प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न
काठमाडौं : प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो।
काठमाडौंको बसुन्धारस्थित चन्द्रबिन्दु स्कुलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार बैकुण्ठ मानन्धरले गरेका थिए। उद्घाटन कार्यक्रममा मानन्धरले नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए।
नेपालको संस्कृतिसँग जोडिएका खेलको प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए। शुक्रबार प्रथम र दोस्रो चरणका खेल भएका थिए।
शनिबार तेस्रो, चौथो र फाइनल खेल भएको हो। खेल दुई उमेर समूहमा विभाजन गरेर खेलाइएको थियो। फाइनलमा उमेर समूहअन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन्।
त्यस्तै, दोस्रो र तेस्रो क्रमशःविवश खकुराल र पासाङ तामाङ विजयी भएका छन्। १८ वर्षमाथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन्। पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो तेस्रो भए।
बाघचाल प्रतियोगितामा ११४ प्रतियोगी सहभागी थिए। कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए।
विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कारसहित सम्मानपत्र वितरण प्रदान गरे। कार्यक्रममा १२ पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ।
जरो किलो महाअभियानका अध्यक्षडा. निर्मलमणि अधिकारीले पूर्व खेलाडीलाई सम्मान गरे। भरत शाह विनोदकुमार दास, दीपक विष्ट, जीतबहादुर केसी, ममता चौधरी, सारादेवी तामाङ, आङ बाबु लामा, दीपक महर्जन, लगायत खेलाडी सम्मानित भएका हुन्।