गोलान्जोरका भूकम्पपीडित अनुदानबाट बञ्चित

गोलान्जोरका भूकम्पपीडित अनुदानबाट बञ्चित

 सिन्धुली ः प्राविधिकको लापरवाहीका कारण भूकम्पपीडित अनुदानबाट बञ्चित भएका छन् । सिन्धुली गोलान्जोर गाउँपालिका–३ ग्वालटारमा त्यो अवस्था देखिएको छ । प्राविधिकको लापरवाहीका कारण लाभग्राही सूचीमा नसमेटिदिँदा भूकम्पले घर भत्किएका पीडित अनुदानबाट वञ्चित भएका छन् ।

गोलान्जोर, ग्वालटारका ६५ वर्षीय धु्रवप्रसाद पोखरेलले इन्जिनियरको पूर्वाग्रहका कारण आफूले अनुदान नपाएको गुनासो गरे । उनले भने, ‘भूकम्पले घर पूरै चर्किएको छ, तर सरकारले दिने कुनै पनि अनुदान पाएका छैनौं ।’

भूकम्प अतिप्रभावितलाई वितरण गरिएको रातो कार्डसमेत पाएका पोखरेलले प्रारम्भिक राहत बाहेक अन्य सहयोग अनुदान लिएका छैनन ।

भूकम्पपीडितको अवस्था बुझ्न आएका सञ्चारकर्मीसँग उनले अर्काको घर देखाएर अनुदान रकम लिने पनि फेला परेको गुनासो गरे ।

भूकम्पपीडित पोखरेलले रक्सी, मासु र पैसाका आधारमा प्राविधिकले लाभग्राही सूची तयार पारेको आरोप लगाउँछन् । ‘अर्काको घर देखाएर पनि अनुदान लिएका छन् । घर भत्किए पनि हामीले अनुदान पाएनौं । यहाँ त रक्सी बियर कै खेल भयो । जसले खुवायो उसको प¥यो’, उनले भने । अनुदानबारे पटकपटक प्राविधिकलाई गुनासो राखे पनि सुनुवाइ नभएको पोखरेलले बताए ।

  • लापरवाही गर्ने प्राविधिकलाई पीडितद्वारा कुटपिट
  •  प्राविधिक रक्सी–पैसामा विकेको आरोप

पोखरेलकी श्रीमती मञ्जु पोखरेलले भूकम्पले भत्किएको घरमा खान पकाउने, खाने गरेपनि सुत्न गोठको मतानमा जाने गरेको सुनाइन् । ‘खाना पकाउने काम भत्किएकै घरमा गर्छौं तर सुत्न चाहीं मतानमा सुत्छौं’, मञ्जुले भनिन्, ‘पानी परेपछि यो मतान पनि भत्किने त्रासमा हामी बस्न बाध्य छौं ।’ पोखरेल दम्पत्ती तीन छोरामध्ये जन्मदै अपांङ महिला छोरासँग बस्छन् । जेठा छोरा काठमाडौंमा छन् भने कान्छो विदेशमा ।

सोही गाउँकी ६१ वर्षीया एकल महिला मैया रम्तेलले सरकारले दिने अनुदान पाएकी छैनन । मैयाको नाम भूकम्पपीडितको लाभग्राही सूचीमा परेको छैन ।

‘भूकम्पले घर भत्कियो, म त पालीमा बसिरहेकी छु’, उनले भनिन्, ‘छोराहरूले एक पाखे पाली टाटीले गाँसिदिएका छन्, त्यसैमा बस्छु ।’

‘भूकम्पमा हाम्रा चार छोरा र मेरो गरी पाँच घर भत्किए’ उनले भनिन्,‘ छोराहरूको घर बन्यो तर मैले पैसा पाइन, पालीमा बस्नु परिरहेको छ ।’

१० वर्ष अघि मैयाका छोराहरू छुट्ट भिन्न भएका हुन् ।

‘ श्रीमान् छुँदै हामी छुट्टै बस्थ्यौं, छोराहरूलाई उहाँले छुट्याइदिनु भयो’, मैयाले भनिन्, ‘म छुट्टिसकेकी मान्छे कहाँ छोराहरूसँग बस्नु ? टाटी बारेर बसेकी छु ।’

मैयाको श्रीमानको ५ वर्ष अघि निधन भएको हो । ६ महिनाअघि सडक दुर्घटनामा साइलो छोराको पनि मृत्यु भयो ।

गोलान्जोरमा खटिएका सहायक इन्जिनियर ललितकुमार यादव आफूभन्दा पहिला आएका प्राविधिक कै कमजोरीका कारण केही भूकम्पपीडित लाभग्राही सूचीमा नपरेको स्वीकार गर्छन् । ‘मभन्दा पहिलाको इञ्जिनियरलाई गाउँलेले कुटेर पठाएका थिए रे, म आएको ७ महिना मात्र भयो, म आएपछि त राम्रै छ’,ले भने ।

धु्रबप्रसाद र मैयाको अवस्था हेर्दा अनुदान पाउनु पर्ने स्वयं प्राविधिक यादव बताउँछन् । ‘अवस्था हेर्दा त उहाँहरूले पाउनु पर्ने हो तर खै किन पहिले लगत लिदाँ छुटाइयो’, प्राविधिक यादवले भने ।

सिन्धुलीको गोलान्जोरमा सबैभन्दा बढी २४१ जनाको घर भत्किएको थियो तीमध्ये १२७ जनाले दोस्रो किस्ता पाएका छन् भने १३५ जनाको तेस्रो किस्ताको लागि सिफारिस भएको छ ।

०००

अनुदान नपाएका सिन्धुली गोलान्जोर–३ ग्वालटारका भूकम्पपीडित धु्रवप्रसाद पोखरेल र उनकी पत्नी मञ्जु


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.