साधारण कथा, ठूलो उद्देश्य
काठमाडौं : सडकवरिपरि सुकेका पत्कर छन्। सडक छेउमै यात्रुका लागि एउटा बस्ने ठाउँ छ। पृष्ठभूमिमा सवारी ध्वनि र गाडीको तीव्र ओहोरदोहोरको आवाज सुनिन्छ। यही आवाजबीच एउटा स्कुल बस टक्क रोकिन्छ र एक स्कुले विद्यार्थी बसबाट ओर्लन्छन्। उनको नाम सतिस (उमेश पोखरेल) हो। सायद उनका मम्मी पापा सधैं उनलाई त्यहीँ ठाउँमा लिन आउँछन्।
नीलो सर्ट, खैरो हाफ पाइन्ट, साथमा पुन्टे छाता र ब्याग भिरेका सतिस स्कुल बसबाट ओर्लेर आमाबुपाको प्रतीक्षा गर्न थाल्छन्। तर, प्रतीक्षा निकै लामो हुन्छ। एक्लोपन भुलाउन उनी कहिले स्कुलका रमाइला प्रसंग सुनाउँछन् त कहिले बेस्ट फ्रेन्डको चर्चा गर्न थाल्छन्। हजुरआमा हजुरबुवाले सुनाएका कथा पनि सतिस सम्झन्छन्।
प्रतीक्षा अझै लम्बिन्छ। बुवाआमा सधैं व्यस्त भएकोमा सतिस दिक्क छन्। उनी विगतका रमाइला घटना सम्झँदै समय व्यतीत गर्न थाल्छन्। निकै चञ्चल स्वभावको सतिस हिजो राति सपनामा देखेका कुरा पनि सुनाउँछन्। ‘कत्ति धेरै चकलेट।’ सपनाको कुरा सम्झँदै सतिस रोमाञ्चित हुन्छन्।
कुर्दाकुर्दै साँझ प¥यो। सतिसका मम्मी पापा अझै आउँदैनन्। ब्यागबाट पानीको बोतल, टिफिन बट्टा, ड्रइङ पेपर र रङ, ब्रस सबै निकालेर उनी बेन्चमा राख्न थाल्छन्। बोतलको पानी स्ट्रेले तान्दै त्यही पानी रङमा मिसाएर चित्र कोर्न थाल्छन्। यत्तिकैमा पानी दर्कन्छ। हतारहतार सबै सामान ब्यागमा कोच्दै सतिस छाता ओढ्छन्। एकछिन आकाशे पानीमा भुल्छन्।
घरबाट अझै कोही लिन आएका छैनन्। यत्तिकैमा सतिस जनावरको आवाज सुन्छन्। नभन्दै मिस्टर बक्स साइकल चढेर उनको छेउ आइपुग्छन्। सुरुमा त सतिस निकै डराउँछन् तर ती दुवै एकैछिनमा साथी बन्छन्। सतिसलाई चिडिया घर बिल्कुल मन पर्दैन। उउनी सबै जनावर स्वतन्त्र रहून् भन्ने सोच्छन्। तर, मिस्टर फक्स जनावर तथा पशुपन्छीको पीडा सुनाउँदै जान्छन्। त्यो पनि दर्शकलाई हँसाउँदै, नाच्दै र कथा बुन्दै। सतिसलाई उनी सोध्छन्, ‘तिमी ठूलो भएपछि के बन्ने ? ’ सतिस अन्योलमा छन्, ‘खै थाहा छैन।’
‘मिस्टर फक्स आफ्नो पीडा सुनाउँदै जान्छन्। अचेल हात्ती, गैंडा, बाघको संख्या घट्दै गएको छ। कोइलीको कुहुकुहु सुन्नै पाइँदैन। वनजंगल मासिएर जनावरलाई बासस्थान नै छैन। सबै मिलिजुली बस्ने जंगल अहिले कता गयो कता ? ’ मिस्टर फक्सको कुरा सुनेर सतिस गम्भीर हुन्छन्। यत्तिकैमा सतिसका अभिभाव आउँछन् र उनी त्यहाँबाट निस्कन्छन्। र, मिस्टर फक्स एक्लै पर्छन्। पृष्ठभूमिमा फेरि एउटा आवाज आउँछ जहाँ सतिस आफ्ना मम्मी पापालाई भनिरहेका छन्, ‘म ठूलो भएपछि वनजंगल, पशुपन्छी जोगाउने काम गर्छु।’
टेकुस्थित कौसी थिएटरमा मंगलबारबाट मञ्चन भइरहेको यो नाटक ‘मिस्टर फक्स एन्ड दी स्कुल ब्वाइ’ साउन १३ सम्म चल्नेछ। नाटक बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित भएको यसका निर्देशक चे शंकर बताउँछन्। ‘पशुपन्छी र जनावर संरक्षण गर्नुपर्ने सन्देश नाटकमा छ’, उनले भने, ‘बालबालिकाको जनावरप्रति लगाव बढाउने उद्देश्य नाटकको हो।’ चे शंकरले परिकल्पना गरेको यो नाटक यसअघि काठमाडौंको नाचघर र कलकत्तामा पनि मञ्चन भइसकेको छ।
नाटक सरल रूपमा प्रस्तुत गरिए पनि यसले उठाएको मुद्दा गहन छ। सहरीकरणले कसरी वनजंगल मासिँदै छ र यसको प्रभाव पशुपन्छीमा कसरी परिरहेछ भन्ने विषय मिस्टर फक्स र स्कुल ब्वाइबीचको संवादमा देखिन्छ। नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय छ।