दिपेश र पूजाको जोडी पहिलो
काठमाडौं : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्स तर्फको उपाधि एपीएफ क्लबका दिपेश धामी र पूजा श्रेष्ठको जोडीले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र प्रफूल महर्जनको जोडीलाई २१-२०, २१-१७ को सोझो सेटमा पराजित गर्दै दिपेश र पूजाको जोडीले उपाधि हात पारेको हो।
प्रतियोगितामा दिपेशका लागि यो दोस्रो उपाधि हो भने पूजाको पहिलो उपाधि हो। शनिबार तीन स्पर्धाको फाइनल खेलेका दिपेशले खुला तर्फको पुरुष एकलमा पनि उपाधि जितेका थिए। यो स्पर्धामा त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरोज महर्जनको जोडी तथा भोजपुरकी सीता राई र एमआईबीएलका नीरविक्रम देवकोटाको जोडी तेस्रो भए।
डबल्स तर्फको विजेताले दुई तोला र उपविजेताले एक तोल सुनको सिक्का पुरस्कार प्राप्त गरे। तेस्रो हुने जोडीले आधा तोला सुनको सिक्का पुरस्कार पाए। पूजाले सुधारिएको प्रदर्शन गरेकाले जित सम्भव भएको बताइन्। दिपेशले विपक्षी खेलाडी नेट र डिफेन्समा कमजोर देखिँदा आफूहरूले जित हात पार्न सफल भएको बताए। ‘उनीहरू डिफेन्स र नेटमा कमजोर देखिए। हामीले त्यसैको फाइदा उठायौं’, दिपेशले भने।
पुरुष डबल्स तर्फको फाइनलमा भने एपीएफ क्लबका दिपेश र बिजित थापामगरको जोडी भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन गुरागोहईको जोडीसँग २१-१९, २१-१६ को सोझो सेटमा पराजित भयो। गत वर्ष फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएपछि उपाधिबाट चुकेका गुरागोहई दाजुभाइ यसपटक भने उपाधि जित्न सफल भए।
‘दिपेश र बिजितसँग हामीले गत वर्ष पनि खेलेका हौं। गत वर्ष हामीले उनीहरूलाई सेमिफाइनलमै पराजित गरेका थियौं’, उपाधि जितेपछि रञ्जनले भने, ‘उनीहरूले यसपटक निकै सशक्त प्रदर्शन गरे। यद्यपि हामीले उपाधि जितेका छौं। निकै खुसी लागको छ।’ अञ्जनले खेलका क्रममा केही गल्ती भए पनि आफूहरूले त्यसमा निरन्तर सुधार गर्दा जित सम्भव भएको बताए।
पुरुष डबल्सतर्फ प्रदेश नम्बर ४ का विशाल बस्नेत र विधान अधिकारीको जोडी तथा बाँकेका रियाज अन्सारी र इर्फान अन्सारीको जोडी तेस्रो भए।
पुरुष युगल तर्फको विजेताले दुई तोला, उपविजेताले एक तोला र तेस्रो हुने खेलाडीले आधा÷आधा तोला सुनको सिक्का पुरस्कार प्राप्त गरे।