अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन: दिपेश र प्रिन्स फाइनलमा
काठमाडौं: विभागीय टोली एपीएफ क्लबका दिपेश धामी र सिल्क किचेनका प्रिन्स दाहालले राजधानीमा जारी अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ । शुक्रबार भएको सेमिफाइनल खेलमा जित हात पार्दै दिपेश र प्रिन्सले फाइनलमा भेट पक्का गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशी शीर्ष वरीयताका खेलाडी मोहम्मद सलमान खानलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै दिपेशले अन्तिम दुईमा स्थान सुरक्षित गरेका हुन् ।
पुरुष युगल र मिक्स युगलतर्फ पनि फाइनलमा पुगेका नेपालका दोस्रो वरीयताका खेलाडी दिपेशले आफ्नो सफलतामा खुसी व्यक्त गरे । ‘आज सोचेभन्दा राम्रो खेल भयो । बंगलादेशी पहिलो वरीयताका खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेको छु । धेरै नै खुसी लागेको छ’, अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा दिपेशले भने, ‘अब उपाधिका लागि फाइनलमा पनि यस्तै सशक्त प्रदर्शनको प्रयास गर्नेछु ।’
सिल्क किचेनका प्रिन्सले भने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–१४, २१–१६ को सोझो सेटमा पराजित गर्दै फाइनलमा दिपेशसँगको भेट पक्का गरेका हुन् । जारी प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै आएका प्रिन्सले पनि आफ्नो सफलतामा खुसी व्यक्त गरे । ‘फाइनलमा पुग्दा निकै खुसी लागेको छ’, प्रिन्सले भने, ‘अब फाइनलमा पनि राम्रो गर्ने प्रयास गर्नेछु ।’
महिला एकलतर्फ भने १४ वर्षीया रसिला महर्जन फाइनलमा पुगेकी छन् । त्रिभुवन आर्मी क्लबकी रसिलाले शुक्रबार नै भएको सेमिफाइनल खेलमा नेपालकी पहिलो वरीयता प्राप्त खेलाडी नङ्सल तामाङलाई २१–११, २४–२२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।
आफ्नै क्लबकी सिनियर खेलाडीलाई पराजित गर्दै फाइनलमा पुगेपछि रसिला निकै खुसी देखिइन् । ‘आजको खेलमा सट्हरू राम्रो भयो । खेल कुनै पनि बेला नेगेटिभ भएन’, रसिलाले भनिन्, ‘त्यसमाथि आफ्नै क्लबकी सिनियर दिदीलाई पराजित गरेर फाइनल पुग्दा निकै खुसी लागेको छ । फाइनलमा अझ राम्रो प्रदर्शनको प्रयास गर्नेछु ।’
रसिलाले शनिबार हुने फाइनलमा उपाधिका लागि पाकिस्तानकी सेहजाद माहुरसँग प्रतिस्पर्धा गर्नेछिन् । सेहजाद भने त्रिभुवन आर्मी क्लबकी अमिता गिरीलाई २१–११, २१–९ को सेटमा पराजित गर्दै फाइनलमा पुगेकी हुन् । सेहजादले पनि आफ्नो फाइनल यात्रामा खुसी व्यक्त गरिन् । ‘फाइनलमा पुग्नु खुसीको कुरा हो । फाइनलमा अझ सुधारिएको प्रदर्शन गर्नेछु’, सेहजादले भनिन् ।