कर्पोरेट ब्याडमिन्टनको भव्य समापन
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पाँचौं संस्करण उल्लासमय वातावरणमा सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सञ्चालित ६ दिने प्रतियोगिता शनिबार सम्पन्न भएको हो। समापन समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत लब्धप्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका अध्यक्ष प्रचण्डले अन्नपूर्ण मिडिया नेटवर्कले अयोजना गरेको यो प्रतियोगिताले खेलकुदको विकास र भाइचारा स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउँदै जाओस् भन्ने शुभकामना दिए।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेल र खेलाडीको स्तर उकास्न ठूलो सहयोग पुर्याएको बताए। ‘यो प्रतियोगिता नेपालमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता बनेको छ। भविष्यमा सबै मिलेर यसलाई अझ व्यापक बनाउनु आवश्यक छ। हरेक संस्करण विशेष बन्दै आएकाले आगामी संस्करण झनै सभ्य र भव्य हुनेछ’, अध्यक्ष श्रेष्ठले भने।
अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सम्पादक विजयकुमार पाण्डेले मिडिया हाउसको तर्फबाट प्रतियोगिता आयोजना गर्न पाउनु खुसीको क्षण भएको बताए। विजेता र सहभागी सबैलाई धन्यवाद दिँदै पाण्डेले भने, ‘३० वर्षअघि मैले देखेको राखेपको कभर्ड हलको अवस्था झनै कमजोर बन्दै जानु दुःखको कुरा हो। सरकारले खेलकुदको संरचना निर्माणमा पर्याप्त ध्यान दिनु आवश्यक छ।’
ब्याडमिन्टन एसियाका डेभलपमेन्ट अफिसर थानाअघि किसनले यो प्रतियोगिता ब्याडमिन्टन खेलको विकासमा कोशेढुंगा भएको बताए। ‘स्वदेशी र विदेशी खेलाडी बीचको स्तर निर्धारणमा यो प्रतियोगिताले सहयोग गरेको छ। भविष्यमा पनि यसले निरन्तरता पाउनेछ’, किसनले भने। अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आयोजित प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र पूर्वी टिमोरका गरी चार सय २२ जना खेलाडीले सहभागिता जनाएका थिए।
सहभागी खेलाडीले पुरुष सिंगल, महिला सिंगल, पुरुष डबल्स, महिला डबल्स, १९ वर्ष मुनिको जुनियर पुरुष सिंगल र जुनियर महिला सिंगल, पुरुष एक्जुकेटिभ सिंगल र डबल्स तथा पुरुष कर्पोरेट सिंगल र डबल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यसैगरी एक्जुकेटिभ डबल्समा म्यानेजर तहभन्दा मुनिका खेलाडी सहभागी थिए।
जुनियरतर्फ महिला र पुरुष एकल तर्फका विजेताबाहेक अन्य स्पर्धाका विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा तोला सुन पुरस्कार प्राप्त गरे। जुनियरतर्फ महिला तथा पुरुष सिंगल्सका विजेताले भने एक तोला, दोस्रो हुनेले आधा तोला र तेस्रो स्थान हासिल गर्नेले चार आना सुन पुरस्कार पाए।
साउन ७ देखि सुरु भएको प्रतियोगितामा दुई सय ८५ खेल भएका थिए। प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गरेको थियो। अन्नपूर्ण मिडिया नेटवर्कले यसअघि फाइनल प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गत जेठ १३ देखि ६ वटा प्रदेशमा छनोट खेल सञ्चालन गरेको थियो। छनोट खेलका विजेता र उपविजेताले काठमाडौंमा खेल्ने मौका पाएका हुन्।
प्रतियोगिताका विजेता खेलाडीलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेल, ब्याडमिन्टन एसियाका डेभलपमेन्ट अफिसर थानाअघि किसन, शिखर इन्सुरेन्स, महालक्ष्मी पेन्ट्स लगायतका प्रतिनिधिले पुरस्कार वितरण गरे।
फाइनल खेल र समापन समारोहमा ब्याडमिन्टन संघका पूर्वअध्यक्ष र पदाधिकारीहरू, सुरक्षाकर्मी, अन्य खेल संघका पदाधिकारी, विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, प्रशिक्षक, रेफ्री, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति थियो। समापन समारोहमा प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्राविधिक, प्रायोजक र सहयोगी संघसंस्थालाई मायाको चिनो प्रदान गरिएको थियो। प्रतियोगितालाई रेडबुल, महालक्ष्मी पेन्ट्स, एलजी स्मार्ट टीभी, शिखर इन्सुरेन्स, सीजी एअर कन्डिसनर, देवः विकास बैंक लिमिटेड, नेबिको बिस्कुट, रियल जुस र स्टार हस्पिटलले सहयोग गरेका थिए। प्रतियोगिताको एपीवान एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो।