राजवका कथाको समाजशास्त्र

राजवका कथाको समाजशास्त्र

राजवका अनुसार धेरैको सपनाको संसार बन्दै गएको अमेरिका बाहिरबाट सुन्दा जस्तो छ भित्री यथार्थमा त्यस्तो छैन। सुखको संसार ठानिएको अमेरिकामा उनी दुःखका अनन्त सागरहरू पनि देख्छन्।


अमेरिका जाने सपना ! यो सपना, नेपाली समाजमा पनि धेरैको स्वर्णिम सपना बन्दै गएको छ। सपना देख्नेहरू सोच्दै छन्, ‘अमेरिका भनेकै सर्वसम्पन्नता हो। अमेरिका पुग्नु भनेकै भूस्वर्गमा पुग्नु हो। अमेरिकामा रहनु भनेकै स्वर्गानन्दमा बाँच्नु हो। पैसैपैसा, सुखैसुख, मस्ती नै मस्ती, खुसी नै खुसी। अभाव कुनै कुराको नहुने, जे भन्यो त्यही हुने। जे चाह्यो, त्यही पाइने।’ मानौं, ‘अमेरिका भनेकै जीवनका यावत् दुःखबाट मानिसलाई मुक्ति दिने ठाउँ हो।’

यसरी सपनामा रमाउनेहरूमध्ये कतिपयको निष्कर्ष छ— अमेरिका भनेको संसारकै एकमात्र सुखको संसार पनि हो। तर कथाकार राजव त्यस कुरालाई स्वीकार गर्दैनन्। उनी त्यस्तो बुझाइलाई यथार्थ पनि ठान्दैनन् किनभने उनका कथाको समाजशास्त्र अलि भिन्न छ। उनका अनुसार धेरैको सपनाको संसार बन्दै गएको अमेरिका बाहिरबाट सुन्दा जस्तो छ, भित्री यथार्थमा त्यस्तो छैन। सुखको संसार ठानिएको अमेरिकामा उनी दुःखका अनन्त सागरहरू पनि देख्छन्। आफूले देखेका दुःखका तिनै कुराहरूलाई उनी मार्मिक ढंगले आफ्ना कथाहरूमा उतार्छन्।

अमेरिकी समाज यस्तो छ, जसभित्र छिरेपछि एकैछिन पनि फुर्सद पाउन निकै गाह्रो छ। मानिसलाई त्यस समाजले यति धेरै व्यस्त गराएको छ, विवाह गर्नसमेत बीस मिनेटभन्दा बढीको समय छैन। विवाह गरिसकेपछि दुलही आफ्ना पतिसँग आउनुपर्ने हो तर उसलाई आफ्ना पतिसँगै आउन पनि फुर्सद छैन। ऊ अफिसबाट फुर्सद मिलाएर सात दिनमा पतिको घरमा आउने सर्तमा विवाहस्थलबाटै आफ्नो कामतिर लाग्छे। अमेरिकाको त्यही समाज हो जसले नेपाली आमाबाबु र छोराबुहारी बीचको सम्बन्धलाई समेत बिगारेको छ। त्यस समाजले प्रेमी–प्रेमिकालाई समेत बिछोडमा पारेको छ। कतिलाई प्रेम एउटासँग गर्ने तर ग्रिनकार्डका लागि विवाहचाहिँ अर्कैसँग गर्ने बाध्यतापूर्ण परिस्थितिमा पु¥याएको छ। अमेरिकाको त्यही समाज हो जसले श्रीमान्– श्रीमतीका बीचमा समेत बिछोड गराएको छ। नेपालमा बाबु वा आमाको मृत्यु हुँदा आउन नपाउने छोराहरू पनि त्यही समाजमा छन्। नेपालीहरू जाँघहरूको थ्रेडिङ गर्ने काम गर्नमात्र बाध्य छैनन्, सार्वजनिक ठाउँमा कुकुरको लिँड टिप्ने काम गर्नसमेत बाध्य छन्। नेपाल फर्किन चाहँदा फर्किन नदिने परिस्थितिहरूलाई पीडाका साथ भोग्दै गरेका बाबुहरू पनि त्यस समाजमा छन् भने समयमै नेपाल नफर्किएर भूल गरेको महसुस गराउने समाज पनि त्यहाँ छ। मुस्लिमहरूलाई हेप्ने समाज पनि त्यहाँ छ भने नेपालीलाई अपमानित गर्ने समाज पनि त्यहीँ छ। अमेरिकाको यही समाजलाई उतार्ने काम गरेका छन् कथाकार राजवले आफ्नो नयाँ कथाकृति ‘पाई’मा।

अमेरिका त्यस्तो ठाउँ हो जहाँ काम पनि पाइन्छ र दाम पनि पाइन्छ। तर, त्यो काम र दामभित्र कति दर्दनाक पीडा र कठोर संघर्षहरू लुकेका छन् भन्ने कुरालाई खोतल्ने काम कथाकार राजवले गरेका छन्। अमेरिकी जीवन कति कठोर छ भन्ने कुरा देख्ने र भोग्नेले प्रत्यक्ष अनुभव गर्नसक्छ। अरूले त सुनेर र पढेर अनुभूत गर्ने हो। तर, पढेरै अनुभूत गर्नेका लागि पनि दर्दनाक अनुभव हुन्छ— विशेषगरी नेपालबाट अमेरिका पुगेकाहरूको संघर्षपूर्ण जीवनचक्र।

साहित्यको समाजशास्त्रका बारेमा लामो समयदेखि चर्चा हुँदै आएको छ। उन्नाइसौं शताब्दीमा फ्रान्सेली दार्शनिक अगस्त कोम्तले प्रस्तुत गरेको यो अवधारणा एडोल्फ तेनको ‘प्रतिच्छाया सिद्धान्त’को अतिरिक्त व्याख्यापछि क्रमशः विकसित बन्दै आयो। साहित्यको सिर्जना समाजबाहिर रहेर हुनै नसक्ने निष्कर्षमा लेखकहरू पुगे। यो चिन्तन अहिले लेखकहरूका लागि अझै बढी सरोकारको विषय बन्न पुगेको छ। यस विषयमा अहिले पनि अध्ययन–अनुसन्धानहरू भइरहेका छन्। समाजशास्त्रीय साहित्य वा साहित्यको समाजशास्त्रीय अध्ययनले साहित्य समाजको उत्पत्ति हो, यसले समाजको स्वरूप उतार्छ र साहित्यकार आफैं एउटा सामाजिक प्राणी भएकाले उसले समाजका निम्ति सिर्जना गर्छ भन्ने कुरालाई मूल अवधारणा बनाएको छ। राजवले त्यही अवधारणामा साहित्यलाई सामाजिकताको सिर्जनात्मक उपलब्धिका रूपमा लिएका छन्।

अहिलेसम्म एउटा मान्यताका रूपमा स्वीकार गरिएको कुरा हो— आख्यानको आफ्नै समाजशास्त्र हुन्छ। साधारणतया एउटा राम्रो यथार्थवादी आख्यानकारले जे देख्छ, त्यही लेख्छ। तर, कुरा त्यतिमात्र होइन। जो साँच्चिकै सिर्जनशील आख्यानकार हो, जो वास्तवमै श्रेष्ठ आख्यानकार हो उसले जीवनलाई समेत पुनर्सिर्जित गर्छ। त्यतिमात्र होइन, उसले जगत्को समेत पुनर्सिर्जन गर्छ। समाजका कुनै पनि घटनामा एउटा आख्यानकारले यथार्थलाई कथामा बुन्ने काम मात्र गर्दैन; त्यसलाई आफ्नो कल्पनाशीलताद्वारा नवीनता दिने, आकर्षक ढंगले सिँगार्ने र प्रभावकारी बनाउने काम पनि गर्छ। सिर्जनालाई मर्मस्पर्शी र प्रभावशाली बनाउन आख्यानकारले आफ्ना शिल्पगत क्षमता, सामाजिक ज्ञान र चेतनाको प्रचुर प्रयोग गर्छ र एउटा समाजको निर्माण गर्छ। त्यही नै एउटा आख्यानकारको समाजशास्त्रीय आधार हो। त्यही आधारमा उभिएर कथाकारले आफ्ना कथाको समाजशास्त्रको निर्माण गर्न पुग्छ। राजव आफ्ना कथाहरूमा त्यस्तै एउटा समाजशास्त्रको निर्माण गर्न पुगेका छन्।

कथालेखनमा हिजो सार्वभौम मानक मानिएका कतिपय कुरा आज भत्किइसकेका छन्। हिजोको विचार र मूल्यको सार्वभौम मानक आज छैन। धेरै कुरा परिवर्तनशील रहेको आजको संसारमा सौन्दर्यको मूल्यको सार्वभौम मानक केलाई मान्ने ? राजव सौन्दर्यको परम्परागत मानकलाई स्वीकार गरेर हिँड्न चाहँदैनन्। उनी सौन्दर्यको मूल्यलाई पनि समकालीन सन्दर्भ–परिवेशअनुसार ग्रहण गर्न चाहन्छन्। उनको सिर्जनात्मक मूल्य उनको सिर्जनात्मक शिल्प–सौन्दर्यकै अर्थमा उनका कथाहरूमा प्रकट भएका छन्। परम्परागत सौन्दर्यमूल्यबाट राजव निकै अगाडि बढेका छन्। सामकालिक बोध र सौन्दर्यमूल्यमा उनले गतिशील नवीनतालाई प्रखर अभिव्यक्तिका साथ अँगालेका छन्। नेपाली कथा लेखनमा परम्पराको निरन्तरतालाई स्वीकार गर्दागर्दै पनि राजवले कथालेखनमा सिर्जनात्मक शिल्प र वैचारिक प्रवृत्तिमा नवीनतालाई स्थापित गरेका छन्।

नेपाली कथा लेखनमा यथार्थवादी धारा प्रभावशाली रहँदै आएको छ। यस धारामा धेरै कथाकार जन्मिएका, हुर्किएका र चर्चित बनेका छन्। कतिले नेपाली कथाको आधुनिक काललाई यथार्थवादको युग मानिरहेको अवस्थामा यस समयमा यथार्थवादी कथाकारहरूकै प्रभुत्व रहेको छ। नेपालमा यथार्थवादका तीन धारा— यथार्थवादी वा सामाजिक यथार्थवादी धारा, मनोविज्ञानवादी धारा र प्रगतिवादी धारा अस्तित्वमा रहेको मानिन्छ। सामाजिक यथार्थवादी धारा भनिए पनि यो मूलतः यथार्थवादी धारा नै हो। यसअन्तर्गत पनि जे जस्तो छ त्यस्तै चित्रण गर्ने र जे जस्तो हुनुपर्ने हो, त्यस्तै परिवर्तन वा रूपान्तरणको अपेक्षा गर्ने उपधाराहरू पनि देखिएका छन्। रूपान्तरणको अपेक्षा गर्ने यथार्थको प्रभाव गहिरो हुन्छ, त्यसैले यो धारा आफैंमा सशक्त पनि छ। यस यथार्थले जसरी मानिसको हृदयलाई छुन्छ, त्यसरी कल्पनाले छुँदैन। यही कुरालाई ख्याल गरेर कथाकार राजवले यी कथाहरूको सिर्जना गरेको अनुभव हुन्छ। उनले यथार्थ घटनाहरूलाई नै आफ्ना कथाको विषय बनाउने सिलसिलामा सामाजिक रूपान्तरणको उद्देश्यलाई मात्र मनन नगरेर कथाको सम्प्रेषणीय क्षमताको पक्षलाई समेत महत्व दिएको पाइन्छ। त्यसैले, राजव यस संग्रहमा यथार्थलाई हेर्ने प्रचलित कोणहरूभन्दा भिन्न कोणका साथ प्रस्तुत भएको अनुभव हुन्छ।

‘पाई’का सबै कथा अमेरिकी परिवेशमा आधारित छन्। त्यस परिवेशमा— अमेरिकी समाज छ, त्यस समाजका क्रियाशील चरित्रहरू छन्, विभिन्न देशबाट, विशेषगरी नेपालबाट त्यहाँ पुगेर संघर्ष गरिरहेकाहरूका पीडाहरू छन्, अनेक खालका विकार, विकृति र विसंगतिहरू छन्।

अमेरिकी समाजमा संवेदना हराउँदै गएको छ। आत्मीयता कमजोर बन्दै गएको छ। आपसी विश्वासमा संकट बढ्दै गएको छ। व्यक्ति स्वार्थले शक्ति प्राप्त गरिरहेको छ। पुँजीवादको क्रूर विशेषताको रूपमा उपभोक्तावादले सबैलाई तितरबितर पार्दै गएको छ। राजव त्यही संवेदनाहीन समाजका अनेक रूपहरूलाई सफलतापूर्वक पर्दाफास गर्न पुगेका छन् यस कृतिमा।

रोलाँ बार्थले पेरिसको ‘कम्बाट’ नामको वामपन्थी पत्रिकामार्फत एउटा बहस सुरु गरे। उनले आख्यानको संरचनात्मक विश्लेषणका क्रममा ‘तटस्थता’को कुरा गरे। मार्क्सवादसँग गाँसिएर ब्रेख्तको थिएटरको प्रशंसक रहँदारहँदै र ‘अग्रगमनवाद’को कुरा गर्दागर्दै पनि बार्थले ‘तटस्थता’मा जोड दिए। तर, उनको ‘तटस्थता’ र ‘अग्रगमनवाद’को चर्को आलोचना गरे सात्र्रले। सामाजिक एवं राजनीतिक परिवर्तनलाई लत्याउने ‘अग्रगमन’लाई सात्र्रले अस्वीकार गरे। पाठकले देखेको यथार्थलाई ‘तटस्थता’को नाममा लेखकले लत्याउने कुरा स्वीकार्य नहुने धारणा उनको रह्यो। बार्थले भनेजस्तो ‘तटस्थता’मा कथा लेख्नेहरू पनि छन्। नेपाली साहित्यमै पनि त्यस्ता कथाकारहरू छन्। तर, राजव त्यस खालको तटस्थताको पक्षमा छैनन्। उनी तटस्थताको नाममा यथार्थको अपत्यारिलो र अविश्वसनीय अभिव्यक्तिका विपक्षमा छन्। उनका कथामा समाजको यथार्थ कथाकै समाजशास्त्रअनुसार पुनर्सृजित सौन्दर्य बनेर प्रकट भएको छ। यथार्थको धरातलमा उभिएर अग्रगामी दृष्टिले समाजको पर्यवेक्षण गर्नु उनका लेखनको विशेषता रहेको छ।

राजव परिस्थिति, परिवेश, घटना, व्यक्ति र प्रवृत्तिका राम्रा अध्येता हुन्। उनको त्यो अध्ययन निकै गहिरो छ। उनी कुनै पनि कुराको अध्ययन सूक्ष्म रूपमा गर्छन्। उनी विपन्न, दुःखी र आम सामान्य मानिस र तिनका दुःखप्रति सहानुभूतिशील छन्। दुःखपीडाका अनेक प्रकृतिका स्वरहरूलाई व्यक्त गर्ने कुरामा उनको गतिशीलता विस्तारित छ। उनको त्यो गतिशीलता उनका कथामा प्रगतिशील अभिव्यक्तिका रूपमा प्रकट भएको छ। समाजका अवहेलितहरूको अवस्थाप्रति उनी धेरै संवेदनशील छन्। त्यस्तै कथामा व्यक्तिका दुष्प्रवृत्तिको भण्डाफोर गर्ने काम राजवले गरेका छन्। उनले व्यक्तिका दुराचारलाई पनि उद्घाटित गरेका छन्। समाज वा व्यक्तिको पाखण्ड, आडम्बर र स्वार्थलाई उदांगो बनाउने कुरामा राजव अब्बल छन्। अनैतिक र भ्रष्ट प्रवृत्तिप्रतिको उनको व्यंग्य निकै त्रूmर छ। उनका कथाहरूको व्यंग्यविधानलाई उत्कृष्ट मान्नुपर्छ। सामाजिक एवं कलात्मक मूल्यको उत्खननका दृष्टिले राजवका कथा उत्कृष्ट छन्। उनको आख्यानीकरणमा संरचनात्मक विविधता पाइन्छ।

कथ्यको विशेष शक्ति भावमा हुन्छ। भावपूर्ण प्रस्तुतीकरणमै कथाको प्रभावशालिता निर्भर रहन्छ। राजव कुनै पनि विषयवस्तुको भावपूर्ण प्रस्तुतिमा अद्वितीय रहेका छन्। कथ्यको प्रस्तुतीकरणका क्रममा भाषा र शिल्पपद्धतिको महत्वलाई राजवले अत्यन्तै सचेततापूर्वक स्थान दिएका छन्। कथामा सौन्दर्य बढाउने काम शिल्पपद्धतिले नै गर्ने भएकाले राजवले आफ्नो विशिष्ट शिल्पको प्रयोग यसमा गरेका छन्। चित्रात्मक र नाटकीय शिल्पपद्धतिहरूमा पनि नवीनताको उदाहरण प्रस्तुत गर्ने काम राजवले गरेका छन्।

राजवको कथाकृति ‘पाई’ पाठकलाई कौतूहलमा राख्ने र आफ्नो प्रभावमा पार्ने क्षमताका साथ प्रस्तुत भएको छ। कृतिको शीर्षकदेखि नै पाठकमा कौतूहलता सुरु हुन्छ। संग्रहभित्रका कथाहरू फरकफरक कौतूहलताका साथ पाठकलाई बाँध्ने क्षमता राख्छन्। धेरैले चासो नराखेका तर धेरैको जीवनसँग गाँसिएका सूक्ष्म कुराहरूलाई आफ्ना कथाको विषय बनाएर त्यसलाई बृहत्तर आयतन प्रदान गर्ने विशेषता राजवको कथाकारितामा पाइन्छ। हरेक विषयलाई गहिराइमा गएर बुझ्ने सिर्जनात्मक लत उनमा छ। त्यसैले उनका कथामा पाठकलाई प्रभावित गर्ने शक्ति पनि वास्तवमै शक्तिशाली छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.