बेहाल पुस्तकालय
भूकम्पछि सहरका मुख्य अध्ययन-थलो नै थलिएका छन्
काठमाडौं : ढोकाबाट छिर्नेबित्तिकै देब्रेतिर र्याकभरि पुस्तक देखिन्छ। बसेर पढ्नका लागि ढोकाको ठीकअघि टेबल÷कुर्सी छन्। दाहिनेतिर पुस्तक र पाठकको रेखदेख गर्न कर्मचारी बस्छन्। कोठाको भित्ता चर्किएको छ, भित्तामा लगाइएको रङ खुइलिएर उराठलाग्दो देखिन थालेको छ। सिलिङको ठाउँठाउँमा प्वाल परेका छन्। पुस्तक र पत्रपत्रिका जताततै छरिएका देखिन्छन्।
यो दृश्य हो, राष्ट्रिय पुस्तकालयको। ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको राष्ट्रिय पुस्तकालय अहिलेसम्म घाइते छ। ‘ठूलो पानी पर्यो भने पुस्तकालयभित्रै छाता ओढेर बस्नुपर्छ,’ पुस्तकालयका कर्मचारी प्रेमराज अधिकारी भन्छन्, ‘पानीले पुस्तक नष्ट गर्ला भन्ने डर छ।’
भूकम्पपछि राष्ट्रिय पुस्तकालयका धेरै पुस्तक व्यवस्थापनका लागि महेन्द्र भवन, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा राखिएको छ। तीन सय वर्ष पुराना दस्तावेज तथा पुस्तकहरू प्रयोगमा आउन सकेका छैनन्।
नाममा यो राष्ट्रिय पुस्तकालय नै छ, तर यथार्थमा हरिहरभवनस्थित एउटा सानो कोठामा खुम्चिएर रहेको छ। हिजोआज दिनमा मुस्किलले ९÷१० जना पाठक आइपुग्छन् यहाँ। त्यसभन्दा धेरै आए भने बस्ने ठाउँ समेत पुग्दैन। स्कुल÷कलेजका विद्यार्थीले ‘ग्रुप स्टडी’ गरेजस्तो एकै ठाउँमा झुरूप्प बसेर पढ्नुपर्छ। मान्छे आहोरदोहोर गर्ने बाटोमै टेबल कुर्सी राखिएकाले पाठकलाई पुस्तकमा ध्यानस्थ हुन गाह्रो पर्छ। राष्ट्रिय पुस्तकालयमै लोकसेवाको पुस्तक खोजिरहेकी लगनखेल बस्ने शारदा विश्वकर्मा भन्छिन्, ‘खुला र सफा ठाउँ छैन। शान्त छैन। यहाँ बसेर धेरैबेर पढ्नै सकिँदैन।’
राजधानीकै कान्तिपथस्थित केशर पुस्तकालयको अवस्था पनि राष्ट्रिय पुस्तकालयभन्दा खासै फरक छैन। यहाँ पनि साँघुरो ठाउँमा पुस्तकालय चलाउनु परेको छ। भूकम्पपछि बोरामा थन्क्याइएका पुस्तक अहिले र्याकमा मिलाउने क्रम जारी छ। करिडोरमा कुर्सी राखेर पाठकलाई बस्ने बन्दोबस्त गरिएको छ। दैनिक ५० देखि २ सयसम्म पाठक पुस्तकालय आउने गरेको पुस्तकालयका कर्मचारी बताउँछन्।
भूकम्पले थलिएका पुस्तकालयहरूले अझै पनि अध्ययनका लागि सुविधायुक्त वातावरण तयार पार्न सकेका छैनन्। सानो ठाउँमा पुस्तकालयलाई व्यवस्थापन गरिएको छ। भूकम्पले खासै प्रभाव नपरेका पुस्तकालयहरू नियमित सुविधा दिइरहेका छन्। पुस्तकालय जाने पाठकको संख्या पनि बढिरहेको बताउँछन् लाइब्रेरियनहरू। काठमाडौं सार्वजनिक पुस्तकालयका प्रमुख गोविन्दराज दाहाल भन्छन्, ‘पाठकहरू आउने क्रम पहिलेभन्दा बढेको छ। राम्रो सेवा सुविधा दिने हो भने पुस्तकालयमा पाठकको खाँचो हुँदैन।’
अभावले गाँजेका पुस्तकालय
पुस्तकालय भनेको पुस्तकहरूको भण्डार मात्रै होइन, यो अध्ययनको सम्यक् थलो पनि हो। पुस्तकालयमा शान्त, सुन्दर, आकर्षक र खुला वातावरण अपेक्षित हुन्छ। तर काठमाडौं सहरका पुस्तकालयका पठन कक्ष न सुविधासम्पन्न छन्, न त्यहाँको वातावरण नै मनोहारी छ।
मनमोहक वातावरण भएका र राम्रा भनिएका पुस्तकालयको विद्वानहरू प्रशंसा गरिरहन्छन्। ‘डिजाइनिङ अ लाइब्रेरी इन्भ्यारोमेन्ट द्याट प्रमोट लर्निङ’ शीर्षक लेखमा जोयस गट्स र डायन होलिडे लेख्छन्, ‘लाइब्रेरीलाई अध्ययनशील बनाउन त्यहाँको वातावरण, डिजाइन अत्यन्तै सुन्दर हुन जरुरी छ। पाठकलाई घुम्दै पढ्नका लागि खुल्ला ठाउँको व्यवस्था गरिदिनुपर्छ। लाइब्रेरीलाई स्कुले मोडलको बनाउनु हुँदैन।’
पहिले बौद्धिक अभिवृद्धिका लागि पुस्तकालय जाने चलन थियो, अहिले कोर्सबुक र लोकसेवा पढ्न जानेहरू धेरै छन्।
नेडा अब्बासी, रिचार्ड टुकर, केन फिसर र रोबर्ट गेरिटीले ‘लाइब्रेरी स्पेस डिजाइन्ड विथ स्टुडेन्ट’ शीर्षक लेखमा लाइब्रेरीको वातावरणलाई अत्यन्तै महत्व दिएका छन्। उनीहरूले अनुसन्धानबाट पुस्तकालयमा आवश्यक पर्ने सुविधालाई प्रस्तुत गरेका छन्। उनीहरूले भनेका छन्, ‘शान्त वातावरण, सुविधायुक्त फर्निचर, सफा वातावरण र अध्ययन कक्षको सुन्दर आर्किटेक्चर, प्रेरणादायी र ‘कन्सन्ट्रेसन’का लागि अनुकूल वातावरण, ‘एसी’, समूहमा अध्ययन गर्ने र एक्लै अध्यनन गर्नेका लागि छुट्टाछुट्टै हलको आवश्यक पर्छ पुस्तकालयमा। लाइटको व्यवस्था र क्याफेको आवश्यकता पनि उत्तिकै हुन्छ।’
सिंगापुरस्थित बिसान सार्वजनिक पुस्तकालयलाई संसारकै सुन्दर पुस्तकालयको सूचीमा राखिन्छ। सो पुस्तकालयमा एउटा पाठकले लगभग अढाइ घण्टा बिताउने गरेको बिसानले आफ्नो वेबसाइटमा बताएको छ। सीएनएनका लागि राचेल साङ ही हानले १२ जुलाई २०१७ का दिन लेखे, ‘यो लाइब्रेरी एकान्तमा छ, त्यसैले शान्त पनि छ। सिसैसिसाको घरमा भित्र हिँड्दै पढिरहेका मान्छेलाई बाहिरबाटै देखिन्छ। पुस्तकालय एकदमै रंगीन छ, हेर्दै जाउँजाउँ लाग्ने।’ आफूहरूसँग २ लाख ५० हजार पुस्तक रहेको बिसानले वेबसाइटमा उल्लेख गरेको छ।
नेपालमा भने यी अध्ययनले औँल्याएजस्तो वातावरण भएका पुस्तकालयमा छैनन्। पढ्न र लेख्न चुस्त वातावरण बनाउन नसकेको भए पनि काठमाडौंका पुस्तकालयले सामान्य सुविधा भने जसोतसो जुटाएका छन्। सामान्यतयः थोरै पाठक अट्ने गरी केही टेबल÷कुर्सी राखिएको हुन्छ। शौचालय सुविधा प्रायः सबै पुस्तकालयले दिएकै छन्। कुनै कुनै पुस्तकालयमा वाइफाइ सुविधा र कम्प्युटर समेत व्यवस्था छ।
‘पुस्तकालयमा केही हजार पुस्तक छन् र बस्ने ठाउँ दिइएको छ। हुँदै नहुनुभन्दा त यो ठिकै हो तर पर्याप्त हैन,’ विद्यार्थी शारदा विश्वकर्मा भन्छिन्, ‘हाम्रा पुस्तकालयमा दिउँसोभरि बसेर पढ्नै सकिँदैन।’ लाइब्रेरियन भएर झण्डै ३० वर्ष बिताएकी जानकी कर्मचार्य भन्छिन्, ‘उपलब्ध स्रोतसाधनमा पुस्तकालयलाई सुविधायुक्त बनाउने प्रयास भएको छ। तर, अझै पनि पाठकको चाहनाबमोजिम पुस्तकालयको विस्तार हुन सकेको छैन।’ पाठकहरूलाई सेवासुविधा दिन पुस्तकालयहरूले स्रोतसाधनमा ध्यान दिन जरुरी ठान्छिन् उनी।
नेपालमा भएको ठूलोमध्येको पुस्तकालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालय हो। अन्यत्रका पुस्तकालयको तुलनामा यो पुस्तकालय सुविधा सम्पन्न छ। तर भूकम्पले क्षतिग्रस्त बनाएपछि लामो समय पुस्तकालय पूर्णतया सञ्चालित रहन सकेन। अहिले पनि पुस्तक मिलाउने क्रम जारी छ।
त्रिविको पुस्तकालयले विद्यार्थीबाहेक स्वतन्त्र अध्येतालाई धेरै आकर्षित गर्न सकेको छैन। अपर्याप्त सुविधा, पुस्तकालयको प्रचारको ठोस योजना अभाव र अध्येतामैत्री कर्मचारी प्रशासन नभएको अनुभवीहरू बताउँछन्। पञ्चायतकालीन पुस्तक, दस्तावेज, ऐतिहासिक सामाग्री, पत्रपत्रिका र सन्दर्भ पुस्तकका लागि त्रिवि केन्द्रीय पुस्तकालय नै एउटा अनिवार्य थलो रहेको छ। तर अध्येतामैत्री वातावरण नपाएको एक जना शोधकर्ताले सुनाए।
परीक्षा पास गर्न पुस्तकालय
काठमाडौंका अधिकांश सार्वजनिक पुस्तकालयमा युवा विद्यार्थीहरूको राम्रै जमघट देखिन्छ। फरक के छ भने पहिलेपहिले समाज बुझ्न, ज्ञान हासिल गर्न, बौद्धिक अभिवृद्धि गर्न पुस्तकालय जानेहरू बढी हुन्थे। आजभोलि कलेज जाँचको सामाग्री पढ्न वा रोजगारीसम्बन्धी विभिन्न परीक्षा सामाग्री पढ्न जाने विद्यार्थीहरू धेरै भेटिने गरेका छन्।
सुन्धारामा रहेको नेपाल-भारत मैत्री पुस्तकालय, भृकुटीमण्डपमा रहेको काठमाडौं सार्वजनिक पुस्तकालय, त्रिवि केन्द्रीय पुस्तकालय, कमलपोखरीमा रहेको रुसी सांस्कृतिक केन्द्रको पुस्तकालय, महाराजगञ्जमा रहेको अमेरिकी पुस्तकालयमा युवा विद्यार्थीहरूको उपस्थिति राम्रै देखिन्छ। तर उनीहरूमध्ये अधिकांशका हातमा लोक सेवा, शिक्षक सेवा, विदेश अध्ययन, कलेजको कोर्स आदिका पुस्तकहरू हुन्छन्।
‘दिउँसोभरि म यही पुस्तकालयमा बसेर मेडिकल शिक्षाको तयारी गर्छु,’ नेपाल-भारत पुस्तकालयमा भेटिएका मनोजकुमार सिंह भन्छन्, ‘पुस्तकालयका अन्य पुस्तकहरूमा मलाई खासै चासो छैन। कहिलेकाहीँ पत्रिका पढ्छु, त्यति हो।’ जनकपुर घर भई लाजिम्पाट बस्दै आएका सिंह कलेजको पढाइ गाह्रो हुने भएकाले अन्य पुस्तक पढ्नै नभ्याइने बताउँछन्।
सिंह मात्र हैन, पुस्तकालयमा अध्ययन गरिरहेकाहरूमध्ये अधिकांशको हातमा परिक्षाकेन्द्रित पुस्तकहरू नै देखिन्छन्।
राष्ट्रिय पुस्तकालयलमा आउनेहरू धेरैले लोकसेवाकै पुस्तक खोज्ने गरेको प्रेमराज अधिकारी बताउँछन्। ‘हामी लोकसेवाका नयाँ-नयाँ पुस्तकहरू ल्याइरहेका छौँ,’ उनले भने, ‘यहाँ आउनेहरू पनि ढोकाबाट छिर्नेबित्तिकै लोकसेवाको पुस्तक कहाँ छ भनेर सोध्छन्। अरु पुस्तक पढ्नेहरू नगन्य छन्।’
कुनैबेला पुस्तकालय जानु भनेको इतिहास, समाज, दर्शन र जीवनजगत् बुझ्ने उपक्रममा लाग्नु थियो। पुस्तकालयमा बिताएको समय धेरै विद्वान् र नेताका लागि संघर्षमय अवधि हुने गरेको पाइन्छ। कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी आफ्नो समयमा कलेजको पढाइभन्दा पुस्तकालयको अध्ययन धेरै महत्वपूर्ण भएको स्मरण गर्छन्। अस्कल क्याम्पसमा पढ्ने समयमा उनी कलेजमा महिनामा २/३ दिन जान्थे र वसन्तपुरको जुद्ध शमशेरको सालिकछेउ रहेको नेपाल-भारत मैत्री पुस्तकालयमा बाँकी सबै दिन।
१२ वर्षको उमेरदेखि नै मलाई पुस्तकालय पुग्ने लत लागेको थियोः प्रदीप गिरी।
उनी कलेज जान्छु भनेर हरेक दिन त्यही पुस्तकालयमा छिर्थे। ‘कलेजमा त मैले २÷३ दिनजति मात्र हाजिर गरेँ हुँला,’ उनले आफ्नो पुरानो जीवन स्मरण गरे। पछि बनारसमा उनको पुस्तकालय मोहले थप स्वतन्त्रता पायो। ‘नेपालमा हुँदा लुकिछिपी पुस्तकालय पुग्थेँ म, बनारस पुगेपछि त पुस्तकालय जान आजादै भएँ,’ दुई वर्षअघि काँकरभिट्टामा भएको कला साहित्य उत्सवमा गिरीले सुनाएका थिए।
१२ वर्षको उमेरदेखि नै आफूलाई पुस्तकालय पुग्ने लत लागेको उनले चर्चा गरेका थिए, ‘मैले १० कक्षा पास गर्दासम्म गाउँको पुस्तकालयको मद्दतले शरदचन्द्रका सबै कृति, रवीन्द्रनाथ ठाकुरका उल्लेखनीय कृति र प्रेमचन्दका आधाजसो कृति पढिसकेको थिएँ।’
गिरीजस्तो युवा उमेरमा पुस्तकालय धाउनेको संख्या अहिले पनि उल्लेख्य छ। तर पुस्तकालय पुग्ने उद्देश्य फेरिएको छ। गिरी साहित्य, दर्शन, समाज विज्ञानका पुस्तक पढ्न पुस्तकालय जान्थे, अहिलेका धेरै युवाहरू कलेज र लोक सेवा आयोग परीक्षा पास गर्ने गाइडबुकमा घोटिन पुस्तकालय पुग्छन्। कक्षाकोठाका किताबका पर्खाल नाघ्न र अध्ययन दायरा फराकिलो बनाउन पुस्तकालय जाने युवाको संख्या घट्दो छ, घटेकै छ, अनि बेरोजगारी र उपभोक्तामुखी पर्यावरण बढ्दो छ।
प्रविधिको प्रभाव
पुस्तक पढ्ने वातावरण सहज बनेसँगै पुस्तकालय धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ। हिजोआज धेरै पुस्तक ‘सफ्ट कपी’मा उपलब्ध हुन्छन्। मोबाइलमा सयौँ पुस्तक बोकेर हिँड्न सकिन्छ। पुस्तक पढ्न ल्याप्टप, ट्याब्लेट, किन्डलजस्ता सामाग्रीले पनि सहयोग पुर्याइरहेका छन्। गाडीमा हिँड्दा होस् वा कसैको प्रतीक्षामा बस्दा, जहाँसुकै बसेर पढ्न सहज भयो। झोलाभरि पुस्तक बोकेर हिँड्नुपर्ने बाध्यता कम भएको छ।
‘हरेक सामाग्री इन्टरनेटमा पाइन्छ। लाइब्रेरी आउजाउमा किन समय बर्बाद गर्नु ? ’, सामाखुसी बस्दै आएका सञ्जय उप्रेती भन्छन्। उनी केही समयअघिसम्म नियमित पुस्तकालय धाउँथे। काठमाडौंका दुईवटा सार्वजनिक पुस्तकालयमा त सदस्य नै बनेका थिए। हिजोआज उनलाई अध्ययनका लागि मोबाइलकै प्रयोग बढी गर्छन्। कुनै-कुनै पुस्तक बजारमा किन्छन्। आवश्यक पर्दा साथीहरूसँग लेनदेन पनि गर्छन्।
‘प्रविधिले अध्ययनमा धेरै सहज बनाएपछि पुस्तकालय जानुको आवश्यकता घट्दै जानु स्वभाविक हो,’ पूर्वलाइब्रेरियन जानुका कर्माचार्य भन्छिन्, ‘पुस्तकालयले अब सेवा सुविधाहरू थप्नुपर्छ। पाठकलाई आकर्षित गर्ने कार्यक्रमहरू राख्नुपर्छ। जस्तो, पुस्तकालयमा इन्टरनेटलाई एकदमै ‘फास्ट’ बनाउन सक्छौँ।’
पुस्तकालयबाहिर प्रविधिको अत्याधिक विकास हुँदै जाँदा पुस्तकालयलाई पनि दबाब पर्दै जाने कर्माचार्यको बुझाइ छ। उनले भनिन्, ‘पाठकलाई अन्य थुप्रै प्राविधिक सुविधा दिँदै जानुपर्छ, जसले गर्दा उनीहरूलाई पुस्तकालय धाउने आवश्यकता पर्छ। पुस्तकालय आएपछि यहाँ भएका अरु सामग्रीमा पनि उनीहरूको ध्यान खिच्न सकिन्छ।’
यस्तो छ पुस्तकालयको इतिहास
विश्वमै पहिलो खुलेको पुस्तकालय कुन हो ? जवाफ फरक-फरक हुन सक्छन्। झण्डै ५ हजार वर्ष पहिले ३० हजार ‘क्ले ट्याब्लेट्स’ भेटिएको इतिहास छ। मेसोपोटामियामा भेटिएका यिनै ढुंगाको ट्याब्लेटलाई पहिलो पुस्तकालयको रूपमा बुझ्नेहरू छन्। ‘हिस्ट्री म्यागेजिन’को २००१ को नोभेम्बर अंकमा भनिएको छ, ‘सार्वजानिक पुस्तकालय चौथो शताब्दितिर पहिलो पटक देखिएको थियो।
पुस्तकालयका सन्दर्भमा एरिस्टोटल (३८४ ईपू-३२२ ईपू) महत्वपूर्ण मानिन्छन्। उनीको निजी संकलनमा धेरै नै पुस्तक थिए। प्राचीन (एन्सियन्ट) जियोग्राफर स्ट्राबोलाई उधृत गर्दै हिस्ट्री म्यागेजिन भन्छ, ‘एरिस्टोटल नै पहिलो व्यक्ति हुन्, जसले धेरै संख्यामा पुस्तक संकलन गरेका थिए। त्यतिबेला उनले इजिप्टमा राजालाई पुस्तकालय व्यवस्थापन कसरी गर्ने भनेर शिक्षा नै दिएका थिए।’
ईसाको ३०० मा सार्वजनिक पुस्तकालयको राम्रो अभ्यास भएको देखिन्छ। हिस्ट्री म्यागेजिनअनुसार इजिप्टका राजा टोलेमी प्रथम (३०५-२८२ ईपू) पुस्तकालय स्थापना गर्न सक्रिय थिए। उनले त एरिस्टोटलसँग भएका पुस्तकबारे जानकारी राख्नुका साथै विभिन्न राज्यलाई चिठी लेखेर पुस्तक पठाइदिन आग्रह गरेका थिए। टोलेमी प्रथमदेखि टोलेमी तेस्रो (२४६-२२२ ईपू)सम्म आइपुग्दा यो पुस्तकालयमा झण्डै ७ लाख ५० हजार दस्तावेज संकलन भइसकेका थिए। यसलाई ‘ग्रेट लाइब्रेरी अफ अलेक्जेन्द्रिया’ भनेर पनि चिनिन्थ्यो।
ईसाको १६ औँ शताब्दिदेखि १७ औँ शताब्दीसम्म पुस्तकालय खुल्ने क्रम एकदमै तीव्र भयो। विश्वविद्यालयले पुस्तकालय बनाउन थाले। राज्यको सहयोगबाट पुस्तकालय विस्तार हुन थाले। सयौँ वर्षअघि खुलेका धेरै पुस्तकालय राष्ट्रिय पुस्तकालय बनाएर सुरक्षित राखियो। फ्रान्सको राष्ट्रिय पुस्तकालय ‘बिब्लियोथेक्यु नेसनल डि फ्रान्स’ सन् १३६७ मै ‘रोयल लाइब्रेरी’को नाममा चाल्र्स पाँचौले खोलेका थिए।
नेपालमा भने पृथ्वीनारायण शाहले संग्रह गरेका विविध हस्तलिखित सामाग्रीलाई व्यवस्थित गर्न वि.सं १८६९ मा गीर्वाणयुद्धविक्रम शाहले काठमाडौंको वसन्तपुर दरबारमा ‘पुस्तक चिताई तहविल’को स्थापना गरे। यसलाई नेपालको पहिलो पुस्तकालयको रूपमा लिइन्छ। यसै दिनको सम्झनामा वि.स. २०६५ देखि हरेक भदौ १५ गते नेपालमा पुस्तकालय दिवस नै मनाइन्छ।
जंगबहादुर राणाले बेलायतबाट फर्किएपछि नेपालमा दरबार हाइस्कुल र पुस्तकालयको निर्माण गरेको कुरा पुरुषोत्तमशमशेर जबराले आफ्नो पुस्तक ‘ श्री ३ हरूको तथ्यवृत्तान्त भाग-१’ मा बताएका छन्। राणा शासनमा जनतालाई अध्ययनको सुविधा थिएन। १÷२ वटा पुस्तकालय खुल्ने प्रयास भए पनि सफल भएन। शैक्षिक क्रियाकलापप्रति उनीहरू अनुदार थिए।
डा. राजेश गौतमले ‘राणाकालीन नेपालको प्रशानिक, शैक्षिक र सामाजिक सुधारहरू’ नामक पुस्तकमा भनेका छन्, ‘वि.सं. १९८३ मा पाल्पाका केही युवाहरू मिली तानसेनमा एउटा पुस्तकालय स्थापना गरे। उक्त पुस्तकालयलाई ‘पुस्तक पढ्ने दलान’ नामाकरण गरिएको थियो।’ यो पुस्तकालयले एउटा वार्षिकोत्सव मनाएपछि चन्द्रशमशेरले बन्द गराइदिए।
पुस्तकालयको नाममा राणाकालमा ‘पुस्तकालय पर्व’ नै घट्यो। सन् १९३० मा जोगवीर सिंह र अन्य केही युवाले पुस्तकालय खोल्ने योजना बनाए। उनीहरूले सरकारलाई जाहेर गर्न एउटा निवेदन तयार पारे। उनीहरूको सो आवेदन सिंहदरबार पुग्नुअघि नै यसै योजनामा लाग्ने एक व्यक्ति रामचन्द्र अधिकारीले यसको सुइँको भीमशमशेरलाई दिए। योजनामा लाग्ने लक्ष्मीप्रसाद देवकोटा, तुलसीमेहर श्रेष्ठ, सिद्धिचरण श्रेष्ठलगायतलाई राणा शासकले पक्राउ गरे। गौतमले भनेका छन्, ‘समातिएका ४५-४६ जनाले सय-सय रूपैयाँ दण्ड तिरी स्वतन्त्र भए।’
राणा शासनको अन्तिमतिर देशका विभिन्न क्षेत्रमा पुस्तकालय खुल्न थालेका पाइन्छन्। पञ्चायतकालमा पनि सार्वजनिक र सरकारी प्रयासमा थुप्रै पुस्तकालयहरू स्थापना भए। समयक्रमसँगै अहिले हरेक संस्था, निकाय, कार्यालय, स्कुल, कलेज, विश्वविद्यालयमा पुस्तकालय अनिवार्य बन्दै गएको छ।