दक्षिण कोरियाको मुक्तक प्रतियोगिताको पुरस्कार काठमाडौँमा
काठमाडौँ : नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाद्वारा आयोजित विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगितामा पुरस्कृतहरूलाई शनिबार काठमाडौँमा पुरस्कार वितरण गरिएको छ ।
यो कार्यक्रममा शाखाको दोश्रो प्रकाशन मुक्तक दर्पणको पनि विमोचन गरियो । अनलाइन मुक्तक प्रतियोगितामा पुरस्कृतहरुलाई प्रसिद्ध साहित्यकार यादव खरेलले नगदसहित प्रमाण पत्र प्रदान गरे ।
प्रतियोगितामा कपिलमणि प्रथम हुँदै १० हजार प्राप्त गरे । त्यसैगरी जीएम दिपेन्द्र दिपु दोस्रो हुँदै आठ हजार र सुनिता सापकोटा तेस्रो हुँदै ५ हजार पुरस्कारर हात पारिन् ।
सान्त्वना भएका तेज तरललाई ३ हजार प्रदान गरियो । समारोहका प्रमुख अतिथि खरेलले अनलाइन प्रतियोगिताका निर्णायकद्वय वरिष्ठ मुक्तककार वियोगी बुढाथोकी र रमेश पौडेलाई शाखाको तर्फबाट कदर पत्र प्रदान गरे ।
त्यही अवसरमा अशक्त भएर पनि मुक्तक साधनामा तल्लिन झापाकी अरुणा श्रेष्ठलाई शाखाको तर्फाट पठाइएको दश हजार प्रतिष्ठानकी कोषाध्यक्ष निशा केसीलाई हस्तान्तरण गरियो ।
प्राज्ञ तथा प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीको सभापतित्वमा भएको त्यस समारोहमा प्रतिष्ठानका महासचिव रमेश पौडेलले दक्षिण कोरिया शाखाले अनलाइन मुक्तक प्रतियोगिता गरेर नेपाली मुक्तकलाई विश्वव्यापी बनाएको बताए ।
समारोहमा प्रतिष्ठानका सदस्य गुप्तबहादुर श्रेष्ठ शाखाका पदाधिकारी विष्णु वाग्ले र लोकराज न्यौपानेले कोरियामा नेपाली मुक्तकको लोकप्रियताबारेमा जानकारी दिए ।