बाँसखर्कमा फस्टायो चियाखेती
बाँसखर्क (सिन्धुपाल्चोक) : पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बाँसखर्कका बासिन्दाले सुरु गरेको सामूहिक बगानमा चियाखेती फस्टाउन थालेपछि किसान उत्साहित भएका छन्। जिल्लाको भोटेचौरपछिको दोस्रो बगान बनाउने उद्देश्यले आफ्नै स्रोतसाधनमा एक सामाजिक संस्थाले प्राविधिक सहयोग गरेपछि चियाको बेर्ना लगाएका बाँसखर्कका ३७ किसान परिवार उत्साहित भएका छन्। एक वर्षअघि लगाएका चियाका बेर्ना फस्टाउन थालेसँगै किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्।
एक हजार आठ सय मिटर उचाइको उक्त गाउँको ३७ परिवारका एक सय ६० रोपनी जमिनमा चियाखेती सुरु गरिएको पूर्वगाविस अध्यक्षसमेत रहेका स्थानीय अगुवा रेक्पा तामाङले बताए। ‘परम्परागत खेतीको तुलनामा चियाबाट बढी आम्दानी र स्थायित्व हुने देखेर बाँझो बनेको फाँटमा चियाखेती थालेका हौं’, स्थानीय रूपमा गठित समितिका अध्यक्षसमेत रहेका रेक्पाले भने, ‘स्थानीयले बाँझो जमिनबाट आम्दानीको बाटो पहिल्याउनुपर्छ भन्ने मान्यताले चियाखेती थालेका हौं।’ रेक्पाले मात्र बाँझो रहेको ३५ रोपनी जमिनमा १५ हजार बिरुवा लगाएका छन्।
छिमेकीले चार वर्षअघि रोपेको एक बोट चिया फस्टाएको देखेर अरूले पनि बिरुवा लगाएको रेक्पा बताउँछन्। चियाखेतीको सम्भावना देखेपछि सुरु गर्ने स्थानीयको सोचलाई केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले बिरुवा दिएर सघाएको उनको भनाइ छ। बिरुवासँगै प्राविधिक सहयोग र सिँचाइको व्यवस्थासमेत संस्थाले गरिदिएपछि आफूहरूले चियाखेती सुरु गरेको तीन रोपनी जमिनमा एक हजार तीन सय ५० बिरुवा लगाएकी सीता श्रेष्ठले बताइन्।
खेतीपातीमा काम गर्ने जनशक्तिको अभाव र वन्यजन्तुले बाली भित्र्याउन नदिने सन्त्रासभन्दा चियाको अवधारणा आएपछि आफू हौसिएको उनको भनाइ छ। यस वर्ष थप १२ रोपनी जमिनमा चियाको बिरुवा लगाउने उनले तयारी गरेकी छिन्।
मौसमी अन्न खेतीमा काम गर्ने जनशक्ति नपाएर हैरान बुरन तामाङले सात रोपनी जमिनमा तीन हजार बिरुवा लगाएका छन्। बारीमा मकै, कोदो, फापर जस्ता बाली लगाउँदा नियमित काम गर्ने मान्छे चाहिने भएकाले पछिल्लो केही वर्ष बाँझै राखेको जमिनमा गत वर्षबाट चियाको बिरुवा लगाएका हुन्। उनका छिमेकी रेक्पाले चियाखेती गर्दा एक पटक हुर्किएपछि अन्न बाली जस्तो नियमित काम गर्ने खेताला नचाहिने जानकारी दिएपछि हौसिएर गत सालको असारमा चियाको बेर्ना सारेको चियाका बिरुवा गोडमेल गर्दै गरेको भेटिएका बुरनले बताए। ‘एक वर्ष भयो अबको तीन वर्षपछि उत्पादन दिन थाल्छ रे’, प्राविधिकलाई उद्धृत गर्दै उनले भने, ‘अन्न बालीभन्दा पक्कै नाफा हुन्छ होला।’
सुरुवातमा मलखाद र सिँचाइको व्यवस्थापनमा केही ढिलाइ हुँदा बिरुवामा समस्या आए पनि अहिले सामान्य अवस्थामा फर्किसकेको गाउँमा खटिएकी कृषि प्राविधिक आशा चौधरीले बताइन्। बाँझो जमिनमा दीर्घकालीन र व्यावसायिक खेती होस् भन्ने उद्देश्यले चियाखेती सुरु गरिएको वडाध्यक्ष सूर्यमान दोङले बताए।