प्रिन्स र रसिलालाई उपाधि
काठमाडौं : अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको यू-१९ पुरुष एकल स्पर्धामा सिल्क ग्रुपका प्रिन्स दाहाल र महिला एकल स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि जितेका छन्। प्रिन्सले शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका प्रफूल महर्जनलाई २१-१५, २१-१९ को सोझो सेटमा पराजित गरे।
खुलातर्फ पुरुष एकल स्पर्धाको फाइनलमा एपीएफ क्लबका दिपेश धामीसँग पराजित भएका प्रिन्सले यू-१९ स्पर्धामा भने सशक्त प्रदर्शन गर्दै उपाधि हात पारे। पुरुष एकल फाइनलमा सिनियर खेलाडीविरुद्ध धेरै गल्ती गर्दा उपाधि गुमाएको अनुभव सँगालेका प्रिन्सले यू-१९ तर्फ भने निकै सुधारिएको प्रदर्शन गरेका थिए। ‘पुरुष एकलको फाइनलमा सिनियर खेलाडी भएकाले केही नर्भस भएँ। आफैंबाट धेरै गल्ती पनि भयो’, प्रिन्सले भने, ‘यू-१९ को फाइनलमा भने सुधारिएको प्रदर्शन गर्दै उपाधि जित्न सफल भएँ।’
यसैगरी महिला एकल तर्फको उपाधि भिडन्तमा रसिलाले नेपाल पुलिस क्लबकी जेसिका गुरुङलाई २१-१९, २१-१९ को सोझो सेटमा पराजित गरिन्। रसिलाले जेसिकासँग पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा बेहोरेको पराजयको बदलासमेत लिइन्। पुष्पलाल ब्याडमिन्टन प्रतियोगिताको यू-१९ र महिला एकल दुवै स्पर्धाको उपाधि जित्ने क्रममा जेसिकाले रसिलालाई नै पराजित गरेकी थिइन्।
‘पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा जेसिकासँगै पराजित भएको थिएँ। यसपटक भने उनैलाई पराजित गरेर उपाधि जित्दा निकै खुसी लागेको छ’, रसिलाले भनिन्, ‘महिला एकलमा भने आफ्नै गल्तीका कारण उपाधि सम्भव भएन। प्रतियोगितामा सहभागी भएको दुवै स्पर्धामा फाइनलसम्म पुग्न सकेकोमा पनि निकै खुसी लागेको छ।’
यू-१९ स्पर्धाको महिला एकलतर्फ प्रदेश नम्बर १ की नीता लम्साल र कञ्चनपुरकी रञ्जना भट्ट तथा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका पबिन लिङ्थेप र रुकेश महर्जन संयुक्त रूपमा तेस्रो भए। यू-१९ स्पर्धाको पुरुष र महिलातर्फ उपाधि जितेका दुवै खेलाडीले एक÷एक तोला, दोस्रो हुने खेलाडीले आधा÷आधा तोला तथा तेस्रो हुने खेलाडीले चार÷चार आना सुनको सिक्का पुरस्कार प्राप्त गरे।