डोल्पामा दैनिक १७ घण्टा लोडसेडिङ्ग !
डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा दैनिक १७ घण्टा भन्दा धेरै समय लोडसेडिङ्ग हुने गरेको छ । जैरिगार पावरहाउसबाट उत्पादन हुने विद्युतको कुलोमा लेदो बग्न थालेपछि १३५० घरधुरी दैनिक १७ घण्टा लोडसेडिङ्ग खेपीरहेका छन् ।
एउटा मेसिन पूर्णरुपमा बन्द रहेको छ भने एउटा मात्र मेसिनबाट ७० किलोवाट विद्युत उत्पादन गरी साबिकका सूजुफाल र दुनै गाविसका १३५० घरधुरीलाई विद्युत वितरण गर्दै आएको डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ ।
ठाडो खहरेखेलाबाट मुहान बनाई उत्पादन गरिएको विद्युत प्रभाबकारी नहँुदा ग्राहकहरु मर्कामा रहेका छन् । २०५० साल भन्दा पहिला प्रयोगमा आएका मेसिनहरु हालसम्म एक दर्जन भन्दा धेरैपटक मर्मत गरीसकिएका छन् ।
निकै जीर्ण र पूराना मोडलका मेसिन भएकै कारणले विद्युत उत्पादनमा कमी आएको हो । अब नयाँ मेसिन खरिदका लागि क्षेत्रदेखि केन्द्रसम्म प्रक्रिया अघि बढीसकेका कारण केही समयमा समस्याको समाधान हुने डोल्पा वितरण केन्द्रका प्रमुख ठकुरीले बताए । ‘पानीको बहाब बढ्दो रहेको छ, खोलामा लेदो र बालुवा बगीराखेको छ’, उनले भने,‘मेसिन पूराना छन्, हामी रातदिन सुत्न र खान सम्म पाएका छैनौं।’
हाल उत्पादन भईरहेको ७० किलोवाट विद्युतले सदरमुकाम दुनैको बजार, जुफाल बजार सहित १३५० ग्राहकका साथै एकदर्जन साना उद्योगमा विद्युत आपूर्ती गर्दै आएको छ । नियमित र भरपर्दो पावर नआउने भएका कारण बेकरी उद्योग समेत दैनिक घाटामा गइरहेको हिमालयन बेकरी उद्योग सञ्चालक रोशन हमालले बताए । विद्युत सेवा भरपर्दो बनाउन ब्यावसायीहरुको माग छ ।
हरेक वर्ष बर्षायाममा खोला बढेर समस्या र हिउँदमा बरफ जमेर समस्या भोग्नु पर्ने बाध्यता रहेको छ । विद्युत उत्पादनमा कमी आएपछि कार्यालयका दैनिक काम समेत प्रभावित भएका छन् ।
हरेक बर्ष यस्तै समस्या खेप्नुपर्ने भएकाले कम्तीमा पनि ५ सय किलोवाट विद्युत उत्पादन गरी सेवाप्रबाह गरिदिन अनुरोध गर्दै उर्जा मन्त्रालयमा धाइरहेको ठुलीभेरी नगरपालिका प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनले भने,‘पूराना मेसिन सबै हटाएर नयाँ प्रबिधिका मेसिन स्थापना गरे मात्र समस्याको समाधान हुने भएकाले मन्त्रालयमा सबै कागजातसहित अनुरोध गर्दै पहल गरिरहेका छौं ।’