सिंगो बस्ती जोखिममा (फोटो)
बाजुरा : अबिरल वर्षाका कारण सदरमुकाम नजिकैका दुई घर भत्किएका छन् भने सिंगो बस्ती पहिरोको उच्च जोखिममा परेको छ।
बडिमालिका नगरपालिका वडा नं ८ मा रहेको रावलबाडा, थापाबाडाको पुूरै बस्ती पहिरोको जोखिममा छन्। वर्षाका कारण सोही वडाका प्रकाश थापा र जयबहादुर रावललगायतका आठ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।
जिल्लाको गौमुल गाउँपालिका वडा नं ६ का प्रेम चदाँरा, वीरबहादुर रोकाया, मन चदाँरा, डबल चदाँरा, कर्ण चदाँरा र रगे चदाँराका घर समेत भत्किएको इलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ।
जिल्लाका त्रिवेणी नगरपालिमा पनि दुई घर भत्किएका छन्। पहिरोले भत्किएका घर स्थानीय र प्रहरीको सक्रियतामा उद्दार भइरहेको छ।दिनमा पहिरो आएका कारण मानवीय क्षति भने हुन नपाएको प्रहरीको भनाई छ।जिल्लाका अन्य स्थानीय तहमा पनि पहिरो लगायतका समस्या भएको खबर आएका छन् ।
यसैबीच, वर्षाले साँफे-मार्तडी सडक अवरुद्ध भएकाे छ । दुई दिनदेखि लगातार आएको अविरल वर्षापछि गएको पहिरोका कारण साफें-मार्तडी सडकखण्ड अवरुद्ध बनेको छ।
सडक अवरुद्ध बनेपछि छोटो तथा लामो दुरीका यातायात बन्द भएका छन्। यातायात बन्द भएपछि बाजुराको जनजीवन प्रभावित बनेको छ ।