भन्छिन्, ‘कति मान्छे त पैसा तिरेरै मोडल बन्छन् । कतिपय गायकको आफ्नो मान्छेलाई मोडल बनाइन्छ ।’
उनीहरू धेरैपटक भोकभोकै नाचेका छन् । नाच्दानाच्दै बिरामी पनि भएका छन् । रक्ताम्मे हुने गरी खुट्टा फुटेका छन् कतिपटक । जति नाचे पनि मोडल बन्न निकै गाह्रो हुने बताउँछन् उनीहरू । कला र क्षमताका आधारमा भन्दा चिनजान र पहुँचबाट मोडल बनिने उनीहरूको निष्कर्ष छ । सुमी भन्छिन्, ‘हामीभन्दा नराम्री, नाच्न पनि नजान्ने मान्छे मोडल बनेको देख्दा रिस उठ्छ ।’
पार्टीले सिकायो
सहरले नगनेको, सहरले नचिनेको बस्तीको त्यति बेला महत्व बढ्छ, जब देशलाई चुनाव लाग्छ । चुनावसँगै बस्तीमा बाक्लै फर्फराउन थाल्छन् विभिन्न पार्टीका झन्डा । आँगनैभरि छरिएका हुन्छन्, पर्चा र पार्टीका घोषणापत्र । नेताहरूको एउटै प्रतिबद्धता हुन्छ— बस्ती स्थायी गराउँछौं । तपाईंहरू नडराउनुस् । हामीलाई भोट दिनुस् ।
त्यसपछि चुनावी सभामा नचाउन कलाकार त्यही बस्तीबाट लगिन्छ । स्कुलका किताब थन्क्याएर उनीहरू टाढाटाढासम्म चुनावी गीतमा नाच्न पुग्छन् । केहीले धेरथोर खर्च पनि दिन्छन् । चुनाव सकिएपछि चाहिँ उस्तै हुन्छ बस्तीको रंग, जस्तो पहिलो थियो । उस्तै हुन्छ कलाकारको अनुहारको रंग, जस्तो पहिले थियो ।
रसु भन्छिन्, ‘धेरै पार्टीको चुनावमा नाच्न गइयो तर कसैले पनि केही गरेनन् ।’