प्रयाेग भएन बिजुली
बेंशीसहर : देशभर विद्युत् अपुग भइरहेका बेला हिमाली जिल्ला मनाङको एक गाउँमा भने वर्षौंदेखि विद्युत् खेर गइरहेको छ ।
मनाङको नासो गाउँपालिकाको ताल बजारमा निर्माण गरिएको छहरेखोला लघुजलविद्युत् आयोजनाबाट नौ किलोबाट विद्युत् खेर गएको हो । आयोजनाबाट उत्पादित २५ किलोवाट विद्युत्मध्ये १६ किलोवाट मात्रै उपभोक्ताले खपत गर्ने गरेका छन् । बाँकी ९ किलोवाट विद्युत् खेर गइरहेको हो । उत्पादित विद्युत् तालबजार, शिरानताल र घेराङ गाउँका बासिन्दाले उपभोग गरेका छन् । विद्युत् उपभोक्ता समितिका सचिव सिंहबहादुर गुरुङका अनुसार उपभोग नभएको विद्युत् खेर गइरहेको छ । २०६४ सालदेखि स्थानीय छहरेझरनाबाट विद्युत् उत्पादन गरेदेखि नै तालबजार, शिरानताल र घेराङ गाउँका बासिन्दालाई विद्युत् अभावले कहिल्यै पनि अन्धकारमा बस्नु परेको छैन ।
हिउँद बर्खै छहरेखोलामा पानीको अभाव नहुनेहुँदा अटुट रूपमा विद्युत् उत्पादन भइरहेको छ । उपभोक्ताले बिहान बेलुकी बत्ती बाल्ने, खाना बनाउने, रेडियो, टीभी चलाउने जस्ता काममा मात्रै विद्युत् खपत गर्ने गरेका छन् । पर्यटन व्यवसायीहरू, विद्यालय र टेलिकम कार्यालयले कम्प्युटर, प्रिन्टर, फ्रिज, एयरकन्डिसनर, ग्रेन्डर मेसिन, वासिङ मेसिन, कुलिङ मेसिन जस्ता विद्युत्ीय सामग्री प्रयोग गर्दै आएका छन् । गाउँमा ठूलो उद्योगधन्दा, कलकारखाना नभएका कारणले अत्याधिक मात्रामा विद्युत् खपत हुन नसकेको लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष मनबहादुर गुरुङले बताए । उनका अनुसार तालबजारका ५६, शिरानताल र घेराङ २४ गरि कूल ८० घर परिवारले विद्युत् उपभोग गर्दै आएका छन् । विकट र नजिकै अर्को बस्ती नभएकाले सेवा विस्तार गर्न नसकिएको उनले बताए ।
स्थानीय भानु माध्यामिक विद्यालयका सहायक प्रधानाध्यपक श्यामकृष्ण पन्तले साना तथा मझौला उद्योग सञ्चालन गर्न सकेमा विद्युत्को सदुपयोग गर्न सकिने बताए । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको १९ लाख, जिल्ला विकास समितिको ३ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३ लाख र स्थानीय ५६ घरधुरीले ४१ दिन बराबरको श्रमदान गरी करिब ४५ लाख रुपैयाँको लागतमा लघु जलविद्युत् आयोजना निर्माण गरिएको थियो ।
उपभोक्तालाई न्यूनतम १० युनिट बराबरको मासिक १ सय रुपैयाँ र त्यस माथि प्रतियुनिट १० रुपैयाँका दरले शुल्क लिने गरिएको छ । स्थानीय आफैंले विद्युत् वितरणको साथै मर्मतसम्भार गर्दै आइरहेका छन् ।