दुवै उपाधि महालक्ष्मीलाई
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको कर्पोरेट स्पर्धाको पुरुष एकल र युगलतर्फ दुवै उपाधि महालक्ष्मी पेन्ट्सका खेलाडीले जितेका छन्। पुरुष एकलतर्फ महालक्ष्मीका विकास महर्जन तथा डबल्सतर्फ विकास र प्रदीप महर्जनको जोडीले उपाधि जितेका हुन्। एकलतर्फको फाइनलमा विकासले नारायणी मिल्कका अभिषेक बोसलाई २१-१२, २१-१६ को सोझो सेटमा पराजित गरे।
युगलतर्फको उपाधि भिडन्तमा भने विकास र प्रदीपको जोडीले महालक्ष्मी पेन्ट्सकै भुवन श्रेष्ठ र रदीप महर्जनको जोडीलाई २१-१९, २१-१३ अंकले पराजित गरे। अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा दोस्रोपटक सहभागी भएका विकासले पहिलोपटक दुई उपाधि जितेका हुन्। गत वर्ष डबल्स स्पर्धामा मात्र सहभागी भएका उनी सेमिफाइनलमै पराजित भएका थिए।
यसपटक उनी एकल र डबल्स दुवै विधामा उपाधि जित्न सफल भए। ‘गत वर्ष डबल्सतर्फ मात्रै सहभागी भएको थिएँ। त्यस बेला उपाधि सम्भव भएन’, विकासले भने, ‘यसपटक भने एकल र डबल्स दुवै स्पर्धामा उपाधि जित्न सक्दा निकै खुसी लागेको छ।’
युगलतर्फ विकासका साथी प्रदीपले पनि उपाधि जित्दा निकै खुसी लागेको प्रतिक्रिया दिए। उनले फाइनलमा आफ्ना लागि परिचित प्रतिद्वन्द्वी परेकाले पनि जित सहज बनेको बताए। ‘हामी सधैं खेलिरहने साथी हौं। त्यसैले विपक्षीको गल्ती र बलियो पक्ष राम्ररी थाहा थियो’, प्रदीपले भने, ‘हामीले उपाधिका लागि गरेको मेहनतले पनि जित सहज बनेको हो।’
कर्पाेरेट स्पर्धाको एकलतर्फ एपेस इन्टरनेसनलका अखिल श्रेष्ठ र बीएन्डबीका बालमुकुन्द ढुंगाना संयुक्त रूपमा तेस्रो भए। कर्पाेरेट डबल्सतर्फ आईपीपीका आदर्श विष्ट र सुवास उलकको जोडी तथा जलेवाका रुद्रबहादुर थिङ र एपेस इन्टरनेसनलका अखिल श्रेष्ठको जोडी तेस्रो भए।
कर्पाेरेट युगलतर्फ उपाधि जितेका विकासले दुई तोला सुनको सिक्का पुरस्कार पाए। दोस्रो भएका अभिषेकले एक तोला तथा तेस्रो भएका अखिल र बालमुकुन्दले आधा÷आधा तोला सुनको सिक्का पुरस्कार पाए। कर्पाेरेट डबल्सतर्फ भने पहिलो हुने खेलाडीले एक÷एक तोला, दोस्रो हुनेले आधा÷आधा र तेस्रो हुने खेलाडीले चार÷चार आना सुनको सिक्का पुरस्कार प्राप्त गरे।