पत्रकारितामा करिअर
पत्रकारितामा गरिएको परिश्रमले समाजलाई मात्र होइन सिंगो राष्ट्रमै चेतनाको लहर फैलाउन सहयोग गर्छ।
राजधानी बसेर पत्रकारितामा स्नातक गर्दागर्दै मध्यपश्चिमकी बुनु थारूले पत्रकारिता सुरु गरिन्। उनलाई यति छिट्टै काम पाइएला र आफ्नै खुट्टामा उभिन सकौंला भन्ने लागेकै थिएन। अहिले एक अनलाइन पत्रिकामा कार्यरत थारूले भनिन्, ‘अहिले ममा झनै आत्मविश्वास बढेको छ। लेखन र सूचना प्रविधिमा आफूूलाई अपडेट राख्न सके यो पेसामा टिकिरहन असम्भव छैन।’
हालै मात्र एक अनलाइन पत्रिका सुरु गरेकी छन्– देवी सापकोटाले। अनलाइनको सम्पादक देवी नै हुन्। उनी पत्रकारितामा प्रशस्तै सम्भावना देख्छिन्। पत्रकारिता पढेर मात्र नहुने र यसमा अभ्यासको महत्व ज्यादै हुने बताउँछिन् उनी। भन्छिन्, ‘अहिले लहडको भरमा पत्रकारिता गर्ने चलन बढेको छ। अन्त काम नपाउनेले सुरु गर्ने पेसा बनेको छ, पत्रकारिता।’ पत्रकारितामा समाजका हरेक पक्षलाई नजिकबाट नियाल्न सक्ने मान्छेको सधैं खाँचो रहेको उनीको विचार छ।
पत्रकार राजेन्द्र दाहालसँग धेरैजसो पत्रिकाका सम्पादकको एउटै गुनासो हुन्छ– ‘राम्रो काम गर्ने मान्छे नै पाइँदैन।’ राजेन्द्रको आफ्नै ठम्याइँ पनि यहि छ। ‘योग्य मान्छेको अभाव सधैं हुन्छ। सञ्चार गृहहरू दिनानुदिन बढे पनि जनशक्ति उत्पादनमा शिथिलता आएको छ’, दाहाल भन्छन्, ‘नेपाली मिडिया हाउसहरू नाफा कमाउने उद्देश्यले मात्रै प्ररित छन्। लगानी गर्दैनन्। विदेशी दाताको लगानीमा पत्रकार उत्पादन हुने परम्परा पनि हटेर गएको छ।’
बजारमा व्यावसायिक पत्रकारिता गर्ने जनशक्तिको अभाव भए पनि केही निजी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको उत्पादनले मात्र उक्त अभाव पूर्ति नहुने बताउँदै दाहाल भन्छन्, ‘दक्ष र सीपयुक्त मान्छेले पत्रकारितामा राम्रो काम पाउने सम्भावना अझै धेरै समय रहन्छ।’
पत्रकार पी खरेललाई पनि आउने गुनासा साझा छन्। उनका सम्पादक साथीहरूको गुनासो एउटै छ– योग्य मान्छे नै भेटिँदैन। खरेलको बुझाइमा वर्तमानको पत्रकारितामा लेख्ने कला, जाँगर, मेहनत र व्यावसायिक खुबी भएको जनशक्ति निकै कम छ। अहिले सञ्चारमाध्यम धेरै खुले पनि, सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखिए पनि सरकारी पक्षले यो क्षेत्रलाई ध्यान दिएर नहेरेको बताउँछन् खरेल। भन्छन्, ‘नेपालमा पत्रकारले नियुक्ति पत्र नपाउने, सरकारको तल्लो तहको कर्मचारी जति पनि तलब नपाउने अवस्था छ। यसमा सरकारी पक्षले सुधार गर्नु आवश्यक छ।’
‘पत्रकारिताको नशा लागेपछि एकातिर पेसा छाड्न गाह्रो हुन्छ, अर्कोतिर राम्रो काम पाउन कठिन छ,’ खरेलले भने, ‘पत्रकारितामा पनि सिन्डिकेट छ। नेपाली पत्रकारिता सानातिना विषयवस्तुमै अल्झिएको छ। संवेदनशील भएर पत्रकारले काम गरेकै छैनन्। राम्रो काम गर्नेलाई चाहिँ प्रशस्तै ठाउँ छ, सम्भावना बलियो छ।’
प्रशस्त पैसा कमाउनु परे पत्रकारिताभन्दा अरू कुनै पेसा व्यवसाय रोज्न सुझाव दिन्छन् पत्रकार मोहन मैनाली। समाज बदल्ने रुचि भएको रचनात्मक पत्रकारले नेपालमा सुन्दर करिअर बनाएको बताउँछन् मैनाली। भन्छन्, ‘लेख्न, पढ्न, बोल्न र नयाँ प्रयोग गर्न सक्ने जाँगर भएको व्यक्ति खाली बसेको छैन, दाम पनि कमाएकै छ, परिवार पालेकै छ।’
मैनालीलाई लाग्छ– नेपाली पत्रकारितामा मेहनतको अभाव छ। ‘आफूले हासिल गर्नुपर्ने न्यूनतम सीपबिनै काममा हात हाल्ने प्रवृत्तिले नेपाली पत्रकारितामा हुनुपर्ने जति विकास नभएको हो,’ उनको अनुभव छ।
कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढाइरहेका राजीव तिमिल्सना आफ्नो कलेजको उत्पादन खाली नरहेको, कुनै न कुनै काममा व्यस्त रहेको बताउँछन्। ‘हाम्रोमा स्नातक पढ्न थालेका विद्यार्थीलाई काम दिने मानिस कलेजमै धाउँछन्। कतिपय विद्यार्थी गरिरहेको काम छाडेर नयाँ र राम्रो मिडियामा काम खोज्ने ध्याउन्नमा हुन्छन्।’ धेरैजसो विद्यार्थी एनजीओ र आईएनजीओको जागिरतिर आकर्षित भएको, पढ्दापढ्दै आफूले गरिरहेको काम छाडिरहेको तिमिल्सना बताउँछन्।
‘पत्रकारितामा करिअर छैन’ भन्ने कुरामा उनलाई विश्वास गर्दैनन्। नेपाली पत्रकारिता डिजिटल प्रविधिमा फड्को मार्ने चरणमा रहेको बताउँछन् तिमिल्सना। भन्छन्, ‘पत्रकारितामा सम्भावना खोज्नेले समयानुसार चल्न सके अझै दुई चार वर्ष काम नपाउने सम्भावना रहँदैन।’
राजधानीस्थित पोलिगन कलेजमा पत्रकारिता पढाइरहेका अविरल थापा पुरानै ढर्राको पत्रकारिता संघर्षपूूर्ण र चुनौतीपूूर्ण भएको बताउँछन्। अबको युग डिजिटल जर्नालिज्मको भएकाले उनी न्यु कमरलाई सोहीअनुसार चल्न सुझाउँछन्। पत्रकारिता विषय पढेका विद्यार्थी जागिर नपाएर भौंतारिनु नपर्ने उनको भनाइ छ, ‘हाम्रा विद्यार्थी अध्ययनकै क्रममा काममा लागेका छन्। संवाददातादेखि सञ्चारगृहको व्यवस्थापक, म्यानेजरसम्म भएका छन्। त्यस्तै, गैरसरकारी संस्था र दातृनिकायमा जनसम्पर्क अधिकृत, सूचना अधिकृतको रूपमा काम गरिरहेका छन्।’
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनाल विगतमा पत्रकारिता विषय नपढीकन अभ्यास गर्ने प्रचलन रहे पनि अहिले आएर उक्त सोचाइ परिवर्तन भएको बताउँछन्। उनी भन्छन्, ‘हिजो–आज पत्रकारिता गर्नेले औपचारिक शिक्षा अनिवार्य भएको महसुस गर्न थालेका छन्।’
परि श्रम नगरी कुनै पनि काम गर्न नसकिने, प्रतिफल पनि राम्रो नआउने भएकाले पत्रकारितामा गरिएको परि श्रम खेर नजाने खनालको बुझाइ छ। ‘पत्रकारितामा गरिएको परि श्रमले समाजलाई मात्र होइन सिंगो राष्ट्रलाई चेतनाको लेहर फैलाउन सहयोग गर्छ। पत्रकारिताले जनतालाई जागरूक बनाउने काम गर्छ,’ खनालले भने। देशभर ८४ वटा क्याम्पसमा पत्रकारिता पढाइ भइरहेको खनालले बताए।
झापामा रहेर पत्रकारिता गरिरहेकी लीला अनमोल पछिल्लो समय नेपाली पत्रकारितामा पढेलेखेको जनशक्तिले रुचि देखाउन थालेको बताउँछिन्। लीला भन्छिन्, ‘अन्तर्राष्ट्रिय पत्रकारिताको सिको गर्दै गरेको नेपाली पत्रकारिता व्यावसायिक बन्दै गएको छ। लगनशील भएर काम गर्ने पत्रकारले राम्रोसँग जीवनयापन गर्न सक्छ। लगनशील पत्रकारिता गरेर बाँच्न सक्छ।’