कर्पोरेट ब्याडमिन्टनको समापन आज
काठमाडौं : विभिन्न १० स्पर्धामा देश र विदेशका गरी चार सय २२ खेलाडीबीच ६ दिनसम्म उपाधिको घम्साघम्सीपछि अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पाँचौं संस्करणले शनिबार बिट मार्दैछ । सेमिफाइनल खेलहरू शुक्रबार नै सकिएका छन् भने प्रतियोगितामा समावेश १० वटै स्पर्धाको फाइनल खेल पनि शनिबार नै हुनेछ ।
फाइनल खेल सकिएपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भव्य समारोहबीच पुरस्कार वितरण र समापन समारोह आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र पूर्वी टिमोरका गरी चार सय २२ जना खेलाडीको सहभागिता रह्यो । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा शुक्रबारसम्म दुई सय ७५ खेल भइसकेका छन् ।
प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्ष मुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा समावेश गरिएको छ । प्रतियोगिताको कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
यसैगरी एक्जुकेटिभ डबल्समा म्यानेजर तहभन्दा मुनिका खेलाडीको सहभागिता रह्यो । जुनियरतर्फ महिला र पुरुष एकलतर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुन पुरस्कार प्रदान गरिनेछ । जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार पाउनेछन् । पुरस्कार राशिमा मात्रै २० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने बताइएको छ ।
यसअघि प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गत जेठ १३ गतेदेखि ६ वटा प्रदेशमा छनोट खेल सञ्चालन गरिएको थियो । छनोट खेलमा सहभागी खेलाडीले पुरुष सिंगल, पुरुष डबल, महिला सिंगल, मिक्स डबल, १९ वर्षमुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगलमा प्रतिस्पर्धा गरेका थिए । प्रदेशस्तरमा सञ्चालित छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले काठमाडौंमा सञ्चालित अन्तिम चरणको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका पाएका हुन् ।
प्रतियोगितालाई रेडबुल, महालक्ष्मी पेन्ट, एलजी स्मार्ट टीभी, शिखर इन्सुरेन्स, सीजी एअर कन्डिसनर, देवः विकास बैंक लिमिटेड, नेबिको विस्कुट, रियल जुस र स्टार हस्पिटलले सहयोग गरेका छन् ।