संख्या होइन, स्तर बढ्नुपर्छ : नारायणगोपालको अन्तर्वार्ता

संख्या होइन, स्तर बढ्नुपर्छ : नारायणगोपालको अन्तर्वार्ता

शरच्चन्द्र वस्तीले नारायणगोपालसँग गरेको अन्तर्वार्ता :


आजको नेपाली संगीतबारे यहाँको केही विचार ? हामीले ‘आधुनिक’ होइन ‘आजको’ भनेका छौं। यी दुई शब्दका बीच कुनै व्याख्यायोग्य अन्तर पाउनुहुन्छ भने त्यो के हुन सक्छ ?

आजको नेपाली संगीतले हिजोको अपेक्षा विकास गरेको छ। आज अपेक्षाकृत नयाँ वाद्यवृन्द, नयाँ तरिका, नयाँ धुन, नयाँ गीत र साहित्य पाइन्छन् तर म यतिमा सन्तुष्ट छैन। यति भएर पनि आजको नेपाली संगीत एक प्रकारले गतिहीन छ, अन्योलमा छ। कलामा जस्तो यही हो भन्न सकिने कुनै खास शैली आजको हाम्रो संगीतमा छैन। कुनै खास नियम, सिद्धान्त वा आवश्यक तत्व नभेटिने भएकाले यी कुराबारे प्रश्न उठ्दा उत्तर दिने खास आधार पाइँदैन। आधुनिक संगीतभन्दा आजको संगीत नयाँ हुन्छ। लोकगीत वा शास्त्रीय संगीत हैन, कुनै एउटा नेपाली प्रतिभाले रचना गरेको मौलिक संगीतलाई म नेपाली संगीत भन्छु। संख्या होइन, स्तर बढ्नुपर्छ। बरु दुइटै मात्र गीत बजुन् तर राम्रो बजुन्।

आजको नेपाली संगीत पश्चिमा र अझ विशेष गरी हिन्दी फिल्मको संगीतले बढी प्रभावित हुन थालेको कुरा सुनिन्छ। यस सम्बन्धमा यहाँको के भनाइ छ ?

पश्चिमा संगीतलाई हाम्रा कैयौं संगीतकारले बुझेकै छैनन्। उताको नियम, तरीका र सूक्ष्मताको प्रयोग कसैले गर्न सकेको छैन। एक–दुईजना नक्कल गर्न चाहन्छन्, तर सक्दैनन्। न यता न उताको अधकल्चो संगीत तयार गर्छन्। पूरापूर नक्कल गरेर नेपालीमा प्रयोग गर्न सके त बरु बेसै हुन्थ्यो। बाजा पश्चिमा हुन्छन् तर हामी यसरी बजाउँछौं— त्यसलाई पश्चिमा भन्नै सकिन्न।

रह्यो, हिन्दी फिल्मका संगीतको कुरा। संगीत मात्र हैन, नेपालका प्रायः सबै कुरा भारतीय विषयवस्तुबाट प्रभावित छन्। दुवै देशको सभ्यता, चालचलन, सोचाइ, धर्म, संस्कृति आदि कुरामा यति समानता छ; अरू कुरा त्यसै–त्यसै प्रभावित भइहाल्छन्, परस्परमा। हिन्दी वा नेपाली कतिपय गीतमा एउटा भाषाको सट्टा अर्को भाषाका शब्द राखिदिने हो भने अर्कै भाषाको गीत जस्तो सुनिन्छ। तर, सिकारु नेपाली संगीतकारहरूमा हिन्दी फिल्मका संगीतको निकै प्रभाव भए पनि स्तरीय र पुराना संगीतकारहरू प्रभावमुक्त छन्।

पश्चिमा वाद्यवृन्दबिना नै आफ्नै मौलिक संगीतको रचना हुन सक्छ वा सक्दैन ?

सक्न त सकिन्छ। तर, नेपाली वाद्यवृन्दको घेरा ज्यादै सीमित छ। पश्चिमा बाजामा झैं एउटै वाद्य अनेक स्वरमा विभिन्न सूक्ष्मतासाथ बज्न सक्ने क्षमता नेपाली बाजाहरूमा छैन। हाम्रा बाजाको स्वर शृंखलाको घेरा ज्यादै नै सीमित छ— पश्चिमा बाजाको तुलनामा।


>>>> म ‘स्वरसम्राट्’ उपाधिको योग्य छैन


गाइने–गीत, ज्यापू–गीत, लोक–गीत अथवा यस्तै सामान्य विषयवस्तुमा मात्र हाम्रा वाद्यवृन्दले पूर्णतः सहयोग दिन सक्छन्। व्यापकता, प्रयोग र सूक्ष्मतामा गहिरिँदै जान थाल्दा नेपाली वाद्यवृन्द संगीतकारका लागि अपर्याप्त हुन्छन्, यतिमा मात्र ऊ स्वतन्त्रतासाथ संगीत रचना गर्न सक्दैन।

यसै प्रसंगमा, कुनै पनि बाजा विदेशी वा स्वदेशी हुँदैन। उदाहरणका लागि, सर्वोत्तम भ्वाइलिन इटालीको हुन्छ तर त्यसलाई बजाउने उपकरण ‘गज’ फ्रान्समा राम्रो बन्छ। र, भ्वाइलिन संसारभरि उत्तिकै प्रचलित एवं लोकप्रिय बाजा हो। कुनै पनि बाजाबाट आफ्नो संस्कृति र माटोको सुगन्ध लिएको संगीत निस्कनुपर्छ— म संगीतलाई मात्र हेर्छु।

नेपाली लोकलय वा लोकगीतलाई आजको हाम्रो संगीतले अँगाल्न सक्छ सक्दैन ? सक्छ भने कसरी ?

सक्छ। लोकलयलाई परिमार्जित गरेर मौलिक संगीत सृजना गर्न सकिन्छ। विकास गर्न सकिन्छ। संसारका प्रत्येक मुलुकमा यो चलन छ र यस्ता संगीत औधि लोकप्रिय भएका पनि छन्। शास्त्रीय संगीत र लोकलय नै हाम्रो संगीतका प्रमुख आधार हुन्। आधुनिक संगीत मि िश्रत रूपको हो। लोकलय वा लोकगीतका आधारमा दिइएका संगीत हामीकहाँ पनि सफल र लोकप्रिय बनिसकेका छन्।

हाम्रो शास्त्रीय संगीतको नेपाली घराना भन्न सकिने जस्तो सायद कुनै कुरा छैन। आजको नेपाली संगीतको कुनै आफ्नै परम्परा बन्न सक्ला ?

भन्नुभएको कुरा सही हो। हामीकहाँ प्रचलित शास्त्रीय संगीत नेपालको आफ्नै हो भन्ने पक्षमा म छैन। भारतीय संगीत भएकाले त्यसको नेपाली घराना हुनुपर्ने कुनै आवश्यकता पनि छैन।

आजको नेपाली संगीतका आफ्नैखाले केही परम्परा बसिसकेका छन्। गाउँदा हारमोनियम, तबला, भ्वाइलिन, बाँसुरी वा गितारको प्रयोग अनिवार्यतः हुन्छ। तिमी, म, फूल, माया, मुटु जस्ता केही सीमित शब्दको प्रयोग नभएको गीत हुँदैन। श्रोता–दर्शकहरूले जति अनुरोध गरे पनि अर्को गीत नगाई हिँड्नु र गीतको भाव अनुरूप गायकले स्वर दिन नसक्नु पनि एउटा परम्परा नै बनिसकेको छ।

नेपाली साहित्यकार र कलाकारका संगठनहरू देखिन्छन्— गायकहरूको त्यस्तो संस्था, समूह, संगठनको आवश्यकतालाई यहाँ महसुस गर्नुहुन्छ हुँदैन ? संगीतको क्षेत्रमा के–कस्ता समस्या छन् ?

गायक–संगीतकारहरूको संगठन ज्यादै आवश्यक छ। पहिले–पहिले संगठन नबनेका होइनन्, तर के–के मिल्दैन, ती चल्नै सक्दैनन्। नेपाली संगीतलाई निश्चित दिशा दिन, यसका कमी र आवश्यकतालाई परस्परमा चिनाउन, के गर्ने–के नगर्ने भन्ने निर्णय गर्न र समग्रमा गएर नेपाली संगीतमा नयाँ चिन्तन एवं नयाँ आयाम थप्न संगीतकार–गायकहरू भेला भएर एक–अर्कामा विचारको आदान–प्रदान गर्नु, छलफल गर्नु साह्रै आवश्यक छ। तर दुर्भाग्य, यो प्रवृत्ति हामीकहाँ आउन सकेको छैन।


>>>> आभाषको टिप्पणीः आफूलाई सम्राट् नमान्ने प्राज्ञिक गायक


हामीकहाँ वाद्यवृन्द (बाजाहरू) को परिवार ज्यादै सानो छ। विविधताको कमी छ। दक्ष वाद्यवृन्द (वादक समूह) त के, वाद्यवादकहरू नै हामीसँग छैनन्। संगीतकारले आफ्नो सिर्जना राम्ररी व्यक्त गर्न यिनै कारणले पाउँदैन।

मीठा धुनको ज्यादै न्यूनता छ। नामी संगीतकारले पनि १० मा दुईभन्दा बढी मीठा धुन दिन सक्दैनन्। पाँच प्रतिशत गीतमा मात्र रहरलाग्दो शब्द संयोजन भेटिन्छ।

संगीत सिकाउने उपयुक्त पाठशाला छैन। गायिकाहरूको पनि अभाव छ। अधिराज्यका कुना–कुनामा गीत सुनाउन सकिने मञ्चहरू छैनन्। आफूले क्यासेट बनाएर बेच्नुभन्दा पहिले नै नक्कली क्यासेट बिकिसक्छन्।

अब आफ्नै सम्बन्धमा। संगीतको क्षेत्रमा कहिलेदेखि, कुन स्थिति वा प्रेरणाले प्रवेश गर्नुभयो ? अभ्यास वा रियाज कुन बेला कति गर्नुहुन्छ ? तपाईंका प्रिय गायकहरू को हुन् ? आजको नेपाली संगीतको भविष्य कस्तो लाग्छ ?

बुबा उस्ताद हुनुहुन्थ्यो। घरमा संगीतको वातावरण थियो। दिनदिनै शास्त्रीय संगीतका बैठक चल्थे। सुन्थेँ। तर, यी कुनै कुराले मलाई प्रेरणा दिएका हैनन्। कता–कता अवचेतनबाट प्रेरित भएर म गाउनतर्फ लागेँ, सुगम संगीत गाउन थालेँ। प्रायः बिहान अभ्यास गर्छु, तर खास नियम छैन, ‘मुड’मा भर पर्छ।

जिम रिभ्स, टम जोन्स र कोनी फेन्सिस मलाई मन पर्ने पश्चिमा गायक हुन्। भारतका डीबी पलुस्कर र पाकिस्तानका मेहनाज एवं नाहिद अख्तर मन पर्छन्। पहिले मोहम्मद रफी मन पर्थे, हाल उटपट्याङबाहेक अरू गीत मन पर्छन्— किशोर कुमारका।

विशेष प्रतिभा त कुनै पनि क्षेत्रमा एउटा खास समयमा नै आउँछ र यस्तै बेला त्यस क्षेत्रमा खास मोड पनि देखा पर्छ। तर सामान्यतः आजभन्दा भोलि विकास नै हुन्छ, कुनै शंका छैन। पचास वर्ष पछिको नेपाली संगीत आजको अपेक्षा निकै अघि बढिसकेको हुनेछ, म विश्वस्त छु।


(मधुपर्क। २०४० साउन; वर्ष १६, अंक ३ बाट)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.