सकियो अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पाँचौं संस्करण भव्य समारोहबीच सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालित ६ दिने प्रतियोगिता शनिबार सम्पन्न भएको हो। समापन समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगाय देशमा महत्वपूर्ण व्यक्तित्वको उपस्थिति थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले अन्नपूर्ण पोस्ट्ले अयोजना गरेको प्रतियोगिताले खेलकुदको विकास र भाइचारा स्थापनामा महत्वपूर्ण सहयोग पुर्याएको बताए। उनले आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउँदै जाओस भन्दै शुभकामना दिए।
यसैगरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादु्र श्रेष्ठले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेल खेलाडीको स्तर विकासमा ठूलो सहयोग पुर्याएको बताए। ‘यस प्रतियोगिता नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता बनेको छ। भविष्यमा सबै मिलेर यसलाई अझै ब्यापक बनाउनु आवश्यक छ। हरेक संस्करण विशेष बन्दै आएकाले आगामी संस्करण झनै भव्य हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने।
अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सम्पादक विजय कुमार पाण्डेले मिडिया हाउसको तर्फबाट प्रतियोगिता आयोजना गर्न पाउनु खुशीको क्षण भएको बताए । विजेता र सहभागी सम्पूर्णलाई धन्यवाद दिंदै पाण्डेले सरकारले खेलकुदको संरचनता निमार्णमा प्रयाप्त ध्यान दिन आवश्यक रहेको बताए । ‘३० बर्षअघि आफूले देखेको राखेप कभर्डहलको अवस्था झनै कमजोर बन्दै जानु दुःखको कुरा हो,’ पाण्डेले भने ।
अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आयोजित प्रतियोगितामा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश र पूर्वी टिमोरका गरी चार सय २२ जना खेलाडीको सहभागिता जनाएका थिए । सहभागी खेलाडीले पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्ष मुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी एक्जुकेटिभ डबल्समा म्यानेजर तहभन्दा मुनिका खेलाडी सहभागी थिए । जुनियरतर्फ महिला र पुरुष एकलतर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन पुरस्कार प्राप्त गरे ।
जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार पाए । साउन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई सय ८५ खेल भएको थियो । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीलाई अन्नपूर्ण मिडिया नेटर्वका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, प्रधान सेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।
पुरुष र महिला एकल : दिपेश र शेहजाद च्याम्पियन
विभागीय टोली एपिएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् ।
महिला एकलतर्फको उपाधि भने पाकिस्तानकी शीर्ष वरियताप्राप्त खेलाडी शेहजाद माहुरले हात पारिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–११, २१–१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि जितेका हुन् ।
नेपालको दोस्रो वरीयतामा रहेका दिपेशले उमेर र अनुभवमा आफूभन्दा पछि रहेका खेलाडीविरुद्ध शसक्त प्रदर्शन गर्दै सहजै जित आफ्नो पक्षमा पार्न सफल भए । नेपालको राष्ट्रिय टोलीबाट नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका अनुभवी खेलाडी दिपेशले प्रिन्सविरुद्धको खेलमा सुरुदेखि नै बलियो पकड बनाएका थिए ।
अन्नपूर्ण पोस्ट अन्तर्राष्ट्रि कर्पाेरेट ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ दिपेशले जितेको यो दोस्रो उपाधि हो । दीपेसले यसअघि पहिलो संस्करणमा पनि उपाधि जितेका थिए ।
दिपेशले विपक्षी खेलाडीकै गल्तीका कारण उपाधि जित्न सहज भएको बताए । ‘प्रिन्स भाइ आफैले धेरै गल्ती गर्दा मलाई खेल केही सहज भयो’, दिपेशले भने, ‘विपक्षी खेलाडीले कमजोर प्रदर्शन गर्दा मेरो खेल अझ राम्रो बन्यो । त्यसैले फाइनल खेल सोचेभन्दा केही सहज बन्यो । अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टनको खुला पुरुष एकलतर्फ दोस्रो उपाधि जित्दा खुसी लागेको छ ।’
यसैगरी महिला एकलतर्फ भने पाकिस्तानकी शेहजादले फाइनलमा नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन् । त्रीभुवन आर्मी क्लबकी रसिलालाई शेहजादले २१–१५, २१–१० को सेटमा पराजित गरिन् ।
सेमिफाइनल खेलमा नेपालकी पहिलो बरियताप्राप्त खेलाडी नङ्सल तामाङलाई पराजित गर्दै फाइनलमा पुगेकी १४ वर्षीया रसिला उपाधि भिडन्तमा भने अनुभवमा पछि परिन् ।
पाकिस्तानी खेलाडीले रसिलाको एकपछि अर्काे गल्ती पत्ता लगाउँदै नियमित अंक जोडेकी थिइन् । ‘राम्रो गर्छु भन्ने लागेको थियो । यद्यपी आफ्नै केही गल्तीका कारण खेल गुमाउँन पुगेँ’, रसिलाले भनिन् । पाकिस्तानी खेलाडी शेहजादले भने उपाधि जित्दा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले फाइनल खेल सोचेभन्दा सहज भएको पनि बताइन् ।
‘फाइनल खेल मुस्किल होला भन्ने सोचेकी थिएँ । रसिलाले सेमिफाइनलमा नेपालकी शीर्ष वरियताकी खेलाडीलाई पराजित गरेकीले पनि म दबाबमा थिएँ’, शेहजादले भनिन्, ‘यद्यपी फाइनल खेलमा मैले उनलाई सजिलै हराउन सकेँ ।’
नेपालमा दोस्रो प्रयासमा आफूले उपाधि जितेको पनि उनले बताइन् । ‘सन् २०१६ को डिसेम्बरमा पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाल आएकी थिँए । त्यसबेला उपाधि सम्भव भएन’, उनले भनिन्, ‘यद्यपि यसपटक उपाधि जित्न सफल भएकी छु ।’
पुरुष र महिला एकलतर्फ प्रथम हुने दुबै खेलाडीले दुई-दुई तोला, उपविजेता हुने खेलाडीले एक-एक तोला तथा तेस्रो हुने खेलाडीले आधा-आधा तोला सुनको सिक्का प्राप्त गरेका छन् ।