महिलालाई सघाउने एप्स 'थाहा छ '
काठमाडौं : नागरिकता र घटना दर्तासम्बन्धी कानुनी कागजातका साथै एकल महिला सुरक्षा कोषमा महिलाको पहुँच बढाउने उद्देश्यले 'थाहा छ' नामक एप्स निर्माण गरिएको छ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले निर्माण गरेको एप्सबाट एकल महिलालाई जन्मदर्ता, मृत्युदर्ता, बसाइँ सराइलगायत व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोषबाट रकम निकाल्ने विषयमा समेत सहयोग पुग्ने भएको छ।
यी विविध विषयमा कानुनी सहायता दिन सम्बन्धित चित्रकथा, अडियो नाटक, हाजिरीजवाफ, जानकारी पुस्तिका, नियमावली, महत्वपूर्ण फोन नम्बर आदि छन्। मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्ल्यूएचआर) ले भूकम्पपछि अक्सफामको सहयोगमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट तथा गोरखामा एकल महिला तथा अन्य महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो।
कार्यक्रमका अवसरमा एकल महिलाले भोग्नुपरेका नागरिकता, घटना दर्तासम्बन्धी कानुनी कागजात र एकल महिला सुरक्षा कोषमा पहुँचको कमी पाइएको थियो।सोही पहुँच अभिवृद्धि गर्न एप्स निर्माण गरिएको हो।
एप्सका माध्यमबाट एक हजार एक सय ८ जनाले नागरिकता लिइसकेको अक्सफामअन्तर्गत विपद्मा लैंगिकता कार्यक्रम संयोजक विपना धिमालले बताइन्। साथै आठ सय ९८ जनाले व्यक्तिगत घटना दर्ता गरिसकेका छन् भने तीन सय ९७ जना एकल महिला सुरक्षा कोषबाट रकम प्राप्त गरेको उनको भनाइ छ।
एप्स निर्माणअघि विभिन्न जिल्लामा गरिएको एक सर्भेक्षणमा करिब ९० प्रतिशत महिलाले एन्ड्रोइड फोन प्रयोग गर्ने गरेको देखिएकाले सोहीअनुसारको एप्स निर्माण गरिएको हो।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उक्त एप्स सार्वजनिक गरिएको छ। उक्त अवसरमा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले यो एप्स महिलालाई मात्रै नभई सबैलाई लाभदायी भएको जानकारी दिए।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रतिनिधि सरिता ज्ञवालीले महिलालाई संविधानले दिएको अधिकार प्रयोग गर्न एप्स सहयोगी हुने बताइन्। एप्स निःशुल्क डाउनलोडको व्यवस्था गरिएको छ।