साउने झरीमा नदी सफाइ !
पूर्णप्रसाद मिश्र
काठमाडौं : साउने झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइले निरन्तरता पाएको छ ।
प्रत्येक हप्ताको शनिबार सफाइ अभियन्ता वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा र हनुमन्तेलगायतका नदी किनारमा जम्मा भई सफा गर्छन् । वाग्मतीको विभिन्न स्थान र चक्रपथमा पनि सफाइ अभियान सुरु भएको छ ।
विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ गर्छन् । तर नदीको सफाइमा त्यति धेरै सफा देख्न नसकिएकाले सफाइको स्वरुपमै परिवर्तन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ ।
यद्यपि सफाइ महाअभियानले सामाजिक जागरण ल्याएर देशका एक सय स्थानमा सफाइ अभियान चलेको छ । सफाइ अभियन्ताको सडक र चोकमा थुप्रिएको फोहरको डंगुरमा भने ध्यान जान सकेको छैन । गर्मी समयमा फोहरको थुप्रोले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ ।
उपत्यकाबाट २३ मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २३ मेट्रिक टन फोहर उठाइयो । सिस्डोलमा फोहर व्यवस्थापनका लागि समस्या भएकाले उठाइएको फोहर नदी किनारमै थुपारिएको सफाइ अभियन्ताले जनाएका छन् ।
वाग्मती सफाइ महाअभियानको २७२ औँ हप्तामा गुह्येश्वरी मन्दिर अघिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाज, सशस्त्र प्रहरी श्रीमती संघलगायत ३८ संस्थाका गरी ६०० बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले जानकारी दिएकी छन् ।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे लगायतको सक्रियता थियो । गत हप्तादेखि वाग्मती नदीभित्र लामो समयदेखि जमेको फोहर डोजर लगाएर झिक्न थालिएको समितिका सञ्चालक सदस्य खरेलले बताइन् ।
वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३३ औँ हप्ताको कार्यक्रम शनिबार यसै स्थानमा गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।
सफाइको संयोजन काठमाडौं महानगरपालिका – ७ का अध्यक्ष शुद्धकुमार डंगोलले गरेका छन् । वाग्मती तिलगंगा खण्ड सफाइको १७३ औँ हप्ताको सफाइ पनि यहीँ गरियो ।
रुद्रमती सफाइको २२७ औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–हुँदै कमलपोखरीसम्मको क्षेत्रमा जनचेतनामूलक अभियान गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । कमलपोखरीमा विशेष सफाइ गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए ।
रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, रुद्रमती रोट्रयाक्ट क्लब, महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायत दुई सय बढीको सक्रियता थियो ।
रुद्रमती आसपासका धेरै ठाउँमा १५ दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको उहाँले बताउनुभयो । सिस्डोलमा फोहर नउठेकाले उपत्काका विभिन्न भागमा फोहर थुप्रिएको छ ।
विष्णुमती सफाइ अभियानको १९९ औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ८ क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र अभियन्ता गरी ४ सय भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले जानकारी दिए।
सफाइमा टोखा नगरपालिका–८ की सदस्य निशा पाण्डेको पनि सक्रियता थियो । सदस्य पाण्डेको नेतृत्वमा वडाका टोल टोलमा छिरेर आफ्नो घर अघिको सरसफाइ आफैँ गर्न जागरणमूलक कार्यक्रम गरियो । सफाइ अभियान २ सय हप्ता प्रवेश गर्ने अवसरमा साउन १९ गते विशेष कार्यक्रम गरिने उनले बताए ।
वाग्मती नदी किनारस्थित सुन्दरीघाट सफाइ अभियानको ८२ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८५ जना भन्दा बढी अभियन्ताको सहभागिता रहेकोे अभियानकर्मी चित्र सुनुवारले जानकारी दिए।
मनोहरा नदी सफाइको ७० औँ हप्तामा जडबिुटीस्थित बिपी आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
चक्रपथ सफाइको ६८ औँ हप्तामा वनस्थली ढुंगेधाराचोकबाट स्वयम्भू स्वयम्भू ठूलो भ¥याङचोकसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्शलगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । शनिबारको सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
आलोकनगर क्षेत्र सफाइको ६८ औँ हप्तामा शान्तिनगर तीनकुने क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मातृशक्ति समूहले आलोकनगर र मीनभवन क्षेत्रमा सफाइ गर्दै आएको छ ।
चक्रपथ बाफल खण्ड सफाइको ५० औँ हप्तामा सीतापाइला चोकबाट सोल्टी दोबाटोसम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व सचिव किशोर थापालगायत ३ सय भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी ताराबहादुर कुँवरले सुनाए ।
वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १ सय भन्दा बढी स्थानमा सफाइ सुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रिक टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ ।
फोहरको परिमाण उपत्यकामा काठमाडौं, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।
अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ ।
वाग्मती सफाइ महाअभियानले २ सय हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्रनै जारी गरेको थियो । सरकारले घोषणापत्र जारी गरेपनि कार्यान्वयनमा ध्यान नदिएको अभियन्ताको गुनासो छ ।
दुई हप्तादेखि उपत्यकाबाट फोहर उठ्न नसकेपछि सफाइ अभियन्ताले सरोकार भएका सरकारी निकायमा वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । रासस