दिपेश र सेहजाद च्याम्पियन

दिपेश र सेहजाद च्याम्पियन

काठमाडौं : विभागीय टोली एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि जितेका छन्। महिला एकल तर्फको उपाधि भने पाकिस्तानकी शीर्ष वरीयताप्राप्त खेलाडी सेहजाद माहुरले जितिन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१-११, २१-१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि हात पारेका हुन्। नेपालको दोस्रो वरीयतामा रहेका दिपेश उमेर र अनुभवमा आफूभन्दा पछि रहेका खेलाडीविरुद्ध सशक्त प्रदर्शन गर्दै सहजै जित आफ्नो पक्षमा पार्न सफल भए।

नेपालको राष्ट्रिय टोलीबाट नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका अनुभवी खेलाडी दिपेशले प्रिन्स विरुद्धको खेलमा सुरुदेखि नै बलियो पकड बनाएका थिए। अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फ दिपेशले जितेको यो दोस्रो उपाधि हो। दिपेशले यसअघि पहिलो संस्करणमा पनि उपाधि जितेका थिए।

दिपेशले विपक्षी खेलाडीकै गल्तीका कारण उपाधि जित्न सहज भएको बताए। ‘प्रिन्स भाइ आफैंले धेरै गल्ती गर्दा मलाई खेल केही सहज भयो’, दिपेशले भने, ‘विपक्षी खेलाडीले कमजोर प्रदर्शन गर्दा मेरो खेल अझ राम्रो बन्यो। त्यसैले फाइनल खेल सोचेभन्दा केही सहज बन्यो। अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टनको खुला पुरुष एकलतर्फ दोस्रो उपाधि जित्दा खुसी लागेको छ।’

यसैगरी महिला एकलतर्फ भने पाकिस्तानकी सेहजादले फाइनलमा नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन्। त्रिभुवन आर्मी क्लबकी रसिलालाई सेहजादले २१-१५, २१-१० को सेटमा पराजित गरिन्। शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालकी पहिलो वरीयताप्राप्त खेलाडी नङ्सल तामाङलाई पराजित गर्दै फाइनलमा पुगेकी १४ वर्षीया रसिला उपाधि भिडन्तमा भने अनुभवमा पछि परिन्।

पाकिस्तानी खेलाडीले रसिलाको एकपछि अर्काे गल्ती पत्ता लगाउँदै नियमित अंक जोडेकी थिइन्। ‘राम्रो गर्छु भन्ने लागेको थियो। यद्यपि आफ्नै केही गल्तीका कारण खेल गुमाउन पुगेँ’, रसिलाले भनिन्। पाकिस्तानी खेलाडी सेहजादले भने उपाधि जित्दा निकै खुसी लागेको प्रतिक्रिया दिइन्। उनले फाइनल खेल सोचेभन्दा सहज भएको पनि बताइन्।

‘फाइनल खेल मुस्किल होला भन्ने सोचेकी थिएँ। रसिलाले सेमिफाइनलमा नेपालकी शीर्ष वरीयताकी खेलाडीलाई पराजित गरेकीले पनि म दबाबमा थिएँ’, सेहजादले भनिन्, ‘यद्यपि फाइनल खेलमा मैले उनलाई सजिलै हराउन सकेँ।’ नेपालमा दोस्रो प्रयासमा आफूले उपाधि जितेको पनि उनले बताइन्। ‘सन् २०१६ को डिसेम्बरमा पनि एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाल आएकी थिएँ। त्यस बेला उपाधि सम्भव भएन’, उनले भनिन्, ‘यद्यपि यसपटक उपाधि जित्न सफल भएकी छु।’

पुरुष एकलतर्फ सेमिफाइनलमा पराजित भएका बंगलादेशका मोहम्मद सलमान खान र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन तथा महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबकी खेलाडीद्वय नङ्सल तामाङ र अमिता गिरी तेस्रो भएका छन्।

उपाधिसँगै दिपेश र सेहजाद दुवैले दुई÷दुई तोला सुनको सिक्का प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका प्रिन्स र महिलातर्फ दोस्रो भएकी रसिलाले एक÷एक तोला सुनको सिक्का प्राप्त गरे भने दुवै स्पर्धामा तेस्रो भएका खेलाडीले आधा÷आधा तोला सुनको सिक्का पुरस्कार प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.