बिकेन नेपाल बैंककाे एफपीओ
काठमाडौं : फरदर पब्लिक अफरिङ (एफपीओ) र दोस्रो बजारको सेयर मूल्य उस्तै भएपछि नेपाल बैंकको साढे ४४ प्रतिशत एफपीओ बिक्री भएन । आइतबार बैंकको अन्तिम सेयर भर्ने दिन थियो ।
आइतबार बेलुका ५ बजेसम्म दुई अर्ब ७५ करोड मूल्यको सयेर बिक्री भएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रवकुमार तिमल्सिनाले बताए । उनले भने, ‘५ बजेसम्मको तथ्यांकअनुसार साढे ५५ प्रतिशत सेयर बिक्री भएको छ । घट्दो बजार र मन्त्रायलदेखि अन्य निकायबाट आएको हल्लाको कारण नेपाल बैंकको सेयर नबिकेको हो ।’ बजारमा बैंकले लाभांश दिन सक्दैन भन्ने हल्ला छ । अहिलेसम्म जे भए पनि अब भने बैंकले लाभांश दिने सीईओ तिमल्सिनाले बताए ।
आइतबार अन्तिम दिनसम्म दुई अर्ब ७५ करोड रुपैयाँको एफपीओ माग भयो । अझै दुई अर्ब २० करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । बैंकले कुल चार अर्ब ९५ करोड रुपैयाँको एफपीओ माग गरेको थियो ।
कर्मचारी सञ्चय कोषले एक अर्ब रुपैयाँ मूल्य बराबरको सेयर किनेको छ । कोषका कुल निष्काशनको २५ प्रतिशत सेयर खरिद गर्न पाउने प्रावधानअनुसार कोष सो मूल्य बराबरको ३५ लाख ७१ हजार चार सय २८ कित्ता सेयर खरिद गरेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए । ‘आइतबार कोषले नेपाल बैंकको एक अर्ब मूल्यको सेयर खरिद गरेको छ’, उनले भने ।
बैंकले प्रतिसेयर अंकित मूल्य एक रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता दुई ८० रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । आइतबार एफपीओमा आवेदन गर्ने अन्तिम दिन बैंकको साधारण सेयर दुई सय ८९ रुपैयाँमा कारोबार भएको थियो । बैंकले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
बिक्री नभएको एफपीओ आठवटा मर्चेन्टले बैंकले प्रत्याभूति (अन्डरराइटिङ) गर्ने सहमति भएको छ । मर्चेन्ट बैंकर्सले चार अर्ब ९५ करोड १७ लाख रुपैयाँको अन्डरराइटिङ गरेका छन् । बाँकी रहेको एफपीओ ग्लोबल आईएमई क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सीबीआईएल क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेडले सर्कार्नेछन् ।
बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुनेछ ।