इन्टरनेट ब्यान्डविथमा वार्षिक तीन अर्ब खर्च
काठमाडौं : नेपालले वार्षिक तीन अर्ब रुपैयाँको इन्टरनेट ब्यान्डविथ किन्ने गरेको छ। इन्टरनेट र टेलिफोन सेवा प्रदायक कम्पनीले भित्र्याएको ब्यान्डविथको तथ्यांकअनुसार वार्षिक नेपालबाट झन्डै तीन अर्ब रुपैयाँ इन्टरनेट ब्यान्डविथ खरिदमा बाहिरिने गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७४ को साउनदेखि २०७५ असार मसान्तसम्मको एक वर्षमा सेवा प्रदायक कम्पनीले एक सय ८४ जीबी ब्यान्डविथ भित्र्याएका छन्। एक सय ८४ जीबी इन्टरनेट ब्यान्डविथका लागि सेवा प्रदायक कम्पनीले मासिक २४ करोड ६९ लाख ६७ भुक्तानी गर्दै आएको देखिन्छ। यो तथ्यांकका आधारमा ब्यान्डविथका लागि वार्षिक दुई अर्ब ९६ करोड ३६ लाखभन्दा बढी बाहिरिने गरेको छ।
यो अवधिमा वल्र्डलिंक कम्युनिकेसन प्रालिले सबैभन्दा बढी ब्यान्डविथ किनेको छ। वल्डलिंक अहिले मासिक आठ डलर प्रतिएमबीपीएस दरले ८४ जीबी ब्यान्डविथ किन्दै आएको छ। त्यसका आधारमा वल्र्डलिंकले मासिक सात करोडभन्दा बढीको ब्यान्डविथ किनेको देखिन्छ।
प्राधिकरणका अनुसार ब्यान्डविथ खरिदमा सेवा प्रदायकको आआफ्नै मूल्य छ। त्यसमा सबैभन्दा सस्तो भनेको आठ रुपैयाँ हो। वल्र्डलिंकले आठ रुपैयाँका दरले अहिले ब्यान्डविथ किन्दै आएको छ। यस्तै सबैभन्दा महँगो मूल्य तिरेर ल्याउने कम्पनीमा मर्कन्टायल कम्युनिकेसन प्रालि छ। मर्कन्टायलले मासिक ३३ डलर ३४ सेन्ट प्रतिएमबीपीएसका दरले ब्यान्डविथ किन्दै आएको छ।
दुई कम्पनीबीच ब्यान्डविथ खरिद मूल्यमा ठूलो अन्तर देखिएको हो। ठूलो परिमाणमा ब्यान्डविथ खरिद गर्दा मूल्यमा ठूलो अन्तर हुने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनले भने, ‘जसले जतिधेरै ब्यान्डविथ खरिद गरेको छ उसले तिर्ने मूल्य पनि कम हुँदै जान्छ। अहिले मर्कन्टायलले जम्मा पाँच सय ९३ एमबीपीए अप्टिकले ब्यान्डविथ किन्दै आएको छ।’
प्राधिकरणका अनुसार सेवा प्रदायक कम्पनीले जतिमा ब्यान्डविथ खरिद गरे पनि नेपालमा ब्यान्डविथ खरिदको औसत मूल्य १३ डलर प्रतिएमबीपीएस प्रतिमहिना रहेको छ। प्रवक्ता अर्यालका अनुसार इन्टरनेट प्रयोगमा भएको वृद्धिसँगै ब्यान्डविथका लागि हुने खर्च पनि बढेर जान्छ। ‘इन्टरनेटको प्रयोग बढ्दै जाँदा ब्याडविथको खपत पनि बढ्दै जानेछ’, उनले भने, ‘नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोगमा वृद्धि भइरहेको छ। त्यसले अबको दिनमा अझ ब्यान्डविथको खपतमा ठूलो वृद्धि हुने देखिन्छ।’
पछिल्लो एक वर्षको अवधिमा ब्यान्डविथ खपत दोब्बर भएको छ। प्राधिकरणका अनुसार गत वर्षको जेठसम्म करिब ९६ जीबीमात्रै फाइबर ब्यान्डविथ नेपालमा भित्रिएको थियो। तर, अहिलेसम्म आइपुग्दा यो बढेर एक सय ८४ जीबी पुगेको छ। त्यसैले अबको दिनमा यसको खपत अझै बढ्दै जाने स्वाभिक भएको प्रवक्ता अर्याल बताउँछन्।
‘लोकल कन्टेन्ट’ लाई नेपालमै राउट गर्न नसकेका कारण इन्टरनेट ब्यान्डविथमा हुने खर्च आकासिएको छ।
प्रवक्ता अर्याल विदेशी कन्टेन्टका लागि ब्यान्डविथ खरिद गर्नुभन्दा अर्को विकल्प नभएको बताउँछन्। उनी भन्छन्, ‘अमेरिकाको कन्टेन्ट नेपालसम्म ब्यान्डविथमार्फत आउने हो। नेपालले लोकल कन्टेन्टलाई नेपालमै राउट गर्न सके यसको खर्च घटाउन सकिन्छ। लोकल राउटर नभएका कारण अहिले विदेशी ब्यान्डविथको प्रयोग बढेको हो। लोकल कन्टेन्टलाई यहीँ राउट गर्न सक्ने हो भने त्यो कन्टेन्ट भित्र्याउन अहिले तिरिरहेको पैसा पनि बचत हुने थियो। त्यसले अहिले बाहिर गइरेहको पैसामध्ये केही रोक्न सकिन्थ्यो। अहिले नेपालको कन्टेन्टलाई पनि विदेश पु¥याइ फेरि त्यहाँबाट यहाँ ल्याउनै पर्ने अवस्था छ। त्यसले पनि ब्यान्डविथ खपत बढी भइरहेको छ।’
विदेशका ठूला कम्पनीको सर्भर नेपालमै स्थापना गर्न सक्ने हो भने पनि ब्यान्डविथमा हुने खर्च कम हुनेछ। जस्तो अहिले युट्युव र फेसबुकले नेपालमा आफ्नै सर्भर स्थापना गरेका छन्। उनीहरूको कन्टेन्ट एकपटक ल्याएपछि त्यसलाई फेरि किनिरहनुपर्ने अवस्था छेैन्। जसको सर्भर नेपालमा छैन्, त्यसको कन्टेन्ट भित्र्याउन हामीले हरेकपल्ट पैसा खरिद गरिरहनु पर्ने अवस्था छ। त्यसैले यसका लागि नेपालमै विभिन्न कम्पनीको सर्भर राख्न सक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको उनी बताउँछन्।