अदालतको बलमा चलन चल्तीको बाटोमा नौ फिटे पर्खाल !

अदालतको बलमा चलन चल्तीको बाटोमा नौ फिटे पर्खाल !

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटका एक वडावासीले उच्च अदालत पाटनको बलमा चलनचल्तीको बाटोमा नौफिटे पर्खाल लगाई सर्वसाधारणको आवातजावत ठप्प पारेका छन्।

नक्सामै भएको करिब चारफिटे बाटोमा उक्त पर्खाल लगाउँदा उक्त बाटो भई जाने सर्वसाधारणहरु बाटोविहीन भएका छन्।

स्थानीय सुमन राणाले आफूहरुले २० वर्षदेखि भोगचलन गर्दै आएको बाटोमा स्थानीय कल्पना रानाभाट र सरस्वती खत्री परिवारले पर्खाल लगाएका हुन्। कल्पना र सरस्वतीको तर्फबाट कल्पनाका पति हरिबहादुर राणाबाटले उक्त पर्खाल लगाएको सुमन बताउँछन्।

उनका अनुसार कल्पना र सरस्वतीले बाटोको मुखैमा रहेको जग्गा खरिद गरेका थिए। जग्गा खरिद गरेर दुई वर्षअघि उक्त बाटोमा पर्खाल लगाउन सुरु गरिएको सुमनको भनाइ छ।

आफूहरुको घर जाने बाटो नै बन्द हुने गरी पर्खाल लगाउन सुरु गरेपछि भक्तपुरस्थित प्रहरी प्रशासन, सूर्यविनायक नगरपालिका हुँदै प्रधानमन्त्रीको कार्यालय पुग्दा पनि सुनुवाई नभएको अर्का पीडित लक्ष्मी दुलाल बताउँछिन्।
स्थानीय प्रहरी प्रशासन, नगरपालिकाले उक्त पर्खाल नबनाउन पटकपटक आदेश दिँदा पनि राणाभाटले नटेरी पर्खाल झन् झन् अग्ल्याउँदै आएको दुलालको भनाइ छ।

‘नक्सामै बाटो भएकाले स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले उहाँ (हरिबहादुर रानाभाट) लाई उक्त बाटो बन्द नगर्न पटकपटक निर्देशन दिए’, उनले भनिन्, ‘तर उहाँले टेर्नुभएन उल्टै बाटो नजनिएको पुरानो नक्सा देखाएर उच्च अदालत पाटनबाट बाटो दिननपर्ने फैसला गराएर ल्याउनुभयो।’

सूर्यविनायक नपा २ का वडा अध्यक्ष कमलनाथ आचार्यले २०६१ सालमै चारफिटे बाटो कायम भएको जानकारी दिए। सोहीअनुसार हरिबहादुर रानाभाटलाई बाटो अवरुद्ध नगर्न पटकपटक निर्देशन दिँदा पनि सुनुवाइ नभएको उनी बताउँछन्।

‘२०६१ सालमै बाटो जनिएर आएकाले बाटो अवरुद्ध नगर्न हामीले पटकपटक ध्यानाकर्षण गर्‍यौं’, वडा अध्यक्ष आचार्यले भने, ‘उल्टै हामीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा हाले।’

उच्च अदालतले एकतर्फी रुपमा फैसला गरेको उनले आरोप लगाए। उनले अदालतका न्यायाधीशहरुको नियतसमेत राम्रो नभएको भन्दै स्थानीय तह एवं जनप्रतिनिधिहरुसँग फिल्डमा के कस्तो अवस्था छ भन्ने बुझ्नेसम्म प्रयास नगरी फैसला गर्नुले अदालतका न्यायाधीशहरुको नियमा प्रश्न चिन्ह उठ्ने बताए।

‘हाल साविकको नक्सा नझिकाई र स्थानीय तहको राय आदि नबुझी उच्च अदालतले गरेको फैसला गलत छ’, वडा अध्यक्ष आचार्यले थपे, ‘सामाजिक न्यायको हिसाबले पनि बीसौं वर्षदेखि भोगचलन गर्दै आएको बाटो बन्द गर्नु अनुचित हो।’

उच्च अदालत पाटनका न्यायाधीशद्वय भीम ओझा र अग्नि थपलियाको संयुक्त इजलासले रानाभाटले आफ्नो सम्पत्तिको सुरक्षा गराई पाउँ भन्ने मागको पक्षमा सुनुवाइ गर्दै बाटो दिनुनपर्ने फैसला गरेको थियो। रानाभाटले सोही फैसलाको आधारमा केही फिट लगाएर छोडिएको पर्खाललाई नौफिट अग्ल्याएका हुन्।

बाटोमा पर्खाल बनाउने रानाभाटले भने आफूले खरिद गरेको जग्गामा बाटो नभएकाले जग्गा सुरक्षा गर्न पर्खाल बनाएको स्पष्टीकरण दिएका छन्। यसैबीच पीडित स्थानीयले सोमबार सूर्यविनायक नपामा बाटो खुलाइदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। नपाकै निर्देशनसमेत अवज्ञा गर्दै हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा नौफिट बाटो बनाएको भन्दै स्थानीयले सूर्यविनायक नपा घेराउसमेत गरेका छन्।

उनीहरुले आफूहरुले भोगचलन गर्दै आएको बाटो छिटोभन्दा छिटो नखोलिए जुनसुकै कदम उठाउन तयार भएको चेतावनी दिएको स्थानीय सुमनले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.