सुनिललाई सफलता
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको एक्जुकेटिभ पुरुष एकलतर्फको उपाधि जेष्ट ब्याडमिन्टन एकेडेमीका सुनिल जोशीले जितेका छन्। शनिबार भएको फाइनलमा उनले कामना सेवाका विशाल खड्कालाई २१-१५, २१-११ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन्। १९ वर्षीय सुनिलले फाइनल खेलमा सशक्त प्रदर्शन गरेका थिए।
उपाधि जितेपछि निकै खुसी देखिएका सुनिलले आफ्नो स्ट्रोक राम्रो भएकाले जित सम्भव भएको बताए। ‘आज मेरो स्ट्रोक राम्रो भयो। साथै शारीरिक रूपमा पनि विपक्षीभन्दा केही सहज भएकाले जित सम्भव भयो’, सुनिलले भने, ‘फाइनलसम्म नै खेल्दै उपाधि जित्दा निकै खुसी छु।’
एक्जुकेटिभ स्पर्धाको पुरुष डबल्सतर्फ भने आशीर्वादका राम राई र विमल श्रेष्ठको जोडीले उपाधि जितेको छ। राम र विमलको जोडीले फाइनलमा कामनाका विशाल बस्नेत र विशाल खड्काको जोडीमाथि २१-१७, २१-२३, २१-१५ अंकको प्रतिस्पर्धात्मक जित हासिल गर्यो। उपाधि जितेपछि उत्साही देखिएका आशीर्वादका रामले विपक्षी खेलाडीले गरेको गल्तीका कारण आफूहरूको जित सहज बनेको बताए। ‘खेल ५०÷५० को हो। उनीहरू पनि राम्रा खेलाडी हुन्’, रामले भने, ‘उनीहरू आफैंले गल्ती गर्दा हामीलाई जितका लागि सहज भयो।’
एक्जुकेटिभ एकलतर्फ राइजिङ सनका विश्वास नेपाल र स्लेकका गणेश रायमाझी तेस्रो भए। डबल्सतर्फ जेष्टका सुनील जोशी र ओडीसीका रोमन बानियाँको जोडी तथा ईशा एन्ड इशिकाका आकाश छन्त्याल र अभिषेक गुरुङको जोडी तेस्रो बने।
एकल तर्फको उपाधि विजेता खेलाडीले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा÷आधा तोला सुनको सिक्का पुरस्कार प्राप्त गरे। डबल्स तर्फको विजेता खेलाडीले एक÷एक तोला, उपविजेता खेलाडीले आधा÷आधा तोला र तेस्रो हुने खेलाडीले चार÷चार आना सुनको सिक्का पुरस्कार पाए।