म ‘स्वरसम्राट्’ उपाधिको योग्य छैन
‘म एउटा साधारण गायक हुँ र साधारणै भएर बाँच्न चाहन्छु। ‘स्वरसम्राट्’ मलाई कुनै संस्थाले दिएको उपाधि होइन। यो कसरी आयो, मलाई थाहा पनि छैन। भन्ने मान्छेको, श्रोताको व्यक्तिगत दृष्टिको कुरो हो, उनीहरूसँग झगडा गर्न जाने पक्षमा पनि म छैन। तर, मलाई ‘स्वरसम्राट्’ भनेको मन पर्दैन। म यस उपाधिको योग्य छैन, मलाई यो ‘डिजर्भ’ गर्दैन।’
तीन दशकभन्दा बढी समयदेखि अत्यधिक लोकप्रिय रहिआएका गायक नारायणगोपालले बडो गम्भीरतासाथ यी कुरा त्यसबेला भने, जब मैले सोधेको थिएँ, ‘तपार्इंलाई धेरैले स्वरसम्राट् भनेको सुनिन्छ। तपार्इं आफूलाई स्वरसम्राट् मान्नुहुन्छ त ? ’
नारायणगोपाल भन्ने नामले नेपालीहरूका बीच कुनै परिचयको अपेक्षा गर्दैन। उनका मधुर गीत नै उनको परिचय हो। कहिले र कहाँ जन्मे, कसरी गीत गाउन थाले, कुन–कुन पुरस्कार पाए आदि–इत्यादिको विवरण पनि उनका सन्दर्भमा अब त्यति आवश्यक छैन।
यस वर्ष उनले मदन पुरस्कार गुठीले प्रदान गरेको ‘जगदम्बा श्री’ पुरस्कार पाएका छन्। साहित्यका क्षेत्रमा लगभग साढे तीन दशकदेखि प्रतिष्ठित मदन पुरस्कार दिंदै आएको सो गुठीले सुरु गरेको ५० हजार रुपियाँको ‘जगदम्बा श्री’ पहिलोपल्ट नै नारायणगोपालले पाएका हुन्। पुरस्कार पाएको सूचना पाउँदा उनी के गर्दै थिए त ?
‘टेलिभिजन हेर्दै थिएँ। पुरस्कार पाएको सूचना त्यसैबाट पाएको हुँ। हुन त केही दिन अघिदेखि नै गाइँगुइँ सुन्दै थिएँ। तर, आधिकारिक कुरा कसैले भनेको थिएन। ’
‘त्यस बेला कस्तो अनुभव भयो ? ’
>>>> आभाषको टिप्पणीः आफूलाई सम्राट् नमान्ने प्राज्ञिक गायक
‘विशेष खुसी लाग्यो। खासगरी पहिलोपल्ट यो पुरस्कार आफैंले पाएकाले। मदन पुरस्कार गुठीले साहित्यबाट संगीततिर पनि पाइला राख्यो, यो यस क्षेत्रकै लागि खुसीको कुरा हो।’
‘यत्रो पैसा के गर्ने विचार छ त ? ’, यो प्रश्न मैले जिस्केर सोधेको थिएँ, सबैभन्दा पछि। नारायणगोपाल हाँसे र नजिकै बसेका शिव रेग्मी, जयदेव भट्टराई र छायाकार नातिकाजीलगायत हामी पाँचैजना हाँस्यौं मुक्त रूपमा।
‘केही विचार गरेको छैन। एकातिरबाट हेर्दा ५० हजार निकै ठूलो रकम हो। अर्कोतिरबाट हेर्दा केही न केही। यसले कति नै काम दिन्छ र !’
यो तात्कालिक सन्दर्भबाहेक अरू कुरा पनि सोध्नु थियो। नारायणगोपाल केही हप्ताअघि मात्र मलेसियामा आयोजित एउटा अन्तर्राष्ट्रिय गीत (गायन) प्रतियोगितामा निर्णायक मण्डलको सदस्य (जज) का रूपमा भाग लिएर फर्केका थिए। त्यस प्रतियोगितामा १५ मुलुकले भाग लिएका थिए। त्यहाँ नेपाली संगीतलाई उनले कुन स्तरको पाए त ?
‘यसरी अन्तर्राष्ट्रिय स्तरको गीत प्रतियोगितामा नेपालले भाग लिएको यो सायद पहिलो अवसर हो। त्यहाँ सबैले राम्रो गरे। झन् मलाई त यहाँ देखे सुनेको भन्दा पनि राम्रो गरेजस्तो लाग्यो। नेपालको प्रस्तुतीकरण अरूको दाँजोमा निश्चय पनि फितलो थियो तर मलाई लाग्यो, अलिकति पनि बढी प्रयास गरेको खण्डमा हामी केही गरेर देखाउन सक्ने अवस्थामा रहेछौं। खास गरी यस्ता प्रतियोगिताहरूमा पठाउने व्यक्ति, टोली र गीतको चयन गर्ने प्रक्रियामा निकै सुधार गर्नुपर्छ।’
नेपाली गीत र संगीतमा हिन्दी र पश्चिमी संगीतको प्रभाव झन् झन् बढ्न थालेको छ भन्छन्। यसमा नारायणगोपालको दृष्टिकोण कस्तो होला ?
‘पश्चिमको अलि–अलि प्रभाव, त्यो पनि आधुनिक गीतमा परेको हुन सक्छ। तर, भारतबाट हिन्दीको प्रभाव परेको छ भन्ने पक्षमा म छैन। सम्पूर्ण दक्षिण एसियाली क्षेत्रकै संगीतको धारा यस्तो छ, जसबाट शब्द झिकिदिने हो भने कुन देशको संगीत हो, छुट्याउन गाह्रो हुन्छ— लोकगीतहरूलाई छाडेर। म त भन्छु, बरु हामीकहाँबाट नै हिन्दी गीतहरूमा बढी प्रभाव परिरहेको छ।’
‘त्यसो भए विशुद्ध नेपाली संगीत केलाई मान्ने त ? ’
‘नेपाली जनताले स्वीकारेको संगीत नै नेपाली संगीत हो। त्यस्तो संगीत, जसलाई सुन्दा नेपालीपन महसुस होस्, जसमा स्वरहरू उचित ढंगले आफ्नोपनमा डुबेर प्रयोग भएका हुन्। बाजा चाहे जुनसुकै होस्, त्यसबाट निस्केको धुनले हाम्रो राष्ट्रिय आत्मा र माटोको सुवासलाई अभिव्यक्त गरेको होस्। ...यो यस्तो कुरा हो, जसलाई भनेर र लेखेर बुझाउन सकिँदैन, सुनेर महसुस गरिने कुरा हो।’
उनले गाएका गीत एकै–एकै खालका, उस्तै–उस्तै सुरका, उस्तै उस्तै तालका, ‘मूड’ र ‘परिस्थिति’ को विविधता नभएका छन् भन्ने गुनासो सुनिन्छ। उनी यसलाई सही ठान्छन् ?
‘मैले एकैखालका गीतहरू गाएको छु भन्ने कुरा केही सही हो र केही गलत पनि हो। संगीतकारहरूको विविधता नभएकाले गीतहरू एकैखालका लागेका हुन्। मेरा गीतका संगीतकारहरू धेरै छैनन्, त्यसैले अलिअलि मिलेको हुनसक्छ। तर, यो कुरा मात्र होइन, विविधता त छ नै। सुन्न नजानेर पनि त्यस्तो लागेको हुनसक्छ।’
नारायणगोपालले बताए, नाटक वा गीति नाट्य (अपेरा) बाहेक उनले आजसम्ममा जम्मा डेढ सय जति मात्र गीत गाएका छन्। झन् केही वर्षयता त ज्यादै कम (फाट्टफुट्ट) मात्र गाएका छन्। यसको कारण ?
‘राम्रा गीत नै पाइँदैन। राम्रो गीत पाउनु समुद्रबाट मोती खोज्नु जस्तो भएको छ। राम्रो गीत लेख्न सक्ने मानिसलाई औंलामा गन्न सकिन्छ। म चाहन्छु, गाउने गीतमा केही नयाँ होस्, तर जति गीत आउँछन् सबमा उही पुरानो कुरा दोहोरिएको हुन्छ। हरेक गीत ‘कार्बन कपी’ जस्ता हुन्छन्। राम्रो लाग्दैन, थन्क्याइदिन्छु। आफूले एउटा स्तर कायम गरिसकेपछि त्यसभन्दा माथि जान नसके पनि तल ओर्लिन त भएन नि। ...दुर्भाग्यको कुरा, मैले राम्रो गीतै पाइरहेको छैन।’
संगीतमा पनि विविधता भएन, गीतहरू पनि स्तरीय भएनन्, नारायणगोपाल आफू स्वयंचाहिँ प्रतिदिन के–कस्तो अभ्यास गर्छन् नि ?
‘गर्छु। बिहान, बेलुका अथवा दिउँसो नै भए पनि हरेक दिन रियाज (अभ्यास) गर्छु। कम्तीमा एक घन्टा, बढीमा साढे दुई घन्टासम्म। बिरामी हुँदा पनि यो अभ्यास छोडिनँ।’
‘आज आएर आफूले गाएका गीत सुन्दा तिनमा कमी महसुस हुन्छ कि हुँदैन ? फेरि गाउन पाए सुधार्न सक्थेँ जस्तो लाग्छ कि लाग्दैन ? ’
>>>> संख्या होइन, स्तर बढ्नुपर्छ : नारायणगोपालको अन्तर्वार्ता
‘कुनै कुनै गीतमा त्यस्तो अवश्य लाग्छ। सुन्दा आफ्ना गल्तीहरू पत्ता लगाउँछु। फेरि गाउन पाए झन् राम्रो गर्थें जस्तो लाग्छ। तर, त्यसो गरेको छैन। (हाँस्तै) त्यसो गर्दा झन् बिग्रन पनि त सक्छ नि !’
कुनै जमाना यस्तो थियो, नारायणगोपाल र गोपाल योञ्जनको जोडी अभिन्न थियो। उनीहरूले बकाइदा मीतै लगाएका थिए। अम्बर गुरुङको संगीतमा पनि नारायणगोपालले मीठा–मीठा गीत गाएका हुन्। तर, धेरै वर्ष भयो ती दुवैको संगीतमा
(गीति–नाट्यबाहेक) नारायणगोपालले गीत गाएका छैनन्। किन होला ?
‘मैले यता आएर गीतै कम गाएको छु। उनीहरूसँग मात्र नगाएको भन्ने कुरै होइन। नगाउने भन्ने त कुरै आउँदैन। हुन सक्छ, कुनै परिस्थिति मिलेको छैन।...मेरो तर्फबाट त्यस्तो केही छैन...।’
यहाँनिर आइपुग्दा उनी मतिर हेरिरहेका थिएनन्। उनको स्वरभित्र कताकता केही लुके जस्तो, केही लुकाइए जस्तो लाग्यो। किन लाग्यो, त्यसको ठोस कारण मसँग थिएन। र, त्यस बेला पनि यस्तै यस्तै लाग्यो, जब उनले ‘नेपाली संगीत क्षेत्रका कलाकारहरूको संगठन आवश्यक छ कि छैन ? छ भने किन हुन नसकेको ? ’ भनेर सोध्दा जवाफ दिए, ‘संगठन हुनुपथ्र्यो। चाहिन्थ्यो। तर हुन सकेको छैन। यो दुर्भाग्य हो। तर, किन हुन सकेन, म भन्न सक्तिनँ।’
‘होइन, भनौं न।’
(हाँस्तै) ‘होइन, थाहै छैन।’
‘छ होला, किन थाहा नहुने ? ’
(झन् हाँस्तै) ‘होइन, थाहै छैन।’
‘पक्का हो ? ’
(हाँस्तै) ‘पक्का हो।’
‘तपाईं आफैं किन अघि नसरेको त ? ’
‘म अघि सर्ने पक्षमा पनि छैन। अब्जसिया काम...।’
तर, जे भए पनि संगठन नभएकोमा नारायणगोपाललाई पछुतो भने छ। कुरै कुरामा त्यहाँ रेडियोको प्रसंग आयो। त्यस बेला रेडियोले गायकहरूमाथि गरेको शोषण र अन्यायको कुरा उनले सुनाए, अनि भने—
‘संगठन भएको भए यसको विरोधमा हामी एकजुट भएर आवाज उठाउने थियौं। यस्तो शोषण र अन्याय हुने थिएन। ...मैले त मेरो ‘गीति–यात्रा’का गीत रेडियोमा बजाउन पनि दिएको छैन। ...रेडियोले कलाकार जन्माएको होइन, कलाकारले रेडियो जन्माएका हुन्...।’
नारायणगोपालले एकताक वागीना (बाजा, गीत, नाच अथवा वाद्य, गीत, नृत्यको संक्षिप्त रूप) नामको त्रैमासिक पत्रिका निकालेका थिए। त्यो पत्रिका हाल बन्द छ।
‘सांस्कृतिक संस्थानको महाप्रबन्धक भएपछि पत्रिका निकाल्न पाइँदैन भनेर बन्द गर्नुपर्यो’ भन्दै उनले गुनासो गरे, ‘हुन त म पत्रिकाहरू त्यति पढ्दिनँ तर केही पत्रिकाले कलाकारहरूका बारेमा नभएको कुरा पनि लेख्न थालेका छन् भन्ने सुन्छु। कलाकारले गलत काम गर्छ भने त्यसलाई त देखाइदिनै पर्छ तर नभएका कुरा लेख्न थालेका हुन् भने त्यसो गर्नचाहिँ भएन। अलिक इमानदारी कायम गर्नुपर्यो।’
आफूभित्रको ‘पत्रकार’लाई यसरी व्यक्त गरेपछि उनले ‘सार्क’ भित्रका मन परेका
गायक गायिकाहरूको नाम यसरी लिए, ‘गुलाम अली, आशा भाेंसले, नाहिद अख्तर, मेहनाज, अनूप जलोटा, जगजीत सिंह। ...किशोर कुमार मन पथ्र्यो, मरिहाल्यो !’
नारायणगोपालसँग कुरा गर्नु रमाइलो थियो।
(गोरखापत्र। २०४६ कात्तिक ११ गते शुक्रबार)
रचनागर्भ : चट्टान पगाल्नै महाभारत
तीस–पैंतीस वर्ष अघिका यी अन्तर्वार्तालाई आज फर्केर हेर्दा मलाई अर्कै युगको घटना जस्तो लाग्छ। यसपछि जन्मेकाहरू नै ‘नामी’ गायक, गीतकार, संगीतकार, समीक्षक भइसके। कहाँ ‘अखबार’ भन्दा ‘गोरखापत्र’ बुझिने त्यो समय, कहाँ छापालाई विद्युतीय माध्यमले छोप्न लागिसकेको यो समय। युगै बदलिइसक्यो।
त्यसताका म गोरखापत्रमा काम गर्थें। तात्कालिक सन्दर्भमा, निश्चित सीमाभित्र रहेर लिइएका हुन् यी अन्तर्वार्ता। तर, नारायणगोपालका कतिपय जवाफ आजकै सन्दर्भलाई गरिएको सम्बोधन जस्ता लाग्छन्— चाहे नेपाली संगीतमा हिन्दीको प्रभावको कुरा होस्, अथवा नेपाली संगीतको ‘शैली’ र ‘परम्परा’ को प्रसंग होस्। नेपाली संगीतको उनको परिभाषा जति मर्मस्पर्शी छ, गीतको भाव अनुसार गायकले भाव दिन नसक्नु पनि नेपाली संगीतको एउटा परम्परा बनिसकेको उद्घोष उत्तिकै मर्मभेदी छ। लाग्छ, यसैकारण आज यिनको पुनः प्रकाशन उपयोगी ठानिएको होला।
०००
‘मधुपर्क’को अन्तर्वार्ता २०४० सालको हो। नजाने कति वर्षदेखि हो, नारायणगोपाल कसैलाई अन्तर्वार्ता नदिने प्रतिज्ञा जस्तै गरेर बसेका रहेछन्। अनेकन् गुनासा, ग्लानि, तिक्तता र रिक्तताबोध थिए कथित अन्तर्वार्ताकारहरूसँग उनका, जो सही थिए। ‘तयारी हुँदैन, अध्ययन हुँदैन, सोध्ने कुरा धरी हुँदैन, भनेको कुरा बुझ्दैनन्, लेख्न जान्दैनन्, एक थोक भन्यो अर्को थोक लेख्छन्, तिनको शिकार म किन हुने ? ’, उनको प्रश्न हुन्थ्यो। जन्म मिति, आमा बुबाको नाम, घर भएको टोल, पढेको स्कुल, पास गरेको डिग्री, पहिलो गीत गाएको साल, पहिलो रेकर्डिङको मिति, गाएको गीतको कुल संख्या जस्ता प्रश्न बोकेर आउनेहरूले उनमा अन्तर्वार्ताप्रति नै वितृष्णा जन्माइदिएका रहेछन्। चट्टान पगाल्नै महाभारत !
कुरा बुझ्दै गएपछि एक दिन म फेरि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) पुगेँ, जहाँ उनी जी.एम्. थिए। र, एउटा कागज दिएर भनेँ, ‘प्रश्न चाहिँ हेर्नोस् न त एकपल्ट।’ त्यसबेला न कम्प्युटर हुने गथ्र्यो न फोटोकपी नै, खस्रो घुर्मैलो न्युजप्रिन्टमा हस्तलिखित प्रश्नहरू थिए त्यसमा। चस्मा पछाडिका उनका आँखा कागजमा दौडिन थाले। सुरुको असहज ‘बडी ल्यांग्वेज’ एकपल्ट पढिसक्ता सहज भएजस्तो लाग्यो। एकपल्ट मतिर हेरे र आरामदायी मुद्रामा आफ्नो जीउ कुर्सीमा अडेस्याएर फेरि एकचोटि पढे। अनि सन्तुष्ट मुद्रामा मुस्कुराउँदै भने, ‘यस्ता प्रश्न आए त किन अन्तर्वार्ता नदिनु नि !’
प्रश्न परिस्कृत बनाइदिने मधुपर्कका सम्पादक नारायणबहादुर सिंह हुनुहुन्थ्यो, म त तिनको ‘प्रस्तावक’ मात्र थिएँ। तर, त्यतिखेर त्यो बखान गर्नतिर लागिनँ। ‘यो (प्रश्नावली) आज मलाई दिनोस्, अन्तर्वार्ता भोलि गर्ने’, उनले भने। चट्टान पग्लिसकेको थियो।
०००
‘म स्वरसम्राट् उपाधिको योग्य छैन’ शीर्षकको अन्तर्वार्ता त्यसको ६ वर्षपछि २०४६ सालको हो। मदन पुरस्कार गुठीले सुरु गरेको ‘जगदम्बा श्री’ पुरस्कार उनलाई प्रदान गरिएपछि लिइएको। त्यसताक सञ्चार मन्त्रालयमा सल्लाहकार थिए उनी। यसबीच अनौपचारिक भइसकेको थियो हाम्रो सम्बन्ध। अन्तर्वार्तामा पनि त्यो पारा झल्किएछ, थाहै नपाई।
‘पुरस्कार पाउँदा कस्तो अनुभव भयो ? ’ भनेर सोधेपछि नारायणगोपालले जवाफ दिनुअघि नै मैले भन्न पुगेँ— म संगीतको साधक हुँ, पुरस्कार पाउँला भनेर संगीतमा लागेको होइन, पुरस्कारले मलाई फरक पर्दैन जस्तो खाले चीसो जवाफ चाहिँ नदिनोस् नि ! मुसुक्क हाँसे उनी र न्यानो जवाफ दिए।
०००
अलिक दिनअघि, आजभोलि ‘वान–टु–वान’ भनिने खालको अनौपचारिक भेटमा उनीसँग भनेको थिएँ, ‘तपाईंलाई स्वरसम्राट् भनेर हास्यास्पद बनाउन लागेका छन् नि ! ल भन्नोस् त, संगीत बुझ्ने मान्छेले यो उपाधि सुन्यो भने कति हाँस्ला ? ’
उन्मुक्त हाँसेका थिए उनी। लामो गफ भएको थियो यस विषयमा। मेरोे भनाइ थियो, ‘फ्यान भनेका भक्त हुन्। भक्तिमार्गमा लागेपछि प्रभुलाई जे पनि भन्न पाइन्छ। किनभने त्यहाँ मस्तिष्क र विवेकले काम गर्दैन, हृदय र भावुकताले मात्र काम गर्छ। त्यसैले यो अस्वाभाविक होइन। तर, तपाईंले चाहिँ आफ्नो धारणा स्पष्ट पारिदिनैपर्छ।’
‘हुन त हो। तर के गर्ने ? म स्वरसम्राट् होइन भनेर वक्तव्य निकाल्ने त ? ’
‘त्यसो गर्नु पर्दैन। कुनै न कुनै उपाय निस्केला नि !’
यो पृष्ठभूमिमा अन्तर्वार्ताको क्रममा मैले प्रश्न गरेको थिएँ, ‘तपाईं आफूलाई स्वरसम्राट् भन्नुहुन्छ त ? ’
उनले जे जवाफ दिए, त्यो अन्तर्वार्ताको शीर्षक बन्यो। त्यो ढोंगी विनम्रता प्रदर्शन थिएन, यथार्थको स्वीकारोक्ति थियो— एउटा आत्मविश्वासी गायकको।
०००
अन्तर्वार्ता ‘हेर्न’ सँगै बसेका शिव रेग्मी (त्यस बेला उपसचिव हुनुहुन्थ्यो क्यार) लाई मेरो पारा र प्रश्न असहज लागेछ। अन्तर्वार्ता सकेर नारायणगोपालको कार्यकक्षबाट बाहिर निस्केपछि भन्नुभयो, ‘हत्, तपाईंले कस्तरी कुरा गर्नुभएको ? मेरो त जीउ नै सिरिंग भयो... उहाँ पड्किनुहुन्छ जस्तो लागेको थियो। ...हामीलाई त उहाँसँग यस्तो कुरा गर्न डर लाग्छ।’
शिवजीको कुरा सही थियो। तर, सबैका सन्दर्भमा होइन। असाधारण व्यक्तिको अथाह मनलाई व्याख्यायित गर्ने संस्कृतको एउटा श्लोकांश छ—
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि...।
यस्तै थिए नारायणगोपाल। बाहिर वज्रभन्दा पनि कठोर, भित्र फूलभन्दा पनि कोमल।