५५ किलोमिटरको आठ सय भाडा
बैतडी : भारी वर्षा भएसँगै जिल्लाका अधिकांश ग्रामीण सडकमा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । कच्ची सडकमा बर्खामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने र चर्को भाडा तिर्नुपर्ने यात्रुले बताएका छन् । जिल्लाको सतबाँझदेखि सुर्नयासम्मको सडकमा निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको यात्रुले बताएका छन् ।
ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको सुर्नया गाउँपालिका–४ का प्रतापसिंह महराले बताए । बर्खा सुरु भएसँगै भाडा दोब्बर बढेको उनले बताए । उनले भने, ‘सडकमा गाडी गुड्दा जोखिम भए पनि यात्रा गर्नु परिहाल्छ । तर, भाडा निकै चर्को छ ।’
बैतडी सदरमुकामदेखि कुलाउसम्मको ५५ किलोमिटर सडकमा यात्रा गर्न यहाँका स्थानीयले प्रतिकिलोमिटर १४ रुपैयाँका दरले करिब ८ सय रुपैयाँ तिर्दै आएका छन् । अन्य ग्रामीण सडकमा पनि योभन्दा बढी भाडा तिर्दै आएका छन् । एक÷दुई वर्षयता बनाइएका सडकमा सवारीसाधनले मनपरी भाडा असुल्न थालेपछि सर्वसाधारण मारमा परेका हुन् ।
यातायात व्यवस्था विभागका अनुसार कालोपत्रे सडकमा प्रतिकिलोमिटर एक रुपैयाँ ८० पैसादेखि दुई रुपैयाँ १० पैसासम्म भाडा लिन पाउने व्यवस्था गरेको छ भने ग्रामीण सडकमा स्थानीय प्रशासन यातायात व्यवसायी र सरोकारवालाको समझदारीमा भाडा व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ । स्थानीय व्यवसायीले आफैंले बनाएको नियम उल्लंघन गरी यात्रुसँग जथाभावी भाडा असुल्ने गरेका छन् ।
बर्खामा सडकको अवस्था बिग्रिएको भन्दै यात्रुले छोटो दूरीमा पनि महँगो भाडा तिर्न बाध्य भएका छन् । ‘कच्ची सडकमा हामीले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्छ । कच्चीमा एकपटक चलाउनेबित्तिकै गाडी मर्मत गर्नुपर्छ । त्यसले गर्दा पनि हामीले बढी भाडा लिनुपरेको हो’, जिपचालक किशोर मडैले भने, ‘बढी भाडा तिर्नुपरे पनि यात्रुले यात्रा गर्ने इच्छा जाहेर गर्छन् ।’
प्रशासनले ध्यान नदिँदा व्यवसायीले चर्को भाडा उठाइरहेको सुर्नया–६ का नन्दराम अवस्थीले बताए । ‘जसले जे गरे पनि सर्वसाधारण निरीह बन्नुपर्ने हुन्छ’, उनले भने, ‘सर्वसाधारणको समस्या सुनुवाइ होलाजस्तो लाग्दैन ।’ व्यवसायीले भनेको भाडा नदिए गाडी चढ्न नपाइने गरेको स्थानीयको गुनासो छ । यातायात व्यवसायीले भने मापदण्डअनुसारकै भाडा दरमा यातायात सञ्चालन गरिरहेको बताएका छन् ।